स्वास्थ्य राज्यमन्त्रीले गरे ट्रमा सेन्टरमा एक्सरे डीआर मेसिनको उद्घाटन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसिनको उद्घाटन गरेका छन्। एक्सरे डीआर मेसिनको उद्घाटन गर्दै उनले यो मेसिनको पूर्ण उपयोग गर्न सके ट्रमाका विरामीलाई राहत हुने बताए।
उनले ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल थाल्ने बताए। स्वास्थ्य राज्य मन्त्री केसीले भने, ‘ट्रमामा २५ बेडको आइसीयु बनाउन पहल गर्छु। एक सय शय्या थप गर्ने योजना छ।’
ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद कुमार यादवले यो मेसिन उपयोगमा आउने बताए। एक्सरे डीआर मेसिनको लागत एक करोड ५० लाख रहेको छ।
ट्रमाका विरामीहरुको हरेक एगंलबाट रेडियोग्राफी इमेज निकाल्न सकिने ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जानकारी दिए। उनले भने, ‘यो अटोमेटिक र पूर्ण प्रविधिमैत्रि डीजीटलाइज्ड रेडियोग्राफी उपकरण हो। यसले धेरै विरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्छ र ओभरलोड प्रोटेक्सनको पनि क्षमता रहेको छ।’