वाम एकता कि गठबन्धन ?

वाम एकता कि गठबन्धन ?

अहिले नेपाली राजनीतिक बजारमा वाम एकता र वाम गठबन्धन भन्ने शब्द खुब चर्चामा छ। चलनचल्तीको भाषामा हट केक। नेपाली समाजमा बेलाबेलामा यस्तो बहस हुने गरेकै हो। तर यसैबेला किन चर्चामा आयो भन्ने कुरा बडो रमाइलो छ। राजनीतिको रमाइलो पक्ष भन्नु नै चुनाव र त्यसको परिणाम। हालै, नयाँ संविधान बनेपछिको दोस्रो पटक स्थानीय तहको चुनाव सम्पन्न भएको छ। यस चुनावमा केही वामपन्थी दलहरू खुरुरु कांग्रेसको नेतृत्वमा गठबन्धन बनाएर चुनावमा भाग लिए। त्यो गठबन्धन कसका विरुद्धमा थियो भन्दा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)लाई जसरी पनि हराउन र कमजोर बनाउने उद्देश्यले बनेको थियो। अनि त्यो गठबन्धन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको बहुमतको सरकार अपदस्थ गर्ने उद्देश्यले बनेको थियो। त्यही उद्देश्य पूर्तिको लागि बनेको गठबन्धन नै अहिलेको सत्तारूढ गठबन्धन हो। त्यसैले सरकारका बसेर नै स्थानीय चुनाव गरायो। गठबन्धनको आधारमा भन्नुपर्दा गत स्थानीय चुनावमा त्यसले बहुमत स्थानमा विजय हासिल गरेको देखियो।

एमालेलाई यसले दोस्रो र गैरवामपन्थी दल कांग्रेसलाई पहिलो पार्टीका रूपमा स्थापित गरिदियो। नेपालका वामपन्थीहरूको पारा उही छ। ‘सिट संख्यामा अलिकति घटी देखिएको मात्र हो, जनमत हाम्रो पक्षमा बलियो देखियो। हामीले जित्यौं।’ चुनावपछि एमालेले दाबी गरेको छ। उता गठबन्धनमा रहेका वामपन्थी दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भन्दैछन्, ‘एमालेलाई केही हदसम्म सानो बनाउन पाइयो। हामीले धेरै जित्न नसके पनि त्यसैमा खुसी छौं।’ अर्थात्, जुन परिणामले कांग्रेसलाई धेरै सिट दिएर दोस्रोबाट पहिलो पार्टीको दर्जामा पुर्‍यायो। त्यसलाई वामपन्थी दलहरू विजय ठानिरहेका छन्। यथार्थको धरातलबाट हेर्ने हो भने सरासर भ्रमको चश्माबाट हेरिरहेछन् उनीहरू। उनीहरूको दृष्टिकोण सद्दे छैन, भ्रमपूर्ण छ। यस्तै भ्रमपूर्ण प्रचारबाजीमा लागेर राजनीति गरिरहेकाले नेपालको वाम आन्दोलन अन्योलग्रस्त र कमजोर हुँदै गएको छ। वाम मतदातामा निराशा बढ्दो छ। देशबाटै युवा र तिनका अभिभावकसमेत विभिन्न देशमा पलायन भइरहेका छन्।

यस्तो बेलामा वाम एकताको चर्चा सुरु भएको छ, फेरि। वामदेव गौतम सबैलाई मिलाउँछु भनेर ताउरमाउर गर्दैछन्। यद्यपि उनका कार्यकर्ता छैनन्, कसलाई मिलाउने हुन्। एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनहरू एमाले नेतृत्वसँग कुराकानीमा रहेको चर्चा छ। उहाँहरू एमाले र माओवादी केन्द्र सहकार्य गरेर जानुपर्ने मतमा देखिनु भएको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वपार्टीमा फर्किन इच्छुक छन्। उता जनता समाजवादीमा रहेका अशोक राईहरू पनि एमालेतिर आउन इच्छुक रहेको समाचार आइरहेको छ। माधव नेपाल र पुष्पकमल दाहालहरू भने गएको स्थानीय चुनावमा चाहे जति सिट जित्न नसके पनि जति जितियो त्यति एक्लै जित्ने औकात थिएन भन्दै उपलब्धिकै रूपमा व्याख्या गर्दै कांग्रेसको नेतृत्वको गठबन्धनको निरन्तरताको वकालत गरिरहनु भएको छ। यस्ता प्रयास र चर्चाहरू भइरहेको बेला अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम नामको सैन्य सम्झौता गर्न दबाब दिइरहेको छ।

विश्वमा युक्रेनमा भएको रूसी हस्तक्षेपविरुद्ध हत्त न पत्त बोलेर प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमञ्चमा विगतदेखि नेपालले अपनाउँदै आएको छ असंलग्न परराष्ट्र नीति। त्यसैमा नअडिएर अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल हुन इच्छुक रहेको देखाउन खोजिरहनु भएको छ। यस्तो विश्व रंगमञ्चमा युक्रेनको युद्धमा तटस्थ रहेका चीन र भारतको नेपालप्रतिको दृष्टिकोण के हुने ? अन्योल छ। चिनियाँहरू नेपालमा बढ्दो अमेरिकी हस्तक्षेप मन पराइरहेका छैनन्। भारतीयहरू चीनले नेपालको मामिलामा रुचि देखाएको मन पराइरहेका छैनन्। यो कुरा उनीहरूको बेलाबेलाको वक्तव्य र कूटनैतिक टिप्पणीबाट स्पष्ट हुँदै आएको छ। यस्तो विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थामा यहाँका वामपन्थीहरूको भूमिका के हुने ? प्रश्न गम्भीर छ नेपाली राजनीतिक मञ्चमा।

नेपालमा दुईवटा दलतिर जनमत देखिएको छ। एकातिर वामपन्थी वा कम्युनिस्टहरू र अर्कोतिर प्रजातन्त्रवादी कांग्रेस। बीचमा रहेका उग्रपन्थी र दक्षिणपन्थी शक्तिहरू अझै स्थापित हुन सकेका छैनन्। तिनीहरू अझ छिन्नभिन्न भइहेका छन्। नीति र नेतृत्वमा स्थिरता नदेखिएको कारण ती दलहरू नै क्रमशः कमजोर र छिन्नभिन्न हुँदै जाँदैछन्। यसरी विस्तारै दुई ध्रुवीय राजनीतिमा मुलुक जाँदैछ। यी दुई धु्रवहरूमा सबल राजनीतिक नेतृत्व चाहिएको छ। जोसँग दूरदृष्टि भएको सबल र सक्षम नेतृत्व रहन्छ र मुलुकलाई सही दिशानिर्देश गर्ने तागत राख्छ, त्यसैको भविष्य छ। यसरी हेर्दा प्रजातान्त्रिक धारमा नेपाली कांग्रेस र वामपन्थी धारमा नेकपा एमालेले नेतृत्व गर्नुपर्ने समय आएको छ। अहिलेको अवस्थामा पनि प्रमुख दलको हैसियत यी दुईले मात्र पाएका छन्। पर्दा एक्लै राष्ट्रिय चुनावमा उठेर प्रतिस्पर्धा गर्ने हैसियत पनि यी दुईटामा मात्र छ। अरू त लहरा मात्र भए, चुनावको हावा चल्न थाल्यो कि थाङ्ग्रो खोज्नुपर्ने। थाङ्ग्राको रूपमा तिनले समाउने दल या त एमाले या कांग्रेस हो। अरू त एक्लै उभिन सक्ने मेरुदण्ड नै छैन जस्तो गरिरहेका छन्। पहिलो संविधानसभाको चुनावमा पहिलो पार्टी बनेको माओवादी केन्द्रले एक्लै चुनाव लड्ने सामर्थ्य गुमाइसकेको आभाष हुँदैछ। उसले उता र उति गर्दै आड मात्र खोजिरहेको देखिन्छ।

