पुल बनाउन बेवास्ता

पुल बनाउन बेवास्ता

भोजपुर : ठेकेदार कम्पनीको लापरबाहीले निर्माणका क्रममा भाँचिएको कावाखोलाको पुल महिनौं बित्दासमेत निर्माण सुरु हुन सकेको छैन। ५ करोड लागतको दक्षिणी हतुवागढी गाउँपालिका–२, रानीबास र रामप्रसाद राई गाउँपालिका–५, मानेभन्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अलपत्र बनेको हो।

गत मंसिर ११ गते प्रदेश १ सरकारको पहलमा स्वीस सरकारको ५ करोड अनुदान सहयोगबाट बनेको उक्त पुलको पुनः निर्माणमा बेवास्ता देखिएको छ। २०७८ चैत मसान्तसम्म काम सक्ने सर्वपक्षीय निर्णय भए पनि अहिलेसम्म उक्त पुल बेवारिसे अवस्थामै रहेको छ। 

पुल नहुँदा दक्षिणी भेगका नागरिकहरू जोखिम मोलेरै खोला पार गर्ने गरेका छन्। महिनौं बितिसक्दा पुलको निकासमा कसैले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ। ‘काम गर्दा गल्ती हुन्छ। के कारणले भाँचियो भन्ने विषयमा खोजी त गर्नुपर्ला नि ! तर पुल भत्किएको यतिका समयसम्म पुल बनाउने कुनै काम सुरु नहुँदा सास्ती बढेको छ’, स्थानीय नारायणप्रसाद निरौलाले भने।

भोजपुर मानेभन्ज्याङ रानीबास घोडेटार सडकखण्डमा पर्ने उक्त पुलको काम २०७७ असार मसान्तसम्म सक्नुपर्ने प्रावधान थियो। तर, समयमा सम्पन्न नभएपछि पुनः म्याद थपिएको थियो। निर्माण सामग्री नै गुणस्तरहीन भएको प्राविधिक अनुगमनले देखाएको छ। ४५ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहने उक्त पुल निर्माणका क्रममा बीचैमा भाँचिएको थियो। 

डिजाइन अवधि ८० वर्ष र भूकम्प प्रतिरोधी रहने भनिएको उक्त पुल भाँचिएको ८ महिना बित्दा पनि बेवास्ता गरिएको घोरेटारका स्थानीय इन्द्र थापाले बताए।  पुल निर्माणले सदरमुकामबाट दक्षिण हुँदै तराईसँग सीधा जोड्नाले सहज पहुँच पुग्ने भए पनि पुलको दुर्दशाले निराशा थपिदिएको उनी सुनाउँछन्। 

‘यस्तो वर्षात्मा खोला तर्नै मुस्किल हुन्छ, दुर्घटना बढ्ने  सम्भावना छ। वैकल्पिक मार्ग नहुनाले झनै समस्या थपिएको छ’, उनी भन्छन्, ‘नाफामुखी योजना हुनाले सर्वसाधारण जनताको सपना पनि अधुरै हुन्छ, ठेकेदार कम्पनीको चरम लापरबाहीले भत्किएको पुल निर्माणको कुनै सुरसार छैन।’

पुलको निर्माण कार्यलाई चाँडो सुचारु गराउने प्रक्रिया बढाइरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। उनले भने, ‘हामीले पुल पुनः निर्माण चाँडो सुरु गर्न भनिरहेका छौं। उनीहरूले पनि चाँडो थालनी गर्ने वचन दिँदै आएका छन्। 

पुल नहँुदा दक्षिणी भेगका नागरिकलाई सदरमुकाम धाउन धेरै नै सास्ती भएको छ। पुलको कामलाई गति दिने पहलदारीमा मेरो प्राथमिकता रहनेछ।’ पिलर खण्ड र आइरन ट्रस्ट गरी फरकफरक टेन्डरमा निर्माणाधिन उक्त पुलको निर्माण कार्यमा केहि कमी आएका कारण भत्किएको हुनसक्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। निर्माण क्रममा भाँचिएको पुलको विषयमा अहिले पनि अनुसन्धान भइरहेको संयोजक चौधरीले बताए। भने, ‘पुल भाँचिएपछि यसको पुनः निर्माणमा लागेका छौँ। 

काम गर्दै जाने क्रममा केही ढिलाइ भएको छ। वर्षायाम सुरु भएकाले तत्काल काम सुरु गर्ने अवस्था छैन।’  प्रादेशिक सडक पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी फागुन, चैत महिनासम्ममा पुनः निर्माण सकेर प्रदेश सरकारलाई जिम्मा लगाउने जनाए। उनका अनुसार पुल निर्माण कार्य सकेसम्म चाँडै गर्ने योजना भए पनि प्राविधिक रूपमा केही ढिलाइ भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.