मोरङ कारागारमा कोरोना फैलिएको पुष्टि
विराटनगर : ज्वरोको प्रकोप देखिएको जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ।
अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो। कोसी अस्पतालमा उपचाररत रहेकाको शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अत्यधिक ज्वरो आएर उपचाररत रहेका कैदी बन्दीको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।
एन्टिजेन रिपोर्ट पोजिटिभ आएको र थप यकिन गर्नलाई पीसीआर परीक्षणको तयारी भइरहेको उनले बताए। डा. खरेलका अनुसार अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
'१८ जनामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ आएको हो। २ जनाको नेगेटिभ आयो,' उनले भने, 'सबै बिरामीलाई थप उपचारका लागि तत्काल कोसी कोभिड अस्पताल रेफर गरिने छ। थप पुष्टिका लागि सबैको पीसीआर परीक्षणको तयारी भइरहेको छ।'
संक्रमितको उपचारमा पनि कोसी अस्पतालकै जनशक्ति परिचालन गरिने उनले बताए। डा. खरेलका अनुसार प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाइने छ।
'संक्रमितको उपचारमा जनशक्ति, औषधि सबैको व्यवस्थापनका लागि सरकार र प्रशासनसँग समन्वय थालिएको छ,' उनले भने, 'संक्रमितलाई कोसी कोभिड अस्पतालमा 'सिफ्ट' गरेर तत्काल थप उपचारको व्यवस्था मिलाइने छ।'
उनका अनुसार एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएकाहरुमा १०२ डिग्रीभन्दा धेरै ज्वरो छ। स्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको उनले बताए।
कारागारमा लगभग एक साताअघिदेखि ज्वरो सुरु भएको थियो।
त्यसको प्रकोपको रूप लिएपछि कारागारभित्रको अवस्था समस्याग्रस्त बनेको छ। कोरोना फैलिएको यकिन भएपछि अवस्था झन् भद्रगोल बनेको एक कर्मचारीले बताए।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि भर्ना गरिएका कैदीमध्ये एक जनाको मृत्यु भइसकेको छ। कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार बिरामी परेपछि उपचारका लागि भर्ना गरिएका मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो।
ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि उनले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए।
१०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार भइरहेकोमा दिउँसो १:३० बजेतिर मृत्यु भएको हो। शव परिवारका सदस्यले बुझेर लगिसकेका छन्।
तर मृतकको भने कोरोना परीक्षण भएन। सामान्य ज्वरो आएका कारण गत असार २५ गते पनि अस्पताल पुर्याइएका नेपाललाई त्यतिबेला उपचारपछि फर्काएर कारागार नै लगिएको थियो।
१०० डिग्रीभन्दा बढी ज्वरो आएका १८ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा अहिले १ हजार ८७ जना कैदी बन्दी राख्नु परिरहेको छ।
बस्ने ठाउँको अभाव र कारागारभित्र कोरोना फैलिएको पुष्टि भएपछि बिरामीको व्यवस्थापनमा समस्या थपिएको निमित्त जेलर भगतले बताए। सामान्य ज्वरो आउनेको संख्या धेरै रहेको उनको भनाइ छ।
त्यधिक गर्मीसँगै कारागारभित्रको बसाई असहज भइरहेका बेला कैदी बन्दीमा कोरोना पुष्टि भएको हो। ठूलो संख्यामा कैदी बन्दी रहेको कारागारभित्र कोरोना फैलिएको डा. खरेलले बताए।
उनसहितका चिकित्सकले बिहीबार साँझ कारागार पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए।
'कारागार पुगेर त्यहाँको अवस्था बुझ्ने काम भयो। १०० डिग्रीभन्दा बढी ज्वरो आएकालाई अस्पताल भर्ना गरियो,' डा. खरेलले भने, 'त्योभन्दा कम ज्वरो आउने कैदी बन्दीको संख्या धेरै छ। बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएकाले परीक्षण गरिएको हो।'
उनले बिरामी अवस्थामा कारागारभित्र रहेकालाई पनि कोरोना भएको हुनसक्ने बताए। सबै कैद बन्दीको कोरोना परीक्षण गरिने जानकारी उनले दिए।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्वरो आएका कैदी बन्दीलाई तत्काल उपचारका लागि अस्पताल पठाउन कारागार प्रशासनलाई निर्देशन दिइसकेका छन्।
प्रजिअ दाहाल, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारीले शुक्रबार बिहान अस्पताल पुगेर उपचाररत कैदी बन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।
कोरोना फैलिएको कारागारको निरीक्षण एवं अनुगमन गरेर त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिइएको दाहालले बताए।
'गृह मन्त्रालयलाई कारागारको अवस्थाका बारेमा जानकारी गराइसकिएको छ,' उनले भने, 'बिरामी परेका कैदी बन्दीलाई कारागारभित्र नराख्न र तत्काल उपचारका लागि पठाउन निर्देशन दिइसकिएको छ।'