चुनावअघि जसपा फुटाउने षडयन्त्र सुरु भएको छ, सफल हुन दिदैनौं : वनमन्त्री यादव
वीरगन्ज : वन तथा वातावरणमन्त्री प्रदिप यादवले आगामी संघ र प्रदेशको निर्वाचनमा पर्सा जिल्लामा जसपाले कब्जा गर्ने बताएका छन्।
वीरगन्जमा बुधबार देखि सुरु भएको जसपाको केन्द्रीय समिति बैठकमा बोल्दै यादवले संसदीय निर्वाचन क्षेत्र र आठवटै प्रदेश निर्वाचन क्षेत्र जसपाले जितेर पुरै जिल्ला कब्जा गर्ने दावी गरे।
' आगामी निर्वाचनमा पर्साका चारवटै संसदीय निर्वाचन क्षेत्र र आठवटै प्रदेश निर्वाचन क्षेत्र जसपाले नै जितेर पुरै जिल्लामा कब्जा जमाउँछ, यो विश्वास दिलाउँछु,'उनले भने।
हरेक निर्वाचनभन्दा पहिले पार्टी फुटाउने षडयन्त्र हुँदै आएको भन्दै यादवले त्यो षडयन्त्र कुनै पनि हालतमा सफल हुन नदिने बताए।
उनले भने, 'अहिले पनि चुनाव अगाडि जसपा फुटाउने षडयन्त्र केही शक्तिले षडयन्त्र गर्दैछन्, तर, त्यो षडयन्त्र कुनैपनि हालतमा सफल हुन सक्दैन।'
नाम जे भएपनि जसपा आन्दोलनको जगबाट बनेको पार्टी भएको र उपेन्द्र यादवजस्तो राजनेता अध्यक्ष भएकाले यो पार्टीलाई कसैले पनि फुटाउन वा तहसनहस पार्न नसक्ने उनको भनाइ छ।
जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु बैठकमा वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका सहभागी छन् ।