लोपोन्मुख तीन गाउँले थकाली भाषा सिकाउँदै प्रतिष्ठान
जोमसोम : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मुस्ताङका ३ गाउँले थकाली समुदायलाई बुधबारदेखि थाकथलो मुस्ताङमा थकाली भाषा सिकाउन थालेको छ ।
नेपालमा लोपोन्मुख तथा अल्पसंख्यक अवस्थामा रहेको तीन गाउँले थकालीहरुलाई भाषिक क्षमताको विकास गर्दै संस्कृति संरक्षण र जातीय पहिचान जोगाउन प्रतिष्ठानले एकहप्ते थकाली भाषा शिक्षा प्रशिक्षणको कार्यक्रम सुभारम्भ गरेको हो । तालिमको आयोजना तीन गाउँले थकाली सेवा समाज मुस्ताङले गरेको हो।
मुस्ताङको घरपझोङ गाउँपालिका १, ३ र ५ वडामा बसोबास गर्ने ठिनी,स्याङ र चिमाङका थकालीहरुले ३ गाउँ थकाली समाज निर्माण गरेका छन् । यस्तै,मुस्ताङमा अन्य थकालीहरुका पनि अलग-अलग समाज निर्माण भएका छन् ।
तीन गाउँले थकालीहरुलाई स्थापित गर्दै राष्ट्रिय मान्यता प्राप्त अल्पसंख्य जातीयको रुपमा उभ्याउन प्रयास भइरहेको छ । तीन गाउँले थकालीको पृथक मौलिक मातृभाषाको संरक्षण र विकास गर्दै सामाजिक रुपमा पुस्थान्तरण गरी बेग्लै फरक पहिचानको रुपमा उभ्याउन तीन गाउँले थकाली समुदाय लागिपरेको हो।
पछिल्लो समय थकालीहरुको भाषा संस्कृति पलायन भइरहेको अवस्थामा प्रतिष्ठानले मागका आधारमा भाषा साक्षरता तालिम सुरु गरेको हो ।
घरपझोङको स्याङस्थित समाजघरमा भाषिक साक्षरता तालिमको सुभारम्भ गर्दै आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले नेपालको सविधानले आदिवासी जनजातिहरुलाई भाषिक अधिकारको ग्यारेण्टी गरेकाले सामुदायिक विद्यालयमा भाषिक कक्षा सञ्चालन गर्न पाउने अधिकार सविधानले निर्दिष्ट गरेको उल्लेख गरे ।
मुलुक संघीय प्रणालीमा रुपान्तरण भएसँगै भाषा,संस्कृति उत्थान र विकासमा सविधानले स्थानीय तहलाई अधिकार प्रत्योजन गरेकाले सम्बन्धित क्षेत्रका जनजातिले मागका आधारमा भाषा शिक्षा कार्यान्वयमा ल्याउन सक्ने जनाए ।
तीन गाउँले थकाली सेवा समितिअन्तर्गत थाकथलो मुस्ताङमा बसोबास गर्ने ठिनी,स्याङ र चिमाङका झन्डै ५० जना बढीले भाषा सारक्षता तालिममा सहभागी रहेका छन्।