लोमान्थाङमा डिजिटल प्रोफाइल निर्माण
जोमसोम: उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले डिजिटल प्रोफाइल (पाश्वचित्र) निर्माण गरेको छ।
लोमान्थाङले आइतबारदेखि गाउँपालिकाको समग्र वस्तुगत अवस्था झल्किने डिजिटल प्रोफाइल (पाश्वचित्र) कार्यान्वयनमा ल्याएको हो।
डिजिटल प्रोफाइल डेटा बेस म्यानेजमेन्ट सिस्टम एक अनलाइन सफ्टवयर हो। यसभित्र सम्बन्धित निकायको समग्र विषयवस्तु समेटिएको हुन्छ।
डिजिटल प्रोफाइल अभिलेखमा गाउँपालिकाको ५ वटै वडाहरुको जनसंख्या, जाति समुदाय र भुगोलको तथ्यांक समेटिएको छ। यस्तै, गापाको सामाजिक तथा आर्थिक विवरण, रहनसहन, धर्म, संस्कृति, शिक्षा, कृषि, स्वास्थ्यलगायतका सम्पूर्ण विषयवस्तुको अभिलेखीकरण गरिएको छ।
संघीयता कार्यान्वयसँगै देशका सबै पालिकाहरुलाई यसप्रकारको डिजिटल प्रोफाइल प्रणाली कार्यक्रम अनिवार्य गराइएपनि बहुभाषिक प्रणाली र पब्लिक ड्यासबोड प्रणाली सफ्टवेयर लोमान्थाङसहित हालसम्म ८ वटा स्थानीय तहले मात्र निर्माण गरेका छन्।
यसमा अंग्रेजी र नेपाली दुबै भाषामा अभिलेखीकरण गरिएको हुन्छ। लोमान्थाङले आफ्नो पालिकाको समग्र तस्बिर अभिलेखीकरण गर्ने धारणा बनाइएपछि यो प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए।
यसप्रकार डिजिटल प्रणालीले पालिकाको नियमित कार्यसम्पादनमा सहजता प्रदान गर्ने अध्यक्ष गुरुङले उल्लेख गरे।
गाउँपालिकाले आफ्नो पालिकाको डिजिटल प्रोफाइल प्रणाली सफ्वेयर निर्माण तथा प्राविधिक कार्यको जिम्मा स्मार्ट टेक नेपाल प्रालिलाई जिम्मा दिएको थियो।
लोमान्थाङले चालु आर्थिक वर्षको बजेटमार्फत कामको जिम्मा दिएपछि प्रालिले माघदेखि सफ्वेयर तथा प्राविधिक कार्य अघि बढाएको थियो। यसका लागि पालिकामा आवद्ध कर्मचारीले घरघरमा पुगेर विविध पक्षको तथ्यांक संकलन गरेका थिए।
डिजिटल प्रोफाइलडेटा बेस मेनेजमेन्ट सिस्टममा पालिकाको सर्वे वडाहरुमा सर्वेक्षण गरिएको विवरणलाई प्रणालीमा आवद्ध गराईन्छ। यसलाई समयानुकल गाउँपालिका र त्यहाँ कार्यरत कर्मचारीले अपडेट गर्ने काम हुन्छ
प्रालिका विज्ञसहितको टोलीले तयार गरेको यसप्रकारको डिजिटल प्रणाली सफ्टवयर ३ महिनामा तयार गरिएको हो। गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको रोहबरमा प्रालिका कार्यक्रम प्रतिनिधि अमुल दाहालको टोलीले गाउँपालिकालाई आइतबार हस्तान्तरण गरेको छ।