जसपा केन्द्रीय कार्यकारिणी र केन्द्रीय सदस्यबाट रेणु यादवको राजीनामा
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणुकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
वीरगन्जमा पार्टीको केन्द्रीय समिति बैठकमा बिहीबार सहभागी भए पनि उनले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाउँदै केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी हुन्।
राजीनामा पत्रमा यादवले अब आफू पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने उल्लेख गरेकी छन्।
राजीनामा पत्रमा यादवले लेखेकी छन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले जसपा नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु।’
पछिल्लो पटक अध्यक्ष यादवले रेणुसहित संघीय सरकारका तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएपछि उनी असन्तुष्ट भएकी थिइन्। यादव भौतिक पूर्वाधार विकास मन्त्री थिइन्।