गाँजा खोल्न संसद्‍देखि सरकारसम्मको पहल

गाँजा खोल्न संसद्‍देखि सरकारसम्मको पहल

काठमाडौं : २०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन बन्यो। त्यसले गाँजाको सेवन, ओसारपसार र खेतीमा पूर्ण प्रतिबन्ध लगायो। त्यसअघि काठमाडौंमा गाँजा सेवन गर्न लाइसेन्स प्राप्त पसलहरू सञ्चालनमा थिए। गाँजा सेवन गर्नकै लागि विदेशीहरू काठमाडौं आइपुग्थे।

प्रतिबन्ध भएको झन्डै ४५ वर्षपछि फेरि गाँजालाई वैधानिकता दिनुपर्ने बहस सुरु भएको छ। संघीय संसद्देखि प्रदेशसभासम्म गाँजालाई वैधानिकता दिनुपर्ने भन्दै सांसदहरूले विधेयक दर्ता गरेका छन। सरकारले पनि यसलाई खुकुलो बनाउन विधेयक निर्माणको काम गरिरहेको छ। गाँजालाई लागूऔषधका रूपमा नभई औषधि (मेडिकल प्लान्ट)का रूपमा राज्यले मान्यता दिनुपर्ने सांसदहरूको तर्क छ। गाँजाखेतीबाट सहजै रूपमा अर्बौ कमाइ हुने र यसबाट आर्थिक विकास र स्वदेशमै रोजगारीको प्रबन्ध हुने उनीहरूको भनाइ छ। ‘गाँजालाई विश्वका धेरै देशले मेडिकल प्लान्ट भनेर स्वीकृति दिइसके,’ पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले भने, ‘नेपालमा मात्र किन नगर्ने ? यसबाट किसानलाई आम्दानी हुन्छ। वैज्ञानिक ढंगले खेती गर्न सकिन्छ।’ खतिवडाले गाँजालाई वैधानिकता दिनुपर्ने भन्दै पटकपटक संसद्मा धारणा राखिसकेका छन्।

एमाले सांसद शेरबहादुर तामाङले गाँजामाथि प्रतिबन्ध हटाउनका लागि २०७६ फागुन १९ गते संसद्मा विधेयक नै दर्ता गरेका छन्। ‘औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यावसायिक तथा औद्योगिक प्रयोजनको लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गर्नुपर्ने’ तामाङको भनाइ छ। गाँजा खेतीलाई वैधानिकता दिएर  कृषकको आर्थिक स्तर बढाउन सकिने भन्दै उनले गाँजा खेतीलाई नियमित तथा व्यवस्थित गर्न ऐन बन्नुपर्ने बताए। बागमती प्रदेशसभाका पूर्वएमाले सांसद केशव स्थापितले पनि गाँजा खेतीको प्रतिबन्ध फुकुवाका लागि प्रदेशसभामा विधेयक दर्ता गरेका छन्। यद्यपि, संघीय संसद् र प्रदेशसभाले यी विधेयकलाई अघि बढाएका छैनन्।

एमाले सांसद तामाङले दर्ता गरेको विधेयकमा गाँजा बिक्रीलाई खुला गरे मुलुकको अर्थतन्त्र दुई÷तीन वर्षमै ५०–६० खर्बको बनाउन सकिने तर्क गरिएको छ। गाँजालाई फुकुवा गर्न सरकार पनि सकारात्मक देखिएको छ। गृह मन्त्रालयले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न मिल्ने गरी कानुन निर्माणको तयारी थालेको छ। गृहमन्त्री बालकृष्ण खाँणले गत फागुन १० गते नै गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक मन्त्रीस्तरीय निर्णयबाट पारित गरी सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा पठाएका छन्। मन्त्रिपरिषद्ले सहमति दिएपछि उक्त विधेयक संसद्मा लैजाने तयारी भइरहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्। उक्त विधेयक संसद्बाट पारित भए गाँजामाथिको प्रतिबन्ध हट्नेछ।

लागूऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजाको खेतीमात्र नभई कारोबार र उपभोगलाई अवैध ठहर गरेको छ। गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखा प्रमुख गोकर्ण उपाध्यायले मन्त्रिपरिषद्को निर्णयपछि विधेयकलाई संसद्मा लैजाने बताए। सरकारले गाँजालाई मनोरञ्जन प्रयोजनका लागि नभई औषधिजन्य प्रयोजनका लागि मान्यता दिने तयारी गरिरहेको उपाध्यायले बताए। ‘विश्वका ५० भन्दा बढी देशले गाँजालाई वैधानिकता दिइसकेका छन्,’ उनले भने, ‘हाम्रोमा पनि औषधिजन्य प्रयोगलाई

खुला गर्न कानुन निर्माणको प्रक्रिया अघि बढेको छ। गाँजाको उत्पादन, भण्डारण, बिक्री वितरण, प्रयोग लगायतको मोडालिटी र मापदण्डजस्ता विषय कानुनमै व्यवस्था भएर आउँछन्।’

गाँजाले वैधानिकता पाए राजस्व संकलनमा ठूलो टेवा पुग्ने उपाध्याय बताउँछन्। ‘हाम्रो देशमा सहजै उत्पादन हुने गाँजा प्राकृतिक स्रोतसाधनको उपयोग गर्न सकिने बहुउपयोगी वस्तु हो,’ उनले भने। गृह मन्त्रालयका अनुसार मुलुकमा लागूऔषध प्रयोग गर्नेमध्ये ८० प्रतिशतले गाँजा सेवन गर्छन्। २६ हजार कैदीबन्दीमध्ये ७ हजार गाँजाका मुद्दामा छन्।

पूर्वसचिव भीम उपाध्याय पनि गाँजालाई वैध गर्नुपर्ने पक्षमा लबिङ गर्दै आएका छन। गाँजा उत्पादन गरेर खर्बाै कमाउन सकिने पूर्वसचिव उपाध्यायको भनाइ छ। जसमा लाखौंले रोजगारी पनि पाउँछन्। गाँजा निर्यात गरेर अमेरिका, रसिया, चीन र भारतजस्ता मुलुक लाभान्वित भएको उनको भनाइ छ। बर्सेनि ५० अर्बको गाँजा मुलुकबाट तस्करमार्फत निर्यात हुने उपाध्यायको आकलन छ। ‘गाँजा दुई थरीका हुन्छन्,’ उपाध्याय भन्छन, ‘नशा नलाग्ने गाँजा पनि हुन्छन्। गाँजाबाट होमियोपेथी र एलोपेथीका थुप्रै औषधि बनाइएका छन्।’

गाँजालाई वैधानिकता दिन डराउन नपर्ने उनको तर्क छ। ‘युवा पुस्ता गाँजा तान्छ कि भनेर डराउनु पर्दैन,’ उनले भने, ‘रक्सीलाई मान्यता दिइएको छ। सबैले खान्छन् त ? त्यसैले युवाहरू जथाभावी गाँजा तानेर बस्दैनन्,। यो भ्रम फैलाउने कुरा मात्र हो।’ सवा एक अर्ब रुपैयाँ जेल व्यवस्थापन र गाँजा फाँड्नमा खर्च भइरहेको उनको भनाइ छ। 

