जस्तो सोच उस्तै जीवन
शास्त्रोक्तिलाई हेर्दा कृष्णद्वैपायन (वेदव्यास) को जयन्ती (आषाढ शुक्ल पूर्णिमा) लाई गुरुपूर्णिमा (व्यास जयन्ती) भनिन्छ। पाठकमैत्री अभिप्रायमा वेदलाई विभाजन गर्नुले उनलाई वेदव्यासको उपमा मिल्यो। महाभारत युद्धका साक्षी मानिने व्यासलाई भगवान्कै स्वरूप वा अवतार तथा गुरुका पनि गुरु मानिन्छ। उनलाई अष्टचिरञ्जीवीमध्ये एक चिरञ्जीवीका रूपमा लिइन्छ। द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई कृष्ण (कालो) द्वैपायन भन्ने गरेका उक्ति पाइन्छन्। उनको आदरभावमा ‘गुरुदेवो भवः’ को भावभञ्जन सुसज्जित छ।
मूलतः हिन्दू सम्प्रदायमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्थानदेखि साक्षात् परम्ब्रह्मको साक्षात्कार गराउने व्यक्तित्वका रूपमा हेरिन्छ। यो हाम्रो आदर्श र सभ्य संस्कृति हो। गर्वको कुरा त नेपालको तनहुँ जिल्लामा तिनै वेदव्याख्याता महर्षि व्यासजस्ता विद्वत्तम व्यक्तित्वको जन्म भएको रहेछ। त्यस्तै आत्मज्ञानी ‘कबिरदास’ पनि यसै दिनमा जन्मिएका हुन् भन्ने जनविश्वास एकसाथ जोडिएर आउँछ। ‘गु’ को अर्थ ‘अन्धकार’ र ‘रु’ को अर्थ ‘प्रकाश’। यसर्थ गुरु शब्दको अर्थ आपैmंमा तेजिलो, सम्मानित र आदरभावमा सुसज्जित छ। कलिलो मस्तिष्कलाई कखरादेखि जीवन र जगत्सम्म खोतलेर गुरुले सचेत मार्गमा लैजान्छन्। वास्तवमा ज्ञानको ज्योति छर्ने खुबी भएका निःस्वार्थी ज्ञानी व्यक्ति मात्रै गुरु हुन्। एउटा असल गुरु शिक्षार्थीको मार्गदर्शक, अनुकरणीय व्यक्तित्व अनि सबल ज्ञानदाता रहेछ।
अन्तर्राष्ट्रिय शान्तिदूत प्रेम रावतका अनुसार, ‘केवल भन्ने र सुनाउने मात्रै नभएर अज्ञानताको अँध्यारोबाट हटाई ज्ञानरूपी उज्यालोको अनुभव गराउन सक्ने व्यक्तिलाई गुरु भन्नुपर्छ। भनिन्छ, कबिरदासजीले सुरुमा गुरुको घोर निन्दा गर्थे। उनले गुरुसँग निकै अनुनय गरेपछि ज्ञान पाए। स्वयंले त्यो आत्मज्ञानको अनुभव गरे। तब मात्रै उनी गुरु गुणको बखानमा समर्पित भए। त्यसपछि कबिरदासजी लेख्छन्– यदि म यो धर्तीलाई कागज मानूँ, यो सारा वनका (वृक्ष) लाई कलम बनाऊँ, सातै समुन्द्रलाई मसी बनाइदिऊँ, तै पनि गुरुको गुणलाई लेख्न सकिँदैन। वास्तवमा ज्ञानको प्यासीले ज्ञानरूपी जल प्राप्त गरेपछि मात्रै यो भाव उब्जियो। यसर्थ ज्ञान र गुरुको सम्बन्ध अनुभवको डोरीमा बाँधिने रहेछ।
पाश्चात्य मान्यतामा ‘टिचर्स डे’ भनियो। हाम्रै शैलीमा गुरुलाई सम्मान गर्नुपर्ने भाव त्यतातिर विकसित भयो। अरस्तु, प्लेटो, रुसो, हिल्डा टावा, पेस्तालोजीजस्ता दार्शनिकले नवीन शैक्षिक अवधारणा लिएर आए। यताभन्दा बढी त्यतैबाट बालमनोवैज्ञानिक शिक्षाले प्रश्रय पायो। वर्तमान युगसम्म हेर्दा दण्डरहित बालमैत्री शिक्षाले असल गुरुको कर्मलाई प्रतिबिम्बित गर्ने ज्ञान त तिनैले दिए। प्याबलभ, स्किनर, थर्नडाइकजस्ता विद्वान्ले नवीन शिक्षण पद्धतिलाई जन्माए। यसर्थ असल शिक्षकलाई बहुल ज्ञानको तात्विक आवश्यकतामा आज गुरुको अर्थ फेरिन पुग्यो। असल शिक्षकमा कला र विज्ञान चाहिने मान्यता अघि बढ्यो। तथापि, गुरु र शिक्षकको भेदमा भने समाज अल्मलिन पुग्यो। यसर्थ लौकिक आवश्यकता र बाध्यतामुखी शिक्षा दिने व्यक्तिलाई शिक्षक भन्न सकिन्छ तर गुरु भन्न सकिन्न।
