लोवाथाङमा ४६५० मिटरको उचाईमा गल्फ कोर्स
जोमसोम : उत्तरी चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवाथाङमा विश्वकै उचाईको गल्फ कोर्स निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोवाथाङमा ९ होलको गल्फ कोर्स निर्माण गरिएको हो ।
गत वर्ष गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको पहलमा हिमालयन गल्फ व्यवस्थापक तथा गल्फका प्रोफेसनल खेलाडी भुबहादुर गुरुङसहितको टोली लोमान्थाङको लोवाथाङमा पुगेर गल्फ कोर्स निर्माण तथा गल्फ खेलको सम्भाव्यता अध्ययन गरेको थियो ।
टोलीको सम्भाव्यता अध्ययनपछि लोमान्थाङमा निर्माण भएको गल्फ कोर्सको अवलोकन तथा अभ्यास खेल खेल्न हिमालयन गल्फका व्यवस्थापन भुबहादुर गुरुङसहित गल्फ विज्ञ राजु थकाली, गल्फ खेलका अन्तराष्ट्रिय खेलाडी भक्तराज गुरुङ र गल्फ खेलाडी बलराम थापा शुक्रबार उपल्लो मुस्ताङ पुगे ।
यसअघि गल्फ टोलीको प्रारम्भिक अध्ययनपछि लोमान्थाङको लोवाथाङमा ९ होलको गल्स कोर्स निर्माण गरिएको थियो । अवलोकन टोलीले लोवाथाङमा गल्फ खेलको प्रारम्भिक अभ्यास तथा गल्फ कोर्सको परीक्षण समेत गरेका छन् ।
विश्वकै अग्लो उचाईमा निर्माण भएको दावी गरिएको लोवाथाङ गल्फ कोर्स समुन्द्री सतहदेखि ४६५० मिटरको उचाईमा अवस्थित छ । हिमालयन गल्फ टोलीले लोवाथाङ गल्फ कोर्सलाई मुस्ताङ गल्फ कोर्स नामाकरण गरेका छन् । शुक्रबार उपल्लो मुस्ताङको लोवाथाङ पुगेका हिमायलन गल्फ टोलीले सो स्थानमा निर्माण भएको गल्फ कोर्सको अवलोकन गरे । लोमान्थाङमा गल्फ कोर्स किन र यसको योगदानका बिषयमा टोलीले प्रतिवेदन समेत तयार गरेका छन् ।
उपल्लो मुस्ताङको धार्मिक ,सांस्कृतिक र ऐतिहाँसिक पर्यटकीय केन्द्र रहेको लोमान्थाङ बजारबाट १२ किमी पश्चिमतर्फको दुरीमा गल्फ कोर्स रहेको र उक्त ठाउँसम्म पुग्न मोटर बाटो समेत विस्तार भइसकेको जनाएको छ । लोमान्थाङको लोवाथाङमा अहिले ३ दशमलव १५ किमी क्षेत्रफल भित्र ९ होलको गल्फ कोर्स निर्माण सम्पन्न भएको र भविष्यमा त्यहाँ १८ होलको गल्फ कोर्स निर्माण गर्ने प्रचूर सम्भावना रहेको टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ ।
गल्फको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनमा विश्वकै अग्लो उचाईमा भारतको सिक्किममा ३९०० सय मिटरको उचाईमा गल्फ कोर्स रहेको सो गल्फ कोर्स गिनिज बुकमा दर्ज भएको र उपल्लो मुस्ताङमा निर्माण भएको गल्फ कोर्स ४६५० मिटरको अग्लो उचाईमा रहेकाले यस गल्फ कोर्सले विश्वकिर्तिमान कायम राख्दै गिनिज बुकमा रेकर्ड राख्ने दावी गरिएको छ ।
गल्फ विज्ञ टोलीले ४ वटा उद्देश्य जोडेर प्रतिवेदनमा समेटेको छ । लोमान्थाङ लोवाथाङमा निर्माण भएको गल्फ कोर्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपालको नाम प्रशारण गर्नुको साथै पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने उल्लेख गरिएको छ । गल्फ कोर्स निर्माणसंगै भावी दिनमा गल्फिङ टुरिजम र स्पोर्टस् टुरिजमको विकास गर्ने लक्ष्य राखिएको छ ।
लोवाथाङमा निर्माण भएको गल्फ कोर्स उच्च उचाईमा अवस्थित रहेको र त्यहाँ गल्फको हाई अल्टिच्यूड तालिम केन्द्र रुपमा सञ्चालन गर्ने सकिने जनाइएको छ ।
प्रतिवेदनमा लोवाथाङमा गल्फ कोर्स निर्माणदेखि सञ्चालनपछि स्थानीय युवाहरुको रोजगारको सुनिश्चिता गर्ने बताइएको छ । लोमान्थाङमा गल्फ कोर्स निर्माण भएसँगै गल्फ खेलाडीहरुको उत्पादन गर्ने र गल्फ खेलको माध्यमबाट खेलाडीको स्वास्थ्य र मानसिक अवस्था तन्दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको पहलमा गल्फ विज्ञ टोलीको राय सल्लाह मुताविक लोमान्थाङको लोवाथाङमा गल्फ कोर्स निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएका ७ वटा गल्फ कोर्स मध्ये सबैभन्दा प्राकृतिक हिसाबले दिएको उपयुक्त गल्फ कोर्स लोवाथाङमा निर्माण भएको गण्डकी प्रदेशका सांसद ईन्द्र धारा बिष्टले जानकारी दिए ।
लोवाथाङमा गल्फ हब निर्माण भएसँगै विश्वकै अग्लो उचाईमा लोवाथाङको गल्फ कोर्स भएको सांसद बिष्टले दावी गरे । उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरता र रमणीय वातावरणमा गल्फ खेल खेल्न सकिने भएकाले यसले खेल पर्यटनमा समेत उक्तिकै योगदान पु्याउने सांसद बिष्टको भनाइ छ ।
उपल्लो मुस्ताङको लोवाथाङ स्थित ३ किमी क्षेत्रफलमा फैलिएको समथर घाँसे मैदानमा गल्फ निर्माणसंगै गल्फ खेलप्रति रुचि राख्ने व्यक्तिहरु उत्साहित भएका छन् । यसअघि नेपालमा ६ वटा गल्फ कोर्स निर्माण भइसकेका छन् । विश्वकै साभ्रान्त धनीमानी व्यक्तिहरुले खेल्ने गल्फ खेलको नेपालमा पनि यसको आर्कषण बढ्दो छ ।
यस्तै ,लोमान्थाङको लोवाथाङमा निर्माण भएको गल्फ कोर्समा राष्ट्रिय गल्फ प्रतियोगिताका लागि बाह्रखरी डटकम टोलीका प्रतिनिधिसँग कुराकानी भइरहेको लोमान्थाङ गापाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए ।‘हामीले बाह्रखरी डटकमसंग कुराकानी गरिहेका छौ,सायद हाम्रो अनुरोधलाई बाह्रखरीले स्थान दिनेछ,गापा अध्यक्ष गुरुङले भने,'उहाँहरुसँग कुरा मिल्यो भने भदौमा हामीले राष्ट्रिय गल्फ प्रतियोगिता आयोजना गर्नेछौं ।'
ईन्द्रधारा बिष्ट