किसानलाई समृद्ध बनाउने आधार नै गाँजा खेती रहेको अधिवक्ता अर्जुनकुमार अर्याल बताउँछन्। विश्व बजारमा करोडौं कमाउन सकिने गाँजाको खेतीलाई नियन्त्रण गरेर मुलुकको अहित भइरहेको उनको भनाइ छ। ‘गाँजाभन्दा कैयन् गुणा घातक विदेशी रक्सी चुरोट खुलेआम बिक्री भएका छन्,’ उनले भने, ‘विदेशी बजारमा डलरमा बिक्री हुने वस्तुलाई नियन्त्रण गरेर देशकै अहितमा काम गरिरहेका छौं।’ अधिवक्ता अर्यालका अनुसार २०१७ सालमा ७ अर्ब ७० करोड डलरको गाँजा कारोबार भएको थियो। ‘एउटा किसान डिलको छेउमा एउटा गाँजाको बोट उम्रिएकै कारण पक्राउ परेको छ,’ उनले भने, ‘मापदण्ड बनाएर गाँजा खुला गर्नुपर्छ।’ संयुक्त राष्ट्रसंघले सन २०२० डिसेम्बर ३ मा गाँजालाई खतरनाकको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको थियो। गाँजालाई कम खतरनाक र औषधिजन्य सूचीमा राखेको छ। ५३ देशले गाँजालाई वैधानिक बनाउने पक्षमा संयुक्त राष्ट्रसंघमा मतदान गरेका थिए।

गाँजा तस्करीमा महिला तथा युवा बढी

गाँजालाई अवैध भए पनि तस्करी भने रोकिएको छैन। तस्करका नाइकेहरूले धेरैजसो महिला तथा युवालाई गाँजा ओसारपसारमा प्रयोग गर्दै आएका छन्। मुलुकका विभिन्न नाकाबाट दैनिकजसो ठूलो परिणाममा भारततिर गाँजा तस्करी हुने गरेको प्रहरीको भनाइ छ। प्रहरीले दिनहुँजसो गाँजालगायतका लागूऔषधसहित मानिस पक्रन्छ, ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि

बढाउँछ। तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्। जसलाई आफूले बोकेको सामान के हो भन्ने सुइँको पनि हुँदैन।

गाँजाबाट कम अम्मली

इन्स्टिच्युट अफ मेडिसिन अफ साइन्सको अध्ययनका अनुसार अन्य लागूऔषध सेवन गर्ने भन्दा गाँजा सेवनबाट अम्मली बन्नेको संख्या कम छ। सुर्तीजन्य पदार्थबाट ३२ प्रतिशत, रक्सीबाट १५ प्रतिशत र गाँजाबाट ९ प्रतिशत अम्मली रहेको अध्ययनको तथ्यांक छ। गाँजा सेवनकै कारण एक जना पनि मरेको तथ्यांक सरकारसँग छैन। अधिवक्ता अर्याल भन्छन्, ‘अहिले पनि गाँजा बाहिरिएकै छ। तर, न त गरिबले मूल्य पाएका छन्। न त सरकारले राजस्व नै।’ अवैध ढंगले गाँजा निर्यात गर्दा बिचौलिया र तस्करले मात्रै फाइदा उठाउने गरेको अर्याल बताउँछन्।

यस्तो छ, प्रहरी तथ्यांक

प्रहरीको तथ्यांकअनुसार लागूऔषधमा सबैभन्दा पहिला गाँजा नै आउने गर्छ। सबैभन्दा बढी व्यक्ति गाँजा कारोबारमै पक्राउ परेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको ६ महिनामा लागूऔषध कारोबारको कसुरमा २ हजार ७ सय २७ पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १ हजार ८ सय ५१ लाई मुद्दा दर्ता गरिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा पक्राउ पर्नेको संख्या ४ हजार ७ सय ५४ छ। जसमा मुद्दा संख्या ३ हजार ८८ रहेको छ। त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा ५ हजार ५ सय ५८ पक्राउ परेका छन्। ३ हजार ७०३ मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष २०७६/०७७ मा ४ हजार ५ सय ४६ पक्राउ परेकामध्ये २ हजार ९ सय मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ६ सय २६ पक्राउ परेकोमा ३ हजार १३ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ।

