मधेस प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ : मन्त्री सिंह (अन्तर्वार्ता)
नेपाली कांग्रेसका युवा नेता वीरेन्द्र प्रसाद सिंहले अहिले मधेस प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन्। मधेस प्रदेशमा जसपा र कांग्रेसको गठबन्धन सरकार बनेपछि २०७८ जेठ २६ गतेदेखि खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका सिंह कांग्रेस मधेस प्रदेश कार्यसमितिका उपसभापति हुन्।
सर्लाहीबाट प्रदेशसभा सदस्य रहेका सिंह पार्टीको संगठन विभाग प्रमुख पनि हुन्। संघमै जसपा विभाजन हुने चरणमा पुगेका बेला प्रदेश सरकारको नेतृत्व पनि फेरबदल हुनसक्ने सम्भावना छ। चार वर्ष निरन्तर मुख्यमन्त्री रहेका जसपा नेता लालबाबु राउत फेरिन सक्छन्।
यद्यपि जसपा आन्तरिक जीवनका कारण उनी नफेरिए पनि लगत्तै प्रदेशसभा निर्वाचन हुँदैछ। निर्वाचनपछि प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसबाट सिंहले तयारी थालेका छन्। मधेस प्रदेशमा हाल भावी मुख्यमन्त्रीको सशक्त दाबेदार सिंह रहेको चर्चा छ। सिंहको काममा खट्ने शैलीबाट प्रभावित मुख्यमन्त्री राउतले सार्वजनिक मञ्चमै सिंह कोहीभन्दा कम नभएको र यही रफ्तारले अगाडि बढे मुख्यमन्त्री बन्न सक्ने संकेतसमेत गरेका छ।
सिंहको परिकल्पनामा हालै मधेस प्रदेशमा देशभरमै पहिलोपटक युवा महोत्सव सम्पन्न भएको छ। महोत्सवका दौरान जनकपुर पुगेका हाम्रा सम्बाददता कमलराज भट्टले मन्त्री सिंहसँग समसामयिक राजनीति, भावी रणनीति र योजनाबारे कुराकानी गरेका छन्।
मधेस प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा तपाईंको नाम चर्चा छ। जसपाको आन्तरिक कलह र आसन्न प्रदेशसभा निर्वाचनको चटारोका बीच यो चर्चालाई कसरी लिने?
राजनीति गरेपछि माथिल्लो पदमा पुग्ने इच्छा आकांक्षा हुन्छ। तर यसमा चुनावी परिणामले महत्व राख्छ। मुख्यमन्त्रीको रुपमा मेरो दाबी अस्वभाविक होइन। तर चुनावको परिणामले फैसला गर्छ। कुन पार्टीको कति सिट आउँछ, कुन पार्टीको सरकार बन्छ त्यसमा भर पर्ने हो। यद्यपि इच्छा र आकांक्षा त हुने नै भयो।
यसको अर्थ मुख्यमन्त्रीमा तपाईंको दाबेदारी हो?
इच्छा र आकांक्षा त सबैको रहन्छ। त्यो अनुकूल हुनुपर्यो। हाम्रो पार्टी सरकारमा आउनुपर्यो। त्यसले गर्दा अहिले नै म मुख्यमन्त्री बनिहाल्छु भन्ने अवस्था होइन। तर सबै अनुकूल भयो भने म अगाडि बढ्छु।
कांग्रेसको बहुमत आयो वा प्रदेश सरकारको नेतृत्व गर्ने अवस्था आयो भने तपाईं मुख्यमन्त्री बन्नुहुन्छ?
मेरो दाबी त रहन्छ। तर त्यसमा पार्टीको नेतृत्व र निर्वाचित सांसदहरुको पनि भूमिका रहन्छ। सबै अनुकूल भयो भने त्यो अवस्था आउन सक्छ।
अहिले संघमा जसपा विभाजनको अवस्थामा पुगेको छ। यसको असर सत्ता गठबन्धनभित्र पनि देखिएको छ। प्रदेश सरकारमा यसको केही असर छ?
प्रदेश सरकारमा त्यस्तो केही असर छैन। केन्द्रले जे आदेश गर्छ, निर्देशन आउँछ त्यो बमोजिम हामी अगाडि बढ्छौं। तत्कालको अवस्थामा प्रदेशको गठबन्धन सरकार निर्वाचनसम्म रहन्छ।
थोरै प्रसंग बदलौं। हालै तपाईंको परिकल्पनामा देशभरमै पहिलोपटक मधेस प्रदेशमा युवा महोत्सव सम्पन्न भएको छ। यो महोत्सव आयोजनाको गर्नुको कारण के हो?
मधेस प्रदेश सरकार महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले पहिलोपटक असार १५ र १६ गते युवा महोत्सव २०७९ आयोजना गरेको हो। यसको मुख्य उद्देश्य यो प्रदेशको समृद्धि विकासमा युवा शक्तिलाई परिचालन गर्नको लागि महोत्सव आयोजना गरिएको हो। यो प्रदेशमा विभिन्न क्षेत्रमा ख्याती प्राप्त उत्कृष्ट युवाहरुलाई कसरी यो प्रदेशको विकासको हरेक क्षेत्रमा परिचालन गर्न सकिन्छ? भन्नेमा केन्द्रित गरेर महोत्सव गरेका हौं। यो प्रदेशमा जति पनि उत्कृष्ट विभिन्न क्षेत्रका युवाहरुलाई मधेसको मान भनेर सम्मान गरेका छौं। युवाहरुलाई उत्साहित बनाउने, उत्प्रेरित गर्ने र उर्जा थप्ने काम महोत्सवले गर्ने हाम्रो विश्वास छ। महोत्सव फलदायी र मधेस प्रदेशको उन्नति, प्रगति र समृद्धिमा युवा शक्ति अगाडि बढेर जाने हामीले आशा गरेका छौं।
युवा महोत्सव गर्नुपर्छ भन्ने सोंच कसरी आयो?
हामीले सातै प्रदेशमध्ये गरिब र अशिक्षित यस प्रदेशको आवश्यकता शिक्षित र समृद्धिलाई बोध गरेर जबसम्म युवाहरु शिक्षित हुँदैनन्, युवा शक्तिमा भएका प्रतिभाहरुलाई, उर्जालाई यो प्रदेशको विकासमा परिचालित गर्दैनौं तबसम्म यो प्रदेशको विकास सम्भव छैन भन्ने कुरालाई आत्मसात गर्दै यो कार्यक्रम आयोजना गरेको हो।
युवा महोत्सवको उपलब्धि के हो?
विभिन्न क्षेत्रमा प्रतिभा जमाएका युवाहरु भेला भएर अनुभव आदानप्रदान गरेका छन्। त्यसबाट प्रदेशको विकास कसरी अगाडि बढाउने, युवा शक्ति कसरी परिचालित गर्ने, के के समस्या छ, त्यसलाई कसरी निदान गर्ने कुराहरुको निर्क्यौल गरेर हामीले २० बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छौं। यसलाई कार्यान्वयन गर्दै युवाहरुलाई रोजगारी र विभिन्न क्षेत्रमा परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने दिशामा अघि बढ्छौं।