नवलपरासीमा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा
परासी : नवलपरासीमा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएको छ ।
लुम्बिनी प्रदेश सरकारले जिल्ला सदरमुकाम परासीमा केन्द्रको स्थापना गरेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बुधबार उद्घाटन गरेपछि केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्रको उद्घाटन गर्दै मन्त्री थारुले केन्द्र स्थापनापछि हुने उपचार मात्र ठूलो कुरा नभएको भन्दै यसलाई बस्तीस्तरसम्म अभियानका रुपमा लैजानु पर्नेमा जोड दिए ।
रोग वृद्धि हुन नदिन आयुर्वेद महत्वपूर्ण भएको भन्दै मन्त्री थारुले मानिसको जीवन शैली परिवर्तन र भान्सा सुधारदेखि योगअभ्यासलाई अघि बढाउन प्रदेश सरकारले आयुर्वेदलाई अभियानाक रुपमा अघि बढाउन लागेको बताए ।
आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले अहिले नसर्ने रोगबाट मानिसहरुको बढी मृत्यु हुने गरेकोले त्यसको रोकथामका लागि आयुर्वेद नै प्रभावकारी भएको बताए । नेपालमा बहुगुणस्तरीय जडिबुटी रहेपनि त्यसको पहिचान हुन नसक्दा आयुर्वेदमा पछाडी परेको उनले बताए ।
आयुर्वेद चिकित्सक १, कविराज १, बैद्य २, लेखापालसहित सात जना दरबन्दी रहेको केन्द्रमा हाल आयुर्वेद चिकित्सक र कार्यालय सहयोगी गरी दुई जना कर्मचारी रहेका छन् । अन्य कर्मचारी नयाँ आर्थिक वर्ष लागेपछि आउने कार्यालय प्रमुख डा. रमेश रमेश केसीले बताए ।