विराटनगरमा विद्युत आपूर्ति असहज हुँदा उपभोक्तालाई सास्ति
विराटनगर: प्रदेश १ को राजधानी विराटनगरमा विद्युत् आपूर्ति सहज नहुँदा उपभोक्ता हैरान भएका छन्। केही दिनदेखि विराटनगरको विद्युत् आपूर्ति नियमित नहुँदा उपभोक्ताहरु हैरान भएका हुन्।
दिउँसोको समयमा धेररैजसो बत्ती नआउने र रातिको समयमा पनि जाने भएपछि समस्या आएको हो। विराटनगरमा बिजुली आउनेजाने गर्दा १८ घण्टा लोडसेडिङ हुँदाकै जस्तो बनेको उपभोक्ताहरूले बताएका छन। प्राधिकरणका कर्मचारीले प्राविधिक समस्या भन्दै आलटाल गर्ने गरेका छन्।
प्राधिकरण विराटनगर शाखाका प्रमुख रोषण खड्काले केही दिनदेखि विद्युत् आपूर्तीमा समस्या भएको बताए। १३२ केभी प्रसारण लाइनको सबस्टेशन बन्दै गरेकाले सटडाउन भएपछि विराटनगरमा विद्युत आपूर्तीमा समस्या भएको उनको भनाइ छ।
नेपाल विद्युत प्राधिकरण विराटनगरको वितरण कार्यालयका अनुसार विद्युत 'ट्रिपिङ' हुने, तार चुडिनेलगायतका समस्या हुनाले आपूर्तिमा अवरोध आएको हो। एक ठाउँमा समस्या आयो भने त्यसबाट सबैतिर अवरोध हुन्छ र समस्या पत्ता लगाउन केही समय लाग्ने भएकाले केही समय आपूर्ति बन्द भएको हो।
साँझपख विराटनगर वितरण केन्द्रलाई ९५ मेगावाट विद्युत चाहिने बताइएको छ। गर्मीमा एकैपटक विद्युत खपत बढ्दा 'ट्रिपिङ' हुन गई आपूर्ति बन्द हुने गरेको उनको भनाइ छ। दुहबीबाट विराटनगरका लागि दिइने विद्युतमा कुनै रोकावट छैन। जति चाहिने त्यतिनै दिइरहेको दुहबी ग्रिडले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत ६ हजार ८ सय ग्राहक छन्। दुईवटा सबस्टेशनमार्फत २० वटा फिडर लाइनबाट ग्राहकहरुलाई विद्युत दिने गरिन्छ।
सो केन्द्रको क्षेत्र विराटनगरबाहेक कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिका हो। लामो क्षेत्र पर्ने हुँदा कतै समस्या आयो भने समस्या पत्ता लगाउन समय लाग्ने गरेको छ।
फिल्डका कर्मचारी समयमै फिल्डमा नपुग्ने, आपसी समन्वय र नेतृत्वमा कार्यकुशलताको कमीले गर्दा पनि विद्युत आपूर्तिमा त्यसको प्रभाव पर्ने गरेको छ।
दैनिक रूपमा उपभोक्ताहरूले संगठित भएर वितरण केन्द्र पुगेर गुनासो राख्दै आएपनि सुनवाही हुन नसकेको विराटनगर ६ का दिनेश कामतले बताए।
गर्मीले घर बाहिर जान सकिने अवस्था नरहेको समयमा विद्युत आपूर्ति असहज हुँदा जनजीवन अस्तव्यस्त बनेको बताए। प्राधिकरणको कर्मचारी र व्यापारीको मिलोमतोमा सर्वसाधारणले पाउने विद्युत उद्योगमा दिने गरेकाले सास्ती खेप्नु परेको विजय कामतले बताए। उनले विद्युत हुँदाको समयमा पनि भोल्टेजको समस्या हुने गरेको बताए।