विश्वको शक्ति सन्तुलन र नेपालको भूराजनीतिक आधार हेर्नुपर्छ। यस अर्थमा कांग्रेसको नेतृत्वले जुन दृष्टिकोणबाट मुलुक हाँक्न खोजिरहेको छ, त्यो खतरनाक छ।

अब रह्यो, चुनावी गठबन्धनको कुरा। कम्युनिस्टहरू अमेरिकाको हस्तक्षेपकारी नीति र भारतको छिमेकीविरुद्धको अर्घेल्याइँको विरोध गर्दै आएका शक्तिहरू हुन्। हुन त भारतले निहित उद्देश्यले हुर्काएका नेता र दलहरू पनि नेपालमा कम्युनिस्ट पार्टीको नामबाट राजनीति गरिरहेका होलान्। तर, त्यहाँभित्र पनि सच्चा देशभक्त र प्रगतिशीलहरू छन्। उनीहरू साम्राज्यवादी र विस्तारवादीसँग झुकेर स्वार्थसिद्ध गर्न कम्युनिस्ट पार्टीको झन्डा बोक्ने नीतिविरुद्ध लडिरहेका छन्। फलस्वरूप, नेपालमा पुनः वाम एकता वा गठबन्धनको चर्चा सुरु भएको छ। मुलुकलाई पुरानो पुँजीवादी बाटोबाट समृद्ध बनाउन सकिन्छ कि राष्ट्रिय पुँजीको विकास गर्दै राष्ट्रवादी राजनीतिक धारबाट ? बहस सुरु भएको छ। गठबन्धनको चर्चा त्यसैको ठोस रूप हो। यथार्थमा नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिएर विश्वबन्धु कुटुम्बकमको नीतिमा अगाडि बढिरहेको सत्य हो। दुईतिरका छिमेकी राष्ट्रहरू र विश्व राजनीतिमा उनीहरूको बढ्दो प्रभावले पनि मुलुकलाई कुनै एक धु्रवतिर ढल्किन अनुमति दिँदैन। सन्तुलित परराष्ट्र नीति वर्तमान नेपालको भूराजनीतिक माग हो। यसलाई अनदेखा गरेर कुनै पनि राजनीतिक शक्ति सफल हुन सक्दैन। मुलुकको समृद्धि पनि सम्भव छैन। किनकि समृद्ध नेपाल निर्माणका लागि दुई छिमेकी र विश्वका शक्तिशाली देशहरूबाट पाउँदै आएको सहयोग र सद्भाव भविष्यमा पनि जारी रहनु पर्दछ। एकापट्टि ढल्किएर मुलुकलाई अशान्त बन्न दिनु हुँदैन। सन्तुलित परराष्ट्र नीति नै मुलुकको शान्ति र समृद्धिको आधार हो।

अब आगामी चुनावको कुरा गरौं। मंसिरतिर हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका मुख्य प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेस नै हुन्। बाँकी दलहरू एक्लाएक्लै लड्न सक्छन्। त्यसो गरे भने कसैकसैले एकाध ठाउँ जित्लान्, उनीहरूको राजनीतिक प्रचार हुन्छ। जस्तो कि मधेसवादी दलहरूले एक्लै पनि केही स्थानमा जित्न सक्ने सामर्थ्य छ। एक्लै नलडे साना दलहरूको गठबन्धन बनाएर चुनाव लड्न सक्छन्। केही ठाउँ जित्न सक्लान्। तर, चुनावपछि मुलुकको राजनीतिमा निर्णायक शक्ति बन्नु छ भने एमाले र कांग्रेसले नेतृत्व गरेको गठबन्धनमध्ये कुनै एकमा सामेल हुन अनिवार्य छ। सत्तामा पुगेर केही गर्ने सोच बनाएका दलहरूका लागि गठबन्धन अनिवार्य छ। विश्वको शक्ति सन्तुलन र नेपालको भूराजनीतिक आधार हेर्नुपर्छ। यस अर्थमा कांग्रेसको नेतृत्वले जुन दृष्टिकोणबाट मुलुक हाँक्न खोजिरहेको छ, त्यो खतरनाक छ।

