सिक्किमका लिम्बुहरू इतिहास खोज्न नेपालमा
तेह्रथुम : पूर्वी नेपालमा आदिमकालदेखी बसोबास गर्दै आएका लिम्बु जातिहरूको आफ्नै भाषा, धर्म, संस्कृति, रीतिरिवाज, लिपि र भेषभूषा छ। आफूलाई प्रकृति पुजकको रुपमा मान्ने यी जातिहरू पूर्वी नेपाल तथा भारतको सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङदेखि भुटानसम्म बसोबास गर्छन्।
पछिल्लो समयमा यी जातिहरूको भाषा, लिपि, संस्कार, संस्कती तथा ऐतिहासिकता संरक्षणको अभावमा धरापमा पर्दै गएको छ।
लिम्बु जातिमा पनि समुदाय अनुसार आ-आफ्नै माङगेना यक (गढी) हरू छन्। पछिल्लो समय यी जातिहरूको यक(गढी) प्रति चासो हराइरहेको बेला भारतको सिक्किम राज्यबाट एक जानकारको टोली पूर्वी नेपालमा आइपुगेका छन्।
भारतको सिक्किम राज्यमा रहेको सनारुङ सेवा चुम्भो नामक एक विषेशज्ञको टोलीले एक हप्तादेखी लिम्बुजातिको विभिन्न गढीहरूमा पुरानो ईतिहास खोजी गरिहेको छ।
पूर्व सिक्किमको मुलुके भन्ने स्थानबाट सुरु भएको उक्त टोलीले माङगेन्ना नामक भ्रमण यात्रा तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथरलगायत लिम्बुजातिको सघन बसोबास रहेको क्षेत्रमा रहेको विभिन्न गढीहरूको अध्ययनअवलोकन गरेको छ।
अध्ययनअवलोकन प्रश्चात लिम्बुजातिको निम्ती संसार कै ठुलो माङहिम निमार्ण गरिने सनारुङ सेवा चुम्भो सिक्किमका अध्यक्ष देबेन्द्र सुब्बाले बताए। भने 'हाम्रो पुर्खाहरूको चिनो माटो र मुन्धुम लिएर जादैछौ।'
एक नेपाली सहित १४ जनाको टोली रहेको माङगेना यात्रामा विभिन्न गढीहरूको अवलोकनसँगै गढीहरूको ऐतिहासिताबारे नेपालका अग्रज लिम्बुहरूसँग गढीको इतिहास बारे छलफल तथा अन्तक्रिया गरेका छन्।
युवापुस्ताहरूले आफ्नो जातिको थात्थलो र गढीहरूको बारे चासो हराउँदै गएकोले संरक्षण गर्न आवश्यक रहेको ताक्लुङ गढी संरक्षण समिति तेह्रथुमका अध्यक्ष टेकराज तिगेलाको भनाइ छ। 'इतिहास संरक्षणमा नयाँ पिढीको ध्यान जान आवश्यक छ', उनले भने।
लिम्बु समुदायले माङगेना यकलाई आफ्नो जातिको शिर उठाउने स्थानको रूपमा लिने गरेका छन। लिम्बु जातिले विवाहको लगनमा अनिवार्य मुन्धुम मार्फत फेदाङमाहरूले गढीको सम्बोधन गर्ने गरेका छन।
सिक्किमको लिम्बुहरूले सुरु गरेको माङगेना यात्राले नेपालमा बसोबास गर्ने लिम्बुहरूलाई समेत आफ्नो गढी तथा पुख्र्यौली थात्थलो संरक्षण गर्न सन्देश दिएको चाङसिङ गढि यक संरक्षण समिती तेह्रथुमका अध्यक्ष दिल पाक्साँवाले बताए।
लिम्बु जाति नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङलगायत उत्तरमा तिब्बत र दक्षिणमा भारतका साथै विश्वको विभिन्न मुलुकहरूमा बसोबास गर्दै आएका छन।
पछिल्लो समय युवाहरू आफ्नो भाषा, लिपि र संस्कार संस्कृती संरक्षणमा चासो राख्न छाड्दै जाँदा लिम्बु समुदायको मौलिकता गुम्ने सम्भावना बढ्दै गएको छ।