सायोनारा सिन्जो
मानव इतिहासकै सबैभन्दा भयानक युद्ध विभीषिका जापानका दुई ठाउँ हिरोसिमा र नागासाकीले बेहोरे। विश्वयुद्धका दौरान त्यो बीभत्स इतिहास लेखिएको जापान त्यसयता युद्ध र आतंकबाट निकै टाढा थियो। समुद्री टापुहरूको यो मुलुकमा हत्या, आतंक र नरसंहारको आँधीतुफान चलेको विश्वजगत्लाई खासै मेसो छैन। शुक्रबार एकाएक त्यहाँका लोकप्रिय नेता भने अनौठो प्रकारले गोलीको सिकार भए। जापानमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय ९ वर्ष प्रधानमन्त्री भएको सफल इतिहास कोरेका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि दुखद र बडो विडम्बनापूर्ण इतिहास लेखियो। सार्वजनिक समारोहमा राजनीतिक मन्तव्य दिइरहँदा ४१ वर्षे युवकले उनीमाथि गोली चलाए र हत्या गरे। जापानजस्तोशान्तिपूर्ण देशमा भएको यो किसिमको बर्बर घटनाले सम्पूर्ण विश्वलाई झसंग बनाएको छ।
जापानमा व्यक्तिगत रूपमा बन्दुक वा हतियार राख्न कडा कानुन छ। बन्दुक राख्न लामो प्रक्रिया पूरा गर्नुपर्छ। परीक्षा दिनुपर्छ। तालिम लिनुपर्छ। मानसिक अवस्थाको समेत जाँच हुन्छ। जापानमा बन्दुकबाट मानिसको ज्यान जाने घटना वर्षमा १० भन्दा पनि कम हुने गरेको तथ्यांक छ। तर, जलसेनामा तीन वर्ष काम गरिसकेका ती युवकले घरमै तयार गरेको हतियारको निसाना सिन्जोलाई बनाए, जो जापानी राजनीतिमा एक आदर्श नेतामध्येका थिए। सिन्जो तिनै प्रधानमन्त्री हुन्, जसले प्रधानमन्त्री भएको वर्ष दिन नपुग्दै २००७ मा राजीनामा गरेका थिए, स्वास्थ्यका कारण। आफू अस्वस्थ हुँदा देशका लागि काम गर्न सक्दिनँ भन्ने नैतिक आँट विश्वकै कमै सत्तासीनहरूमा देखिन्छ। सिन्जो भने त्यसमा अपवाद जस्ता दुर्लभ राजनीतिकर्मी देखिए। पछिल्लोपटक पनि उनले कार्यकाल नसकिँदै सन् २०२१ मा प्रधानमन्त्रीबाट बिदा लिएका थिए। त्यसपटक पनि उनले नैतिकता नै प्रदर्शन गरे। स्वास्थ्यकै कारण राजीनामा गरे। धर्ती नछाडेसम्म कुर्ची छाड्दिनँ भन्ने मनोवृत्ति भएका दक्षिण एसियाली राजनीतिका लागि आबे त अवतारी नै लाग्छन्। उनीबाट लिने शिक्षा त्यही नै थियो। तर, उनी न कुनै अवतारी हुन् न त अलौकिक नै। उनमा भएको संस्कारी राजनीति हो।
द्वितीय विश्वयुद्धयता कुनै सैनिक संगठनतिर आबद्धता नराखेको जापानको सैन्य संगठन मजबुद बनाउने जसमात्रै होइन आर्थिक प्रणालीमा मौलिकता भर्ने जस आबेलाई नै जान्छ। उनले प्रवर्तन गरेको आर्थिक प्रणालीले आबेनोमिक्सको उपमा नै पायो। राजतन्त्रात्मक मुलुक जापानको राजनीतिक परिवारका सदस्य आबेले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय छवि उँचो बनाएबाटै जनताको राजकुमारको संज्ञा पाएका थिए। जबरजस्त रूपमा उनको लोकप्रियता चुलिएको थियो। एकताका उनको पार्टी लिबरल डेमोक्रेटिकको साख खस्केको पनि हो। तर, त्यसलाई आबेले नै उकासे। फलस्वरूप पार्टीले उनलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुला हुने गरी विधान संशोधन गरिदियो।
आबेको निधनमा विश्वका अधिकांश सरकार प्रमुखहरूले शोक व्यक्त गरेका छन्, यसै पनि हिंसा र आतंक विश्वकै चासो र चिन्ताको विषय हो। त्यसमाथि अहिलेसम्म कुनै हिंसाको भड्काउ नदेखिएको मुलुकमा समेत लोकप्रिय नेता नै सिकार बनेपछि यसले सबैलाई झस्काउनु स्वाभाविक हो। जब कि नेता आबे आफंै पनि व्यक्तिगत रूपमा बन्दुर राख्न पाउनुपर्ने कानुन निर्माण गर्नुपर्ने पक्षमा थिए। दुखद संयोग उनी बन्दुकधारी व्यक्तिको निसानामा परे। व्यक्तिगत रूपमा आबेसँग निराश भएको प्रष्टोक्ति प्रारम्भिक बयानमा बन्दुकधारी युवाले दिएका छन्। तर, यो स्थितिका लागि कसरी वातावरण तयार भयो र त्यति ठूला नेता नै निसानामा परे भन्ने गम्भीर समीक्षाको विषय हो।
त्यस घटना केवल जापानका लागि मात्रै नभई विश्वका सबै देशका लागि पनि समीक्षाको सन्दर्भ हुनुपर्छ। नेताहरूको सुरक्षा केवल बन्दुकधारी सुरक्षाकर्मीबाट नभई शान्त समाजबाट गर्ने वातावरण बनाउनुपर्छ। आबेको निधन जापानका लागि त दुखद हुँदै हो, नेपालले पनि उनको स्वर्गारोहणबाट शोक महसुस गरेको छ। जापान निःस्वार्थ तवरबाट नेपाललाई सहयोग पु¥याउने दातृराष्ट्रमध्येको एक हो। आबे नेपाल आउन चाहन्थे भन्ने समाचार पनि यसबीचमा आएको छ। उनको निधनले नेपालले एक असल शुभेच्छुक गुमाएको छ। जापानीहरूमा सधैंका लागि बिदाइ गर्नुलाई अर्थात् अलबिदालाई सायोनारा शब्दबाट सम्बोधन गरिन्छ। हाम्रोतर्फबाट पनि सिन्जोलाई सायोनारा।