स्वास्थ्य क्षेत्रको सुधारमा समन्वय गरेर अघि बढ्छु : स्वास्थ्य राज्य मन्त्री
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले समन्वय गरेर अघि बढ्ने बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा सपथग्रहणपछि स्वास्थ्य राज्यमन्त्री केसीले अहिलेपनि विकटस्थानमा सिटामल र जीवनजल नपाउने अवस्था रहेको भन्दै त्यो अवस्थाको सुधार गर्न आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘मुख्य कुरा टीमवर्क हो। सबैसँग सहकार्य गरेर अघि बढ्छु।’ उनले कर्मचारीहरुको सहयोगबाटै आफूहरुले सफलता पाउने बताए। केसीले भने, ‘कर्मचारीको अनुभव र राजनीतिक विचारको समन्वय गरेर स्वास्थ्य मन्त्रालयका गतिविधीलाई अघि बढाउने योजना छ।’
एकीकृत समाजवादीबाट आइतबार मात्रै स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र राज्य मन्त्रीमा केसी नियुक्त भएका थिए।