नवलपुरमा १३ लाख बराबरको चिनी बरामद
परासी : भन्सार छलेर लैजादै गरेको करिब १३ लाख बराबरको चिनीलाई पूर्वी नवलपरासी (नवलपुर) प्रहरीले बरामद गरेको छ। ट्रकमा लोड गरी तस्करी गरेर लैजादै गरेको चिनीलाई प्रहरीले सोमबार अरुणखोलाबाट बरामद गरेको हो। यो चिनी पश्चिम नवलपरासीको सीमा नाकाबाट तस्करी गरी चितवन पुर्याउन लागिएको बताइएको छ।
लु२ख ६३७ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको ४ सय १८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिए।
त्यसैगरी भन्सार छलेर ल्याउँदै गरेको १ हजार ९ सय १७ पिस सर्टलगायतका कपडासमेत बरामद भएको छ। बरामद चिनी, ट्रक र लत्ता कपडाको कूल मूल्य ५४ लाख ३६ हजार कायम गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डिएसपी पाठकले जानकारी दिए।
केही दिनअघि पनि पश्चिम नवलपरासीबाट लैजादै गरेको २ ट्रक चिनीलाई पूर्वी नवलपरासी प्रहरीले बरामद गरेको थियो। चिनी र कपडाको तस्करी बढेको गुनासो आएपछि आइतबार मात्र पश्चिम नवलपरासी प्रहरीले १ ट्रक चिनी बरामद गरेको थियो।
परासीको सीमा नाकाबाट दैनिक १० देखि १२ ट्रक चिनी र ठूलो मात्रामा कपडा तथा खसीबोका अवैधरुपमा चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख सहरहरुमा जाने गरेको गुनासो बढेपछि गस्तीलाई बढाएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ। तर तस्करी भने रोकिएको छैन।