हरेक वर्ष डुबानको नियति झेलिरहेका विराटनगरबासी
विराटनगर : आकाश धुम्मिन थालेपछि उनीहरुको मन पनि धुम्मिन थाल्छ। जब बादलले आकाशमा गतिविधि सुरु गर्छ, यहाँ उनीहरुको मन पनि बेचैनीले त्रस्त हुन्छ। हरेक बर्खामा बाढी प्रताडित विराटनगरका सर्वसाधारण यही नियति झेलिरहेका छन्। विराटनगर हुँदै बग्ने विभिन्न नदीनाला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि बाढी र डुबान वर्षमा एकपटक आउने चाडपर्व झैं भएको छ।
विराटनगर भएर बग्ने पूर्वमा सिंघिया र पश्चिममा केशलियाको जलस्तर उच्च भएसँगै प्रत्येक वर्ष उनीहरु डुबानमा पर्ने गरेका छन्। वर्षायामको सुरुवातसँगै बाढीले बगाउन सक्ने डर उनीहरुको दैनिकी नै बनेको छ। उनीहरुको मनमा एउटै गुनासो छ, ‘सरकारले उद्दार गर्ने र राहत दिने बाहेक अरु केही गरिदिएन।’
विराटनगरमा १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ सहित १३ वटा वडाका ५ हजार ७ सय ७५ बढी स्थानीय बासिन्दा बाढीको उच्च जोखिममा छन्। वर्ल्ड भिजन ईन्टरनेशनलको सहयोगमा महानगरपालिकाद्धारा तयार तथ्याङकले यसको पुष्टि गर्छ। भूकम्प बाहेक १२ प्रकारका प्राकृतिक प्रकोपमध्ये सबैभन्दा बढी क्षति पुर्याउने बाढी तथा डुबान यहाँका स्थानीयका लागि वार्षिक कार्यक्रम नै बनेको छ।
विपद व्यवस्थापनका निम्ति विनियोजन हुने वार्षिक बजेट सही ठाउँमा खर्च हुन नसक्दा स्थानीयको समस्या हालसम्म विचाराधिन छ। खोला किनारमा तटबन्ध निर्माण गर्नु बाढी रोकथाम र त्यसबाट हुने क्षति न्यूनीकरणको उच्चतम विकल्प भएपनि स्थानीयदेखि प्रदेश सरकारको अग्रसरताको अभावमा समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन्।
वडा नं. २ निवासी जगदीश कामत भन्छन्, ‘सरकारले ध्यान नदिँदा हामी वर्षेनी बाढी प्रताडित हुनुपरेको छ। आखिर हामीलाई सम्झिने भनेको भोट माग्ने बेलामा मात्रै हो।’
५ वर्षअघि पनि २०७४ साउन २८ गते विराटनगरलगायत पूर्वीक्षेत्रमा जारी निरन्तर वर्षाका कारण आएको बाढीले मोरङका अधिकांश स्थानीय तह नराम्ररी प्रभावित भएका थिए। मोरङका १७ स्थानीय तहहरुमध्ये सबैभन्दा बढी प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा महानगरपालिकाले सर्वाधिक क्षति व्यहोरेको थियो। बाढीका कारण २० जनाभन्दा बढीले ज्यानसमेत गुमाएका थिए। अविरल वर्षाका कारण पानीको जलस्तर उच्च भएसँगै वर्षेनि सबैभन्दा बढी पूर्वमा सिंघिया र पश्चिममा केशलिया खोलाको तटीय क्षेत्रमा बस्ने स्थानीय तथा सुकुम्बासी जनतालाई सर्वाधिक क्षति पुगेको थियो। तर, विगतको अनुभवबाट पाठ सिक्दै महानगरले बाढीको जोखिममा रहेका नागरिकको उचित व्यवस्थापनका विशेष पहल गर्नुपर्ने भएपनि हालसम्म त्यसो हुन सकेको छैन्।
विराटनगर महानगरपालिकाले जोखिममा रहेका घर तथा बस्तीहरुलाई स्थानान्तरण गर्ने र जनता आवास योजना अन्तर्गत उनीहरुलाई जोखिममुक्त ठाउँमा बसोबासको व्यवस्था मिलाउने लगायतका कार्यक्रमहरु अघि सारेको भएपनि त्यसतर्फ भने हालसम्म कुनै ठोस पहल हुन नसकेको स्थानीय बताउँछन्। विराटनगर–१ निवासी अनिल पोद्दार भन्छन्, ‘तटबन्ध निमार्णमा सरकारको चासो छैन। निमार्ण गरिएको ठाउँमा पनि छारो टार्ने कार्य मात्र भएको छ। त्रिपालको सहारामा रात बिताउनुपर्ने अवस्था छ।’
