कोशी अस्पतालको कायापलट योजना

कोशी अस्पतालको कायापलट योजना

विराटनगर : अत्याधुनिक प्रविधियुक्त भौतिक संरचना, विशिष्टिकृत उपचार पद्धति र गुणस्तरीय सेवा प्रवाह लगायतका उपाय लगाएपछि पछिल्लो समय सरकारी अस्पतालहरु पनि निजी अस्पतालको स्तरमा उक्लिन थालेका छन्।

सरकारी अस्पतालहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा अस्पतालप्रति आम नागरिकको विश्वसनीयता समेत बढ्दै गएको छ। गुणस्तरीय उपचार सेवाका लागि निजी अस्पताल नै रोज्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुँदा यसले सरकारी अस्पतालको गिरेको साखसमेत जोगाएको छ।

विराटनगरस्थित कोशी अस्पताल पनि प्रदेश नं. १ कै उत्कृष्ट अस्पतालको रुपमा विकास हुने क्रममा छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवाको दीर्घकालीन स्तरोन्नतिको उद्देश्यका साथ करिब ४ अर्ब रुपैयाँको लागतमा हालः कोशी अस्पतालमा स्तरोन्नति र विकास निमार्णको कार्य भइरहेको छ।

पूर्वी नेपालकै सबैभन्दा पुरानो कोशी अस्पताललाई स्वास्थ्य सेवाका हिसाबले बहु-विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न अस्पताल परिसरभित्र अहिले ६ तल्ले सर्जिकल र १० तल्ले मेडिकल ब्लक निमार्णको योजना अघि सारिएको छ।

योजनाअनुसार हालः आकस्मिक कक्षको छेउमा ६ तल्ले अत्याधुनिक संरचनासहितको सर्जिकल निमार्णको कार्य द्रूत गतिमा भइरहेको छ। पूर्वपट्टि पनि १० तले संरचनासहित निमार्ण ५०० शय्याको मेडिकल ब्लक निमार्ण गर्ने सरकारी योजना छ।

अस्पताल निमार्ण भई सञ्चालनमा आएपछि यसले बिरामीहरुको उपचारमा सहजता थप्ने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यज्ञराज खरेल बताउँछन्। सरकारी अस्पतालप्रति पछिल्लो समय आम नागरिकमा पैदा भएको वितृष्णा कोशी अस्पतालले मेटाउने उनको विश्वास छ।

‘हामीले सुपर स्पेशियालिटी अस्पतालको अवधारणाबमोजिम कोशीको स्वास्थ्य र भौतिक पूर्वाधार स्तरोन्नतिको कार्य गरिरहेका छौं। यो अस्पताल पूर्ण क्षमतामा सञ्चालन आइसकेपछि यसले बिरामीहरुले पाउने सहज उपचारमा कुनै कसर बाँकी राख्दैन,’ उनी भन्छन्, ‘अस्पतालमा हरेकको रोगको उपचार सम्भव हुन्छ। ओएनएम सर्वेअनुसार करिब १ हजार २०० स्वास्थ्य दरबन्दी समेत थप गर्ने योजना छ।’

कोशी अस्पतालभित्र हालः ६ तले संरचनासहित सर्जिकल ब्लक निमार्णको कार्य भइरहेको छ। डाक्टर तथा अस्पतालका कर्मचारीहरुका लागि अण्डर ग्राउण्ड पार्किङसहित निमार्ण भइरहेको सो ब्लकको ठेक्का रमन-भूमि-बिआइपीएल जेभीले लिएको छ।

कूल ३३ करोड २२ लाख ४८ हजार रुपैयाँको लागतमा निमार्ण भइरहेको सो भवन २०८० पुस २३ गतेभित्र सक्नुपर्ने सम्झौता छ। हालः बेसमेन्टको काम सम्पन्न भई सेरवालको काम भइरहेको अस्पतालको पूर्वाधार निमार्णको जिम्मेवारी पाएको संघीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ। इकाइका अनुसार निमार्णाधीन भवनमा आइसीयु, सर्जिकल युनिट, कार्डियो, न्युरो र नेफ्रोलोजीका विभागहरु रहनेछन्।

भवनको भुँइ तल्लामा ४० बेडको आकस्मिक तथा २० बेडको ग्यास्ट्रो जेनरल, पहिलो तल्लामा २० बेड आइसीयु, ६ बेड एचडीयु तथा ६ बेड रिकभरी, दोस्रो तल्लामा १२ बेड डायलाइसीस, २० बेड नेफ्रोलोजी तथा २० बेड अन्कोलोजी र तेस्रो तल्लामा १९ बेड कार्डियो, ६ बेड सीसीयु, ३ बेड रिकभरी, २० बेड न्युरोलोजी तथा एउटा क्याथ ल्याब रहने इकाइका इन्जिनियर अशोक राम बताउँछन्। चौथो तल्ला भने भाबी योजनाका लागि रिक्त छोडिएको उनको भनाइ छ।

