लगानीकर्तामा अझै निराशा
काठमाडौं : नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताबीच सहमति भए पनि सेयर बजारमा अझै उत्साह देखिएको छैन। निरन्तर घटेका कारण निराश लगानीकर्ता ढुक्क हुन नसकेका हुन्। लगानीकर्ताले राखेको मागप्रति बोर्ड सकारात्मक देखिएको छ। त्यसअनुरूप नेपाल स्टक एक्सचेन्जले ब्रोकरलाई नयाँ टीएमएस राख्न पाउने व्यवस्था सुनिश्चित गर्न कार्यविधि बनाइसकेको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल लगानीकर्ताका अधिकांश माग सम्बोधन भइसकेको बताउँछन्। ‘हाम्रोबाट हुने काम सकारात्मक ढंगले अघि बढेका छन्’ हमालले भने, ‘ब्रोकर सिस्टमका कार्यविधि पनि बनिसकेका छन्। अरु काम भइरहेका छन्।’
नेपाल राष्ट्र बैंक २०७९÷८० को मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ। राष्ट्र बैंकले तरलता अभाव न्यून गर्न ४÷१२ (एक बैंकबाट चार करोड ऋण र १२ करोडसम्म ऋण) लिन पाउने व्यवस्था गरेसँगै सेयर बजार ओरालो लाग्न थालेको हो। नेपाल धितोपत्र बोर्डले गत वर्ष विभिन्न ५१ कम्पनीको सूची सार्वजनिक गरेपनि प्रभाव परेको थियो। त्यतिबेला दैनिक २० अर्बको कारोबार भएको थियो भने नेप्से परिसूचक पनि ३ हजार २ सयसम्म पुगेको थियो। नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले सरकारले नीतिगतरूपमा कसेका कारण सेयर बजारमा गिरावट आएको बताउँछन्।
बोर्ड तथा सरकारसँग सहमति भएपनि लगानीकर्तामा अझै उत्साह नथपिएको रौनियार बताउँछन्। ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर नै सेयरमा लगानी गर्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरू अहिले ऋण दिन सक्ने अवस्थामा नरहेका कारण सेयरबजारमा गिरावट आइरहेको एक सेयर विश्लेषक भन्छन्। उनका अनुसार दोस्रो कारणमा अर्थतन्त्र नै संकटउन्मुख भएकाले लगानीकर्ताको मनोबलमा गिरावट आउनुका साथै अझै घट्ने त्रास हुन्छ।
गभर्नर महाप्रसाद अधिकारीले पनि सेयर बजारमा कमजोरी भएको महसुस गरेकाले अब आउने मौद्रिक नीतिमा सच्चिएर आउने अध्यक्ष रौनियारको विश्वास छ। केहीसमयमा तरलता अभाव हट्ने र रेमिट्यान्स पनि बढ्ने भएकाले त्यतिबेलासम्म बजारमा सुधार आइसक्ने अध्यक्ष रौनियार विश्वास व्यक्त गर्छन्।