औषधीय गुण गाँजामा

आयुर्वेद चिकित्सक डा. नरेन्द्र हमाल आयुर्वेदका ३२ हजार फर्मुलामा गाँजाको प्रयोग गर्न सकिने बताउँछन्। डा. हमाल गाँजालाई औषधिको रूपमा प्रयोग गर्दा थुप्रै फाइदा हुने बताउँछन्।  ‘गाँजालाई नशा र चरेसको रूपमा नभई औषधि र सन्तुलित आहारमा प्रयोग गर्दा उचित हुन्छ’ डा. हमाल भन्छन्, ‘गाँजाबाट राम्रो गुणस्तरको लत्ताकपडा बनाउन सकिन्छ। यस्ता लुत्ताकपडाबाट पे्रसरका रोगी, शरीरको एलर्जी भएका, गर्भवती महिला, र बढ्दो उमेरका बच्चाहरूलाई निकै फाइदा पु¥याउँछ।’ पाचन प्रक्रियामा गडबढी भएमा, शुक्रकिट बढाउने, स्त्रीको बाँझोपनको उपचार, रक्तचाप घटाउने, तथा बढाउनेलगायतका ८० वटा आयुर्वेदिक औषधिमा गाँजाको प्रयोग गरिँदै आएको आयुर्वेद चिकित्सकहरू बताउँछन्।

युरोपमा ‘नेपाली’ गाँजाको मूल्य उच्च 

युरोपमा नेपाली गाँजाको माग उच्च छ। त्यहाँ नेपाली गाँजाको मूल्य पनि निकै नै बढी रहेको गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखा प्रमुख गोकर्ण उपाध्यायले बताए। ‘युरोप र अमेरिकामा हाम्रो देशको गाँजा सर्वोत्कृट मानिन्छ’ उनले भने, ‘अन्नपूर्ण क्यानबिच, ट्याम्पल ह्यासजस्ता नामले नेपाली गाँजा बिक्री हुँदै आएको छ।’ गाँजाबाट उठ्न सक्ने राजस्व संकलनबारे अनुसन्धान गर्न मन्त्रालयले राजस्व परामर्श समितिलाई निर्देशन दिइसकेको छ।

गाँजाबाट बनेका औषधि प्रतिबन्ध हुँदा समस्या

गाँजाबाट बनेका औषधिको प्रतिबन्धले गृह मन्त्रालयको टाउको दुखाइ बनेको छ। विदेशबाट आउने व्यक्तिले गाँजाबाट बनेका औषधिहरू ल्याउन पाऊँ भन्दै मन्त्रालयसँग हारगुहार माग्ने गरेको उपाध्याय बताउँछन्। ‘गाँजाबाट बनेका औषधि धेरै छन्,’ उनले भने, ‘धेरैले नियमितरूपमा त्यसको सेवन र प्रयोग गर्छन्। नेपाल आउँदा त्यस्ता औषधि ल्याउन पाऊँ भन्दै मन्त्रालयलाई गुहार्ने गरेका छन्। तर कसरी दिने ? कानुनमै प्रतिबन्ध छ। विमानस्थलमै समस्या हुन्छ।’ उनका अनुसार हेर्दा सानो जस्तो देखिए पनि यी जटिल समस्या हुन्।

धार्मिक कुरामा गाँजा

संस्कृतमा लेखिएको अथर्व वेदमा पाँच महŒवपूर्ण वनस्पतिमध्ये गाँजाको वर्णन गरिएको छ। वेदका अनुसार गाँजाको सेवनले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ। विभिन्न रोग लाग्दा मानिस र पशुपक्षीलाई गाँजाको पात, फूल र फल खुवाउने प्रचलन पहिलेदेखि नै नेपालमा थियो। अर्कोतिर हिन्दु धर्मसँग पनि जोडिएको छ। हिन्दु धर्मअनुसार भगवान् शिवले समुद्र मन्थन गरेर अमृत निकाल्ने क्रममा विष पनि निस्किएको विश्वास छ जुन विष सेवन गरेपछि भगवान् शिवको घाँटी नीलो भएको थियो र यसलाई निको पार्न भाङ वा गाँजा प्रयोग गरिएको वेदमा उल्लेख छ।

