टनकपुरको पानीले पहिलो रोपाइँ

टनकपुरको पानीले पहिलो रोपाइँ

महेन्द्रनगर : भारतसँगको एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले टनकपुर ब्यारेजबाट पाएको पानीले पहिलो पटक रोपाइँ गरिएको छ। टनकपुरबाट छाडिएको पानी बुधबार महाकाली सिँचाइ तेस्रो चरणको मूल नहरअन्तर्गत बेदकोट नगरपालिका–४ बगुनमा पुगेपछि धान दिवस मनाइएको हो। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले धान रोपेर महाकाली नहरमा पानी सञ्चालनको शुभारम्भ गरेका हुन्। ढिलै भए पनि महाकाली सन्धि कार्यान्वयन भएको महानिर्देशक आचार्यले बताए। 

‘सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएपछि यसको कामले गति लिएको छ’, आचार्यले भने, ‘कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवनबस्तीसम्म सिँचाइ सुविधा उपलब्ध गराउन विभागले तीव्र काम गरिरहेको छ।’ उनले २२ वटा शाखा नहरहरू निमार्णका लागि ठेक्का भइसकेको बताउँदै एक वर्षभित्र किसानको खेतमा पानी पुग्ने बताए। 

मुख्यमन्त्री भट्टले यो आयोजनाले कञ्चनपुर, कैलालीको ठूलो भू–भागमा सिँचाइ सुविधा पुग्ने भएकाले यहाँको उत्पादकत्व बढ्ने बताए। नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयले जनाएको छ। नेपालतर्फ निर्माण सम्पन्न भएको साढे २८ किलोमिटर मूल नहरको परीक्षणपश्चात् १० क्युसेक पानी नियमित रूपमा छाडिने जनाइएको छ। 
आयोजनाका इन्जिनियर शम्भु पण्डितले किसानको आवश्यकताअनुसार नहरमा पानी छोड्ने बताए। ‘अहिले शाखा नहर नबन्दा किसानको खेतसम्म पानी पुग्न सकेको छैन’, पण्डितले भने, ‘महाकालीबाट पानी ल्याएर खोलामा त्यतिकै छोड्नुभन्दा यहाँका किसानले पम्पबाट भए पनि उपभोग गर्छन् भने आवश्यकताअनुसार पानी ल्याउँछौं।’

अहिले शाखा नहर नबन्दा उक्त पानी मुसेपानी र स्याली नदीमा छोड्ने तयारी आयोजनाको छ। शाखा नहरहरू निर्माण नभएका कारण अहिले नदीमा छाड्नु परेको पण्डितको भनाइ छ । मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ। २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ। २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ। शाखा नहर निर्माणका लागि आठ हेक्टर जमिन अधिग्रहण गर्नु पर्नेछ।

२०६३ मा निर्माण सुरु भएको उक्त आयोजनाको हालसम्म साढे २८ किलोमिटर मूल नहर निर्माण भएको छ। थप १० किलोमिटर नहर निर्माणको प्रक्रिया अघि बढेको छ। दुई वर्षअघि उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो। कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्वाससम्मै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको नहरको लम्बाइ १ सय ५१ किलोमिटर छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.