विवादित नियुक्तिले जोन्सनको बहिर्गमन

विवादित नियुक्तिले जोन्सनको बहिर्गमन

लन्डन : एउटा विवादित नियुक्तिका कारण बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सत्ता छाड्नुपर्ने अवस्था आएको छ। उनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन्। यससँगै जोन्सनले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्री पदमा रहने बताएका छन्।

राजीनामा दिनुअघि उनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। त्यस क्रममा जोन्सनले नयाँ नेता छनोट प्रक्रिया अहिले सुरु गरिने र उनको प्रस्थानको समय तालिका भने अर्को सातासम्ममा सार्वजनिक गरिने जानकारी दिए।

‘हामीले बेलायतको हरेक क्षेत्रको सम्भावनालाई उजागर र प्रोत्साहन गर्नु आवश्यक छ’, जोन्सनले भने। त्यसो गर्न सके बेलायत युरोपकै सबैभन्दा समृद्ध देश हुने दाबी उनले गरे। जो कोही नयाँ नेता भए पनि उनलाई आफ्नो पूर्ण समर्र्थन रहने पनि जोन्सनले बताए। उनले सम्बोधनकै क्रममा बेलायती जनतालाई धन्यवाद पनि दिए। उनले एकसाथ मिलेर बस्दा सबैको भविष्य सुनौलो हुने विश्वास व्यक्त गरे। 

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री जोनसनले नयाँ नेतृत्व चयन नभएसम्म आफूले पदमा बसेर जनताको सेवा गरिरहने बताए। पद छाड्दा आफूलाई निकै दुःख लागेको उनको भनाइ थियो। उनले भने, ‘यो संसारको सबैभन्दा राम्रो काम छाडेर म कत्ति दुःखी भएको छु भनेर सबैलाई सुनाउन चाहन्छु।’

पछिल्ला दुई दिनमा जोनसनको मन्त्रिपरिषद्का धेरै मन्त्रीले राजीनामा दिएका छन्। धेरै सांसद उनीविरुद्ध उत्रिएका छन्। आगामी दिनमा कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र आउँदो अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। यसबीच जोनसनले प्रधानमन्त्रीको रूपमा निरन्तरता पाउनेछन्।

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै मन्त्रीहरूको राजीनामा दिने क्रम सुरु भएको थियो। यी दुवै नेताले प्रधानमन्त्री जोन्सनको नेतृत्वमा अब विश्वास नरहेको भन्दै राजीनामा दिएका थिए। मन्त्री सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए।  

त्यसैगरी, मन्त्री जाविदले सरकारले राष्ट्रहितमा काम नगरेको दाबी आफ्नो राजीनामामा गरेका छन्।

यसरी सुरु भयो राजीनामाको क्रम

बेलायतका मन्त्रीहरूले प्रधानमन्त्री जोन्सनको साथ छाड्नुको मुख्य कारण यौन दुव्र्यवहारका एक आरोपीलाई उनले गरेका नियुक्ति रहेको छ। सांसद क्रिस पिन्चरलाई उपप्रमुख सचेतक बनाएपछि यी सम्पूर्ण घटनाक्रम सुरु भएको हो। जोनसनले सांसद क्रिस पिन्चरलाई सरकारी जिम्मेवारी दिएकोमा आफूले माफी मागेका थिए। तर, उनका मन्त्री तथा सांसदले उक्त कुरा मानेनन्। यस वर्षको सुरुमा पिन्चरलाई उपप्रमुख सचेतकका रूपमा नियुक्त गरेर आफूले ठूलो गल्ती गरेको जोन्सनले स्वीकार गरे। बेलायती पत्रिका ‘द सन्’ले गत जुन ३० मा एउटा समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा सत्तारूढ कन्जरभेटिभ पार्टीका सांसद पिन्चरले लन्डनको एक निजी क्लबमा दुई पुरुषलाई आपत्तिजनक ढंगले छोएको दाबी गरिएको थियो। 

त्यसपछि पिन्चरले राजीनामा दिनु परेको थियो। तर केही दिनयता बेलायती सञ्चारमाध्यममा यस्ता थप रिपोर्टहरू सार्वजनिक भएका छन्। पिन्चरको यौन दुव्र्यवहारसम्बन्धी कम्तीमा ६ वटा थप घटना बाहिरिएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.