सुनसरमा बाढीको वितण्डा : अधिकांश स्थान डुबानमा, विस्थापितको विद्यालय र सार्वजनिक स्थानमा बास
धरान : लगातारको वर्षात्का कारण सुनसरीको अधिकांश स्थान डुबानमा परेको छ ।
वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी बस्तीमा पसेपछि सुनसरीको पूर्व पश्चिम राजमार्ग दक्षिणको अधिकांश बस्ती डुवानमा परेका हुन्।
तीन दिनदेखिको निरन्तर वर्षातका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिकाका दर्जनौं बस्तीहरु डुबानमा परेका छन् ।
भोक्राहा नर्सिङ गाउँपालिकाको ५ र ७ नम्बर वडाका ७० घर परिवार बाढीका कारण विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । उनका अनुसार बर्जुको ५ नम्बर वडा, दुहबीको १२ नम्बर वडा, कोसीको २ नम्बर वडा, इनरुवाको ४,६ र ८ नम्बर वडा डुबानमा परेको छ ।
सुनसरीका सबै स्थान गरी एक हजार घर डुबानमा परेको अनुमान गरिएको छ । वर्षात् नरोकिएका कारण एकिन डाटा संकलनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । बर्जु र भोक्राहालगायतका स्थानका बाढीबाट विस्थापित एकसय ५० घर परिवारलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानमा राखिएको उनले बताएका छन्
वर्षातका कारण हरिनगरा गाउँपालिकाको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) डुबानमा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले बताएका छन् । सुरक्षा कार्यालय नै डुबानमा परेपछि यहाँ कार्यरत सशस्त्र प्रहरी विचल्लीमा परेका छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । वर्षात नरोकिएकाले घरबाट बाहिर ननिस्कन र सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।