यसअघि २०७७ सालमा पनि विराटनगरको पश्चिम भएर बग्ने केशलिया खोलाले धार परिवर्तन गर्दा विराटनगरको दक्षिणी भेग डुबानमा परेको थियो। विराटनगर–६ डम्पिङ साईडको उत्तरबाट नदीले धार परिवर्तन गर्दा वडा नं. ११ , १२ , १६ र १५ का स्थानीय बासिन्दा प्रत्यक्षरुपमा प्रभावित भएका थिए। यसपटक पनि शनिबार सिंघिया र केशलिया खोलामा आएको बाढीले विराटनगरका विभिन्न भाग डुबानमा परेका छन्। केशलिया खोलाले धार परिवर्तन गर्दा यसपटक वडा नं. ५ स्थित जामुनगाछी, वडा नं. ६ स्थित ब्रम्हपुरा, वडा नं. १२ स्थित बखरी र वडा नं. १६ को दरैया डुबानमा परेको छ। यस्तै सिंघिया खोलाको उच्च जलस्तरका कारण वडा नं. १, २, ७ र ८ का विभिन्न भाग डुबानमा परेका छन्। वडा नं. ८ स्थित कारागार पछाडिको डुबान प्रभावित २५ घरपरिवारलाई सुरक्षित स्थानमा ल्याउने कार्य भईरहेको छ।
प्रशासनको आँखा छलेर खोलामा हुने अवैध उत्खननका कारण खोलाले धार परिवर्तन गर्दै आएको बाढी पीडितहरुको भनाई छ। खोलानाला तथा बाढी नियन्त्रणमा महानगर सक्रिय भएपनि महानगरको एक्लो बजेटले यसको दिगो समाधान सम्भव नभएको महानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान बताउँछन्। ‘बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरणका निम्ति आवश्यक श्रोत साधनसहित नगरप्रहरी उद्धार कार्यका सक्रिय छ,’ उनी भन्छन्, ‘तर यसले मात्रै समस्याको दिगो समाधान सम्भव छैन। प्रदेश सरकारको सहयोग पनि आवश्यक छ।’
विराटनगर महानगरपालिकाले अहिले विपद व्यवस्थापन ऐन् बमोजिम उल्लेखित योजनाहरुको आधारमा संकटासन्न क्षेत्र लक्षित उद्धार कार्य गरिरहेको छ। विपद व्यवस्थापन नीति, विपद जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना र विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको आधारमा नक्साङ्कन अनुसार जोखिम र क्षति न्युनीकरणमा महानगर सक्रिय छ। होचो भू–भागका जनतालाई यथोचित बासस्थानको व्यवस्था मिलाउन र जनधनको सुरक्षा गर्न महानगरको टीम फिल्डमै रहेको महानगरका विपद व्यवस्थापन महाशाखा प्रमुख प्रधानको भनाई छ।
तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउन मोरङ प्रशासनपनि क्रियाशील रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन्। स्थानीय पालिकाहरुसँगको समन्वयमा विस्थापितको व्यवस्थापनमा मोरङ प्रशासन लागिपरेको उनको भनाई छ। ‘सुनसरीमा विपद व्यवस्थापन सम्बन्धी सामाग्रीको भण्डारण केन्द्र छ। त्यहाँबाट पनि हामीले केही त्रिपाल र म्याटे्ुसहरु माग गरेका छौं। आईसकेपछि अत्यावश्यक ठाउँमा पठाउने तयारी भईरहेको छ। प्रदेश सरकारसँग पनि समन्वय भईरहेको छ,’ उनी भन्छन्, ‘गृहले पनि विपद व्यवस्थापनका निम्ति भनेर ७ लाख पठाएको छ। विपद व्यवस्थापनका निम्ति उक्त रकम पर्याप्त नभएपनि केही राहत भने हुने अपेक्षा गरेका छौं। थप निर्णयका लागि मंगलबार दिउँसो ३ बजे विपद व्यवस्थापन प्रतिकार्य योजनाबारे छलफलका निमित्त बैठक बोलाईएको छ।’
गएरातिदेखि जारी निरन्तर वर्षाका कारण मोरङमा हालसम्म विराटनगर बाहेक ग्रामथान–१, कानेपोखरी–६, बेलबारी–६, सुनबर्षी–६, बुढीगंगा–२ र कटहरी–१ गरी ११९ घरका ४९३ जना विस्थापित भएका छन्। हाल भने आगामी ३ दिनसम्म सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ को विभिन्न स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ। खोलाहरुमा पानीको जलस्तरसमेत उच्च हुनेसक्ने भन्दै महाशाखाले आवश्यक सर्तकता अपनाउन आग्रहसमेत गरेको छ।