उपदानमा क्याम्पसको १ करोड रकम

उपदानमा क्याम्पसको १ करोड रकम

जाजरकोट : जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले उपदानका नाममा क्यापसको ढुकुटीमा रहेको १ करोड १९ लाख रुपैयाँ लिने तयारी गरेका छन्। 

क्याम्पसमा कार्यरत ८ उपप्रध्यापक, १ शिक्षण सहायक र ६ जना कर्मचारीलाई उपदान दिने प्रक्रिया अघि बढाएपछि जनस्तरमा विरोध सुरु भएको छ। यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट अस्थायी सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको यस क्याम्पस केही वर्षअघि मात्र मध्यपश्चिम विश्वविद्यालयमा गाभिएको थियो। त्रिविबाट मध्यपश्चिम विश्वविद्यालय(एमयू)मा रुपान्तरण भएसँगै क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धामार्फत प्रक्रिया पुर्‍याएर स्थायी गरिएको थियो।

प्राध्यापक कर्मचारीहरू एमयूमा स्थायी भए पनि टीयूअन्तर्गत कार्यरत रहँदाको समयको उपदानको माग गरेका छन्। काम गरेको अवधिको उपदान प्राध्यापक कर्मचारीको १ लाखदेखि १३ लाख रुपैयाँसम्मको रकम मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा माग गरिएको क्याम्पस प्रमुख बलराम भण्डारीले बताए। मध्यपश्चिम विश्वविद्यालय नियमावली २०६९ अनुसार एमयूमा रुपान्तरण भई स्थायी नियुक्ति पाएका १० ओटा क्याम्पसका शिक्षक, कर्मचारीले रुपान्तरण भई नियुक्ति प्राप्त गर्नुपूर्वको उपदान, निवृत्तिभरण, औषधोपचार खर्च, बिदालगायतका निजहरूले प्राप्त गर्ने सुविधाहरू रुपान्तरणपूर्वको साबिककै क्याम्पसबाट फरकफरक गर्नुपर्नेछ भन्ने उल्लेख छ। 

भेरी ज्ञानोदय क्याम्पस सञ्चालन विधान दोस्रो संसोधन २०७४ मा उपदानसम्बन्धी व्यवस्थामा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले स्थायी रूपमा काम गरी पद त्याग गरेमा त्रिवि नियमावली तथा प्रचलित नियम कानुन र क्याम्पसको आर्थिक स्थितिअनुसार उपदान दिइनेछ।

सोही बुँदालाई टेकेर आफूहरूले उक्त उपदानको सुविधा रकम लिने प्रक्रिया अघि बढाएको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ। उपकुलपति, रजिष्ट्रार, डिन र एक वरिष्ठ प्रध्यापक सम्मिलित कार्यकारी परिषद्ले क्याम्पसमा मौज्दात रहेको रकमबाट उपदान लिन स्वीकृति दिएमा रकम झिकेर उपदान लिन मिल्ने प्रावधान छ। ‘स्वीकृतिका लागि विश्वविद्यालयमा आवश्यक कागजात पठाएका छौं। स्वीकृति भएमा हामीले पाउने सुविधा लिन्छौं,’ क्याम्पस प्रमुख भण्डारीले भने, ‘हामी जस्तै अवस्थाका बबई बहुमुखी क्याम्पस बर्दियाका साथीहरूले ४ करोड रकम लिइसकेका छन्। यो प्रक्रिया यसअघिका क्याम्पस प्रमुख चन्द्रबहादुर बूढाको पालामै अघि बढेको हो। हामी नियमले दिएको सुविधा लिन लागेका मात्र हौं।’

क्याम्पसले टीयूसँग सम्बन्धन हुँदा नै कृषि विकास बैंक नेपालगन्जमा ५० लाखको मुद्दती खाता खोलेको थियो। त्यसको म्याद हालै सकिएको छ। मुद्दतीको खाता पुनः नवीकरण नगरे रकम झिक्न सकिन्छ। यही मौका छोपी उक्त रकम निकाल्न खोजिएको छ। उक्त रकमको ब्याज १५ लाख भएको छ। त्यस्तै, क्याम्पसको नेपाल बैंक लिमिटेड जाजरकोटमा साढे ८ लाख मुद्दती र ३५ लाख चल्ती खातामा बचत मौज्दात छ। 

प्राध्यापकहरूका नाममा ११ लाख पेस्की छ। यो सबै रकम जोड्दा एयूमा मर्ज भइसकेपछि बाहेकको रकम जम्मा १ करोड १९ लाख ५० हजार रुपैयाँ हुन आउँछ। त्यो सबै रकम उपदानका नाममा सक्ने तयारीमा क्याम्पस प्रशासन रहेको तर यसरी क्याम्पसको सम्पत्ति उपदानका नाममा रित्याउन नहुने नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन्। कुनै पनि स्थायी कर्मचारीले पेन्सन सुविधा नपाउँदै नोकरी छोडेमा उपदान दिने व्यवस्था छ। तर, उनीहरू त टियुमा कार्यरत भएकै कारण प्रक्रिया पुर्‍याएर एमयुअन्र्तगत स्थायी हुने अवसर प्राप्त गरिसकेका छन्। 

‘त्यसका उपदान लिन र दिन मिल्दैन,’ शाहले भने, ‘क्याम्पसमा जाजरकोटी जनताको लगानी छ। रगत र पसिना बगेको छ। कसैले पनि लुट्न पाइँदैन।’ अर्का नागरिक अगुवा केशवजंग शाहले पनि क्याम्पसलाई टाट पल्टाउने गरी उपदान लिन नमिल्ने बताए। ‘पुरस्कारस्वरूप स्थायी भइसकेपछि पनि उपदान भनेर लिन मिल्छ। लिने भए एमयू र टीयूबाट लिए भइगो नि। किन गरीब जनताका छोराछोरीले दुःख गरेर तिरेकोे रकमबाट खातै रित्याएर लिने ?,’ उनले प्रतिप्रश्न गर्दै भने।

विद्यार्थी र स्थानीय बासिन्दाले पनि उपदानको नाममा क्याम्पसको ढुकुटी रकम मास्न नहुने भन्दै विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उपदानसम्बन्धी आवश्यक प्रक्रिया र कागजात अध्ययन गरेर मात्र यसबारे आवश्यक धारणा सार्वजनिक गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.