पर्यटकीयस्थल बन्दै नरपानी
सन्धिखर्क: नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरू देख्न पाइने हुँदा तराइबाट धेरै पर्यटक आउने गर्छन। यहाँ भारतबाट आउने पर्यटकको संख्या पनि वृद्धि भएको छ।
पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्न सन्धिखर्क नगरपालिका लागि परेको छ।
नरपानीमा गंगासरोवर नामको पोखरीको मर्मत तथा सम्भार गरी डुंगा सञ्चालन तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणका कार्यहरू भैरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
पिकनिकस्थलको रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक रूपमा हजारौं मानिसहरू आउने गरेका छन्।
गएको वर्षदेखि दैनिक रुपमा १० देखि ५० वटा समूहहरू आउने गर्दछन। शनिबारको दिन यहा झण्डै २० देखि ६० समूहहरू आउने गरेका छन।
महेन्द्र राजमार्गको कपिलबस्तु गोरुसिंगेबाट ५० किलोमिटर यात्रापश्चात नरपानी पुग्न सकिन्छ।
गोरुसिंगे सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढी आउने गरेका छन।
यस क्षेत्रमा आउने पर्यटकहरूलाई डुंगा सवारको समेत ब्यबस्था मिलाउने गरी काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ।
सुपादेउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठीहरू लिएर नरपानीमा वनभोज जस्तै गरि खाने गर्दछन।
यहाँ वरिपरि हरियाली डाँडा छ। बीचमा समथर भूभाग पनि रहेको छ। भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ।
सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ।
यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहोदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकल गरि वलि चढाइन्छ।