विदेशीको इशारामा प्रतिबन्ध

२०३३ सालमा अमेरिकाको दवाबमा गाँजा अवैैैध बनाएको थियो। संसारबाट गाँजा नियन्त्रण गर्न त्यसबेला अमेरिकाले पहल गरेको थियो। लागूऔषध शाखाप्रमुख उपाध्याय भन्छन्, ‘अमेरिकामा पनि संघीय कानुनले गाँजा प्रतिबन्ध गर्छ। तर राज्यको कानुनमा भने खोल्न सक्ने व्यवस्था छ। हाम्रोमा लागूऔषध नियन्त्रण ऐनले नै रोकेको छ।’ उनका अनुसार केही विश्वविद्यालय, वनस्पति विभाग, स्वास्थ्य अनुसन्धान परिषद्, सिंहदरबार वैद्यखानालगायतले अनुसन्धान तथा औषधि प्रयोगका लागि गाँजाको प्रयोगमा प्रयास गरिरहेका छन्।

गृह मन्त्रालयकै सहसचिव भीष्मकुमार भुसालका अनुसार विगतमा ३० वटा पसललाई गाँजा सेवनका लागि इजाजत दिइएको थियो। त्यसबेला धेरै हिप्पीहरू गाँजा सेवन गर्नकै लागि नेपाल आउने र नेपालमै रमाउँथे। ‘नेपाल आएका विदेशीहरू नेपालमै रमाउन थालेपछि हिप्पी संस्कृति फैलिँदै गयो,’ भुसालले भने, ‘गाँजाको कुलतमा युवाहरू लागे भनेर विश्वव्यापी रूपमै रोक्ने अभियान सुरु भयो। लागूऔषध नियन्त्रण ऐन बनाएर नियन्त्रण गरियो।’ जसले गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय बनायो। गाँजा पसललाई दिएको लाइसेन्स पनि खारेज गरियो।

‘प्रतिबन्ध लगाइएको ४५ वर्षमा विश्वमा गाँजाका विषयमा धेरै अनुसन्धान भए,’ उनले भने, ‘नयाँनयाँ कुराहरू पत्ता लाग्यो। सही ढंगको प्रयोग गरे गाँजा धेरै उपयोगी छ भन्ने सावित हुँदै गयो।’ आयर्वेदिकमा यसको ठूलो महत्व निर्यात गर्दा अर्थतन्त्रमा ठूलोसँगै संस्कृतिको पनि अभिन्न अंग पनि बन्यो। गाँजाको फुकुवा गर्ने विषयमा अर्थ र कानुन मन्त्रालयले अध्ययन गरिरहेको र अर्थ मन्त्रालय सकारात्मक रहेको भुसालले बताए। 

आयुर्वेदका ३२ हजार फर्मुलामा गाँजाको प्रयोग गर्न सकिन्छ। गाँजालाई औषधिको रूपमा प्रयोग गर्दा थुप्रै फाइदा हुन्छ। गाँजालाई नशा र चरेसको रूपमा नभई औषधि र सन्तुलित आहारमा प्रयोग गर्दा उचित हुन्छ। गाँजाबाट राम्रो गुणस्तरको लत्ताकपडा बनाउन सकिन्छ। यस्ता कपडाबाट पे्रसरका रोगी, शरीरको एलर्जी भएका, गर्भवती महिला र बढ्दो उमेरका बच्चाहरूलाई निकै फाइदा पुर्‍याउँछ।

– डा. नरेन्द्र हमाल, आयुर्वेद चिकित्सक

विगतमा ३० वटा पसललाई गाँजा सेवनका लागि इजाजत दिइएको थियो। त्यसबेला धेरै हिप्पीहरू गाँजा सेवन गर्नकै लागि नेपाल आउने र नेपालमै रमाउँथे। नेपाल आएका विदेशीहरू नेपालमै रमाउन थालेपछि हिप्पी संस्कृति फैलिँदै गयो । गाँजाको कुलतमा युवाहरू लागे भनेर विश्वव्यापी रूपमै रोक्ने अभियान सुरु भयो। लागूऔषध नियन्त्रण ऐन बनाएर नियन्त्रण गरियो।

– भीष्मकुमार भुसाल, गृह मन्त्रालयकै सहसचिव का ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.