जिल्ला अदालत धनुषाले दियो दिनदहाडै गोली ठोक्नेलाई पूर्ण सफाइ
जनकपुरधाम : जिल्ला अदालत धनुषाले दिनदहाडै गोली हानेर हत्या गरेको अभियोग लागेका अभियुक्तलाई पूर्ण सफाइ दिएको छ ।
गोली ठोकेर मान्छे मारेको अभियोगमा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराईको एकल इजलासले घटनाका अरोपित दामोदर चौधरी 'पंकज' लाई सफाइ दिएको हो । घटनालगत्तै लुकेर बसेको अवस्थामा हतियारसहित पक्राउ परेका हत्या आरोपी पंकज भनिने दामोदर चौधरीलाई अदालतले सफाइ दिएको जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेका अभियुक्त चौधरीलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।
२०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । २०७६ कात्तिक ६ गते लक्ष्मिनियाँ गाउँपालिका- ४ का स्थायी तथा जनकपुरधाम उप–महानगरपालिका १ मा बस्दै आएका मनोज कुमार शाहको गोली प्रहार गरी हत्या गरिएको थियो ।
शाह र चौधरीको व्यवसायिक सम्बन्ध थियो । शाह पेट्रोल पम्पका सञ्चालक थिए भने चौधरीले ठेक्केदार हुन् ।
लक्ष्मिनियाँ गाउँपालिकास्थित रहेको शिव आयल पेट्रोल पम्प सञ्चालक शाहले पेट्रोलियम पदार्थ उधारोमा लिएको पैसा माग्न जाँदा जनकपुरधाम उप–महानगरपालिका–१४ प्रगतिनगरस्थित पंकज चौधरीले आफ्नै घरमा गोली हानी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मनोज आफ्नो साथी अमित साहलाई लिएर पंकजको घर गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थितिमा पंकजले गोली हानी मनोजको हत्या गरेको आरोप उनीमाथि लागेको थियो । घटनालगत्तै अमित प्रहरी चौकी मुजेलियामा पुगेका थिए ।
तत्काल घटनास्थलमा प्रहरीले हात–हतियारसहित पंकजलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा घटनास्थलबाट अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली बरामद भएको थियो ।
पेट्रोल पम्प सञ्चालक मनोज कुमार शाहले ठेक्केदार पंकज चौधरीसँग ८ लाख उधारोको रकमको ताकेता गर्न जाँदा पंकजले उनको हत्या गरेको निष्कर्ष जिल्ला प्रहरी कार्यलय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
अनुसन्धानका क्रममा चौधरीले आफूले हत्या गरेको स्वीकारेको सरकारी वकिलललाई उदृत गर्दै स्रोतको दाबी छ ।
'आफूले पाउनुपर्ने रकम माग्न चौधरीको घरमै पुग्दा विवाद उत्पन्न भएको थियो । सोही क्रममा चौधरीले पेस्तोल झिकेर साहलाई गोली प्रहार गर्दा मृत्यु भएको कुरा चौधरीले अनुसन्धानका क्रममा स्वीकार गरेका थिए,' प्रहरी स्रोतले भन्यो ।
पेस्तोल र गोलीसहित पक्राउ परेका तथा प्रहरी अनुसन्धानका क्रममा हत्या अभियोग स्वीकारेका चौधरीलाई आजीवन कैद सजायको माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर भएको थियो।
चौधरीलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो ।
अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले उक्त मुद्दामा अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण सफाइ दिइएको बताए । अहिले फैसलाको पूर्णपाठ आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !