एपेण्डिसाईटिस भएकी २३ हप्ते गर्भवतीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा सफल शल्यक्रिया
घोराही : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ हप्ताको गर्भवती युवतीको जटिल प्रकारको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ।
प्रतिष्ठानका सर्जन चिकित्सक र एनेस्थेसियाको टोलिले दङ्गिशरण-२ का १८ वर्षिय युवतीको शल्यक्रिया गरेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए।
तुलसीपुर एपोलो क्लिनिबाट रिफर भएर आएकि उनी प्रतिष्ठानमा भर्ना भएकि थिइन्। क्लिनिकमा र प्रतिष्ठानमा अल्ट्रासाउण्ड गरेपछि बिरामीमा एपेण्डिसाइटिस समस्या देखिएको थियो। प्रतिष्ठानको सेवा राम्रो भएकाले अप्रेसनका लागि आफू अस्पताल भर्ना भएको बिरामीले बताइन। उनले भनिन,‘एक दिनको पेट दुखाईपछि मेरा परिवारले क्लिनिकमा लैजानु भएको थियो। अल्ट्रासाउण्ड गर्दा एपेण्डिसाईटिस देखिएपछि प्रतिष्ठानमा सेवा राम्रो छ भनेर सन्चारमाध्यमबाट थाहा पाएकै कारण त्यहाँबाट रिफर भई प्रतिष्ठानमा उपचारका लागि आएकि हुँ। यहाँका चिकित्सकहरुले मेरो राम्रो उपचार गरी सफल अप्रेसन गरिदिएकोमा धन्यवाद दिन चाहन्छु।’
शल्याक्रियापश्चात बिरामीको अबस्था सामान्य रहेको छ। शल्यक्रियामा सलग्न एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले २३ हप्ताको युवतीको जटिल स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उच्च जोखिम लिएर शल्यक्रिया गरिएको बताए।