‘अज्ञानलाई हटाएर ज्ञान प्रदान गराउने व्यक्ति’ गुरु हो भने शिक्षा दिने व्यक्ति शिक्षक हो। आपूm ज्ञानमा निपुण भएर अरूलाई पथप्रदर्शन गर्नसक्ने खुबी गुरुमा हुन्छ। प्राचीन परम्परामा वशिष्ठ, व्यास, बाल्मिकीजस्ता गुरुको स्थान निकै उचो थियो। देवताका गुरु बृहस्पति तथा राक्षसका गुरु शुक्राचार्यको नाम उत्तिकै सम्मानित छ। भगवान् रामले गुरु वशिष्ठको आज्ञालाई शिरोधार्य गर्थे, भगवान् कृष्ण पनि सान्दिपनि गुरुबाट दीक्षित थिए। असल र सत्यवादी पाण्डवहरूले कौरवको पक्षमा रहेर लड्ने गुरु द्रोणाचार्यलाई गरेको सम्मानभाव नै गुरु र शिष्यको उत्कृष्ट दृष्टान्त हो। अझ एकलव्यको त्याग अनि गुरु दक्षिणामा दायाँ हातको बूढीऔंला काटेर अर्र्पिएको कथा बढी हृदयस्पर्शी छ। ‘जसले दोस्रोलाई प्रमाद अर्थात् असावधान हुनबाट बचाउँछ। स्वयंमा स्वच्छ रहन्छ। परहित वा कल्याणको कामना राख्ने तथा तत्वबोध भएका व्यक्तिलाई गुरु भन्नुपर्छ।
वास्तवमा नेपाल कैयौँ तपस्वीका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रूपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवश्य हो। नेपाल आपैंmमा ज्ञानी र ज्ञानदाताको जन्मथलो रहेछ। तनहुँको दमौली आसपासमा माता सत्यवती र पिता परासर ऋषिका पुत्र व्यासको प्राज्ञिक खुबीमा जीवनको सार छ, जगत्को रहस्य छ। असल आदर्श ज्ञानको अथाह भण्डार छ। व्यास एक्लैले रचेको अभूतपूर्व ज्ञान सागरमा विश्व दर्शनले बुझेर बुझ्न गाह्रो, खोजेर जान्न गाह्रो तर जान्दा सर्वस्व भेट्छ।
अतः वेद–वेदान्तका ज्ञान सारले भरिपूर्ण अठार पुराण, उपनिषद्हरू लेखी विश्वमै प्राचीन हिन्दू दर्शन र हिन्दू साहित्यलाई उजागर गर्ने खुबी भएका व्यासको गुरुत्वलाई चिन्नु सिंगो जीवनको बोध गर्नु हो। भागवत् गीताको सारभित्र लुकेको रहस्य खोतल्नु र अपनाउनु मानव जीवनको सार्थकता रहेछ। परमात्मामा साक्षात्कार गर्न सिकाउने ज्ञान त्यहाँ दूधमा लुकेको घिउ जसरी अदृश्य रहेको बोध हुन्छ। तब त मोक्षको ढोका खोल्न अर्थात् परमानन्दको अनुभूति गर्न गुरुज्ञानको सहारा आवश्यक हुन्छ।
जो आपूm बल्छ उसले मात्रै अरूलाई बाल्न सक्छ। निभेको दियोले कसैको अन्धकारलाई हटाउने गफ त गर्ला तर यथार्थमा सक्दैन। गुरु सिद्धान्तमा होइन, व्यावहारिक अनुभवबाट चिनिने शक्तिमा आधारित हुने रहेछन्। राजा महाराजाहरूले राजगुरुलाई आपूmभन्दा माथिल्लो स्थानमा राखेर आज्ञा शिरोधार्य गरेका इतिहास धेरै पुराना होइनन्। यो कुनै कुलीन पद्धति नभएर दिग्गज ज्ञानी सल्लाहकार राख्ने वैज्ञानिक राजनीतिगत चातुर्य पनि हो।
आज त अभैm त्यस्तै स्वच्छ प्रकृतिको ‘थिंक ट्यांक’को सोचलाई बोध गर्नु आवश्यक छ। अहिले ‘गुरु’ शब्दचाहिँ अचम्मले विभाजित भइदियो। आजभोलि ड्राइभरलाई, संगीत शिक्षकलाई, या त साथीभाइसँग गफमा बोलिने भाषामा ‘गुरु’ शब्द चर्चित छ। हरेक पण्डितजीले गुरुको सम्मान पाएका हुन्छन्। शब्दको मापन व्यवहारसँग भन्दा बढी प्रयोगसँग गाँसिएको देखिन्छ। अभैm अर्कोतिरबाट हेर्दा गुरुलाई अध्यात्मसँग मात्र गाँस्ने आजको चिन्तनले गुरुको शब्दको अर्थह्रास भएको देखिन्छ।