दशरथचन्द राजमार्ग ६ घण्टापछि खुल्यो
बैतडी : सुदूर पहाडका तीन जिल्ला जोड्ने दशरथचन्द राजमार्ग ६ घण्टापछि सञ्चालनमा आएको छ।
आइतबार दिउँसो तीन बजे बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाटा नजिक सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग राति ९ बजेबाट सञ्चालनमा आएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ऐन बहादुर पालले जानकारी दिए।
सडक डिभिजन कार्यालय पाटनले डोजर लगाएर राजमार्ग खुलाएको हो। राजमार्ग खुलेसँगै बैतडी, दार्चुला र बझाङ रुटका गाडीहरु चल्न थालेका पाटन ८ का वडाअध्यक्ष हरिश बिष्टले बताए।