बाढीले पोल ढालेपछि अन्धकार
उदयपुर : बाढीले बिजुलीको पोल ढालेपछि उदयपुरको त्रियुगा नगरपालिका-३ का दर्जनौ बस्तिमा विद्युत सेवा ठप्प भएको छ। स्थानीय लुहाले खोलामा आएको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जर्नै गाउँमा विद्युत सेवा ठप्प भएको हो।
शनिबार बिहानै खोलाले पोल ढालेको स्थानीयले बताएका छन्। विद्युत सेवा अवरुद्ध भएको करिब १५ घण्टा बितिसक्दापनि सेवा सुचारु हुन नसकेकोमा स्थानीय आक्रोशित बनेका छन्। सेवा सुचारु गर्न विद्युत प्राधिकरणलाई आग्रह गरेपनि खासै चासो नदेखिएको त्रियुगा नगरपालिका-२ का अध्यक्ष घमानसिंह खत्रीले बताए।
पोल ढलेर विद्युत सेवा बिच्छेद भएपछि वडा नं १, २ र चौदण्डिगढी नगरपालिकाका वडानं ५, ९ र १० मा शनिबार बिहानैदेखि बिद्युत सेवा अवरुद्ध भएको उनले बताए। प्राधिकरणका निमित्त कार्यालय प्रमुख ईन्जिनिएर सत्यनारायण साहले बाढीले धेरैतिर क्षति पुर्याएकाले मर्मतसम्भारमा ढिलाई भएको उनले बताए।
उनले भने, ‘क्षति धेरै छ, हामीसँग दंक्ष जनशक्ति कम छ, त्यहीँ प्राविधिक सबै तिर पुग्दा समय लागेको हो, सकेसम्म चाँडै सुचारु गर्ने गरी काम भईरहेको छ।’ सर्वसाधरणको समस्यालाई मध्यनजर गरी द्रुतगतीमा काम भईरहेको उनले बताए।