त्यस्तै अस्पताल परिसरभित्रै ५०० शय्याको अर्को १० तले मेडिकल ब्लक निमार्णको प्रक्रिया पनि सरकारले अघि बढाएको छ। त्यसका लागि गएको असार ७ गते ३० दिने सूचना जारी गर्दै अस्पतालले अनलाइन प्रणालीमार्फत् टेण्डरसमेत आह्वान गरिसकेको छ। टेण्डर स्वीकृत भएपछि निमार्ण हुने भनिएको सो अस्पताल डबल बेसमेन्ट पार्किङको सुविधासहित १० तले संरचनाको हुने जनाइएको छ।

नयाँ बन्ने भनिएको सो मेडिकल ब्लक २ अर्ब ९८ करोड रुपैयाँको लागतमा सम्पन्न हुने संघीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ। इकाइका अनुसार निर्माण कम्पनीले सम्झौता भएको मितिबाट ३६ महिनामा भवन तयार गरिसक्नुपर्ने गुरुयोजना छ। कूल २९ हजार ६१० स्क्वायर मिटर अर्थात् ५८ रोपनी क्षेत्रफलमा अस्पताल निमार्ण हुने योजना छ।

यस्तो हुनेछ संरचना

अहिले पुराना संरचना हटाएर नयाँ र अत्याधुनिक पूर्वाधारसहित ३५० शय्याको कोशी अस्पताललाई ५ सय शय्यामा रूपान्तर गर्ने सरकारको योजना छ। सोहीअनुसार हालः कोशी अस्पतालको कायापलट योजना अघि बढाइएको छ। स्वीकृत डीपीआरअनुसार अस्पतालको भुँइ तल्लामा एक्स-रे, सीटी स्क्यान, एमआरआई, प्याथोलोजी, फार्मेसी र क्यान्टीन रहने अस्पताल निमार्णको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

इकाइका अनुसार अस्पतालको पहिलो तल्लामा जेनेरल पेडियाट्रिक वार्ड, दोस्रो तल्लामा अर्थोपेडिक वार्ड, तेस्रो तल्लामा साइकाइट्रिक र डर्माटोलोजी, चौथो तल्लामा बर्न एण्ड प्लास्टिक वार्ड, पाँचौं तल्लामा एसआइसीयु, सीआइभीएस, युरो तथा ग्यास्ट्रो र न्युरो सर्जरी वार्ड रहने स्वीकृत योजना छ।

त्यस्तै ५०० शय्याको नयाँ बन्ने भनिएको भवनको छैठौं तल्लामा ३० वटा पोस्ट अपरेटिभ बेड, १८ वटा प्री-अपरेटिभ बेड, ९ बेडको अपरेशन थिएटर र एनेस्थेसिया तथा माइनर ओटी रुम रहने संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर अशोक रामले बताए।

उनले अस्पतालको सातौं तल्लामा सेमिनार हल विथ प्यान्ट्री, मेन्टेनेन्स रुम र इलेक्ट्रीकल तथा मेकानिकल रुम रहने जानकारी दिए। उनले भने, ‘स्वीकृत योजनाअनुसार इर्मेजेन्सीका लागि अस्पतालको ३ भागबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ। बिरामीहरुको सहजताका लागि ३ वटा ठूलो र ४ वटा सानो लिफ्टको व्यवस्थापनको विषयसमेत योजनामा समेटिएको छ।’

थपियो सुविध

नयाँ बन्ने भनिएको मेडिकल ब्लकमा विशिष्टिकृत स्वास्थ्य सेवासहित अन्य विभिन्न सुविधाहरु रहने बताइएको छ। भवनमा १० हजार लिटर क्षमताको वाटर ट्रिटमेन्ट प्लान्ट, वेष्ट म्यानेजमेन्ट सिस्टम, फायर फाइटिङ सिस्टम, सेन्ट्रल एसी, इर्मेजेन्सी ब्याकअप, सीसीटीभी क्यामेरा र सञ्चारका लागि साउण्ड सिस्टम लगायतका सुविधाहरु रहने स्वीकृत योजनामा उल्लेख छ। योजनाअनुसार अस्पतालसम्मको पहुँचका लागि फुटपाथ र ड्रेनसहितको कालोपत्रे सडक पनि निर्माण गरिने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.