कुनै पनि बेला विश्वको कुनै एक शक्ति केन्द्रमा सामेल हुने खतरा छ। युक्रेनको युद्धमा गरेको समर्थन र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ल्याउन देखाएको तत्परताले त्यही संकेत गरिरहेको छ। यस्तो बेलामा मुलुकको स्वाधीनता रक्षा गर्दै समृद्धिको बाटोमा अग्रसर गराउने हो भने मुलुकको नेतृत्व वामपन्थी शक्तिले गर्नु अपरिहार्य छ। त्यो शक्ति कुन हो ? माधव नेपालको एकीकृत समाजवादी पार्टी कि पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रबाट संभव छैन। किनकि उनीहरू आफैं कम्युनिस्ट शक्तिलाई सत्ताबाट ओरालेर कांग्रेसलाई सुम्पिन पाउँदा खुसी छन्। त्यही प्रयोजनका लागि गठबन्धन गरेर कम्युनिस्ट सरकार ढालेर नेपाली जनताको आशामा तुषारो पार्न पाएकोमा खुसी छन्। उनीहरूबाट सम्भव छैन। नेत्रविक्रम चन्द विप्लव होस् वा मोहनविक्रम सिंह वा मोहन वैद्य ‘किरण’ कोही पनि नेतृत्व गर्ने हैसियतमा छैनन्।

सीपी मैनालीको माले र ऋषि कट्टेलले नेतृत्व गरेको नेकपाको पनि त्यो अवस्था छैन। त्यसैले नेपालको वाम गठबन्धन वा वाम शक्तिको नेतृत्व गर्न सक्ने सामर्थ्य भएको पार्टी नेकपा एमाले मात्र हो। यसको छवि विश्वव्यापी रूपमा राम्रो छ। त्यहीभित्र छिरेका केही धमिराले यसलाई बिगार्ने चेष्टा गरे पनि अहिले यो धमिरामुक्त भएको छ। विगतमा उग्रवाद र दक्षिणपन्थी दुवैसँग लडेर स्पातिलो बनेको छ। माक्र्सवाद, लेलिनवादको आलोकमा जनताको बहुदलीय जनवाद जस्तो गतिशील सिद्धान्तको आाधारमा राष्ट्रियता र समृद्धिको अभियानको नेतृत्व गरेको विगतको दृष्टान्त छ।

अर्थात्, ‘टेस्टेट’ शक्ति हो एमाले। त्यसैले अब जुनसुकै दलको छाता ओडेर बसेका वामपन्थीहरू हुन् वा राष्ट्रिय सामर्थ्य बनाउन नसकेका साना दलहरू उनीहरूले एमालेसँग सघन वार्ता गरेर सकेसम्म एकताको वातावरण बनाउनु राम्रो हुन्छ। तर विगतमा एमाले र माओवादीको केन्द्रको जस्तो सिद्धान्तलाई थाँती राखेर एकता हुनुु हुँदैन। सिद्धान्तका आधारमा एकता सम्भव नभए चुनावमा वाम गठबन्धन गरेर भए पनि वामपन्थीहरू एकै ध्रुवमा उभिन जरुरी छ। यो नै प्राकृतिक र स्वाभाविक एकता हो। गठबन्धन सिद्धान्तका आधारमा भए मात्र प्राकृतिक हुन्छ। कतिपय वामपन्थी आवरणमा रहेका र कसैको सेवामा जन्माइएका दल र नेताहरूको असलियत देखिनेछ।
- शर्मा, नेपाल बुद्धिजीवी परिषद्का सचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.