सूचनाबिना वैदेशिक रोजगारमा जाने १७ पटक ठगिन्छन्
स्याङ्जा : अरुकै भरमा मात्र वैदेशिक रोजगारमा जान चाहने ब्यक्ति राहदानी बनाउनेदेखि गन्तब्यसम्म पुग्दा १७ पटकसम्म ठगिने गरेको पाइएको छ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाले बिहीबार स्याङ्जामा आयोजना गरेको सरोकारवालासँगको छलफल एवं सुझाव संकलन कार्यक्रममा सचेतनाको अभावमा एकै ब्यक्ति धेरै पटक ठगिने गरेको जानकारी दिएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले वैदेशिक रोजगारका लागि जाने तयारीको अवस्था राहदानी बनाउनेदेखि लगायतका विभिन्न चरणहरु पार गर्ने अवस्थादेखि नै चनाखो बन्नुपर्ने बताए।
विदेशमा जाने बेलामा कहाँ जाने, कसरी जाने, त्यहाँको भुगोल, हावापानी, राजनीतिक, सांस्कृति, धार्मिक, भाषिक एवं कानून लगायत सीप सिकेर गएमा सहज हुने र यी विविध विषयको ज्ञानका बारेमा सामी परियोजनाले सहजीकरण गर्दे आएको छ।
'युवायुवतीलाई सूचना र सीप सिकेर दक्ष भई विदेश जान हाम्रो अनुरोध हो' प्रमुख रेग्मीले भने। परियोजनाले खाडी मुलुक र मलेशियामा पुग्ने रोजगारीलाई विशेष प्रशिक्षण, सीपयुक्त तालिमको समेत निःशुल्क व्यवस्था गर्दे आएको छ।
मुलुकका धेरै युवा बैदेशिक रोजगारमा पुगेको बताउँदै उनले विदेशमा सिकेका सीप र क्षमतालाई स्वदेश उपयोग गर्नेगरी वातावरण बनाउनुपर्नेमा जोड दिए। वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच सामी परियोजना सञ्चालनको सम्झौंता भएको हो।
सम्झौता अनुसार स्याङ्जाका ४ वटा पालिकामा परियोजना सञ्चालनमा छ। आउँदो आर्थिक वर्षदेखि एउटा पालिकामा विस्तार गरिने भएको छ। परियोजना लागु भएका पालिकामा सूचना प्रवाह, सीपमूलक तालिम, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र बित्तिय साक्षरताका अभियान संचालन गर्दै आएको छ।
स्याङ्जा सदरमुकाममा सामी परियोजना केन्द्र र वालिङमा उपकेन्द्र स्थापनागरी राहदानी बनाउने आउने युवायुवतीलाई वैदेशिक रोजगारीमा जानूपूर्व र गएपछि जान्नुपर्ने कुराहरुका बारेमा प्रशिक्षित गराउने काम गर्दै आएको छ।
परियोजना संयोजक एकनारायण सापकोटाले जिल्लामा सामी परियोजना र यसले गर्दे आएका काम र प्रभावका बारेमा र कार्यक्रम अधिकृत भागीराम थारुले बैदेशिक रोजगार ब्यवस्थापका लागि नीतिगत ब्यवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।
सामी परियोजना स्याङ्जाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा सञ्चालनमा रहेको र अब आँधीखोलामा पनि विस्तार गरिने भएको छ ।
नेपाल सरकार र स्वीस सरकारको सहयोगमा हेल्भेटासको प्राविधिक सहयोगमा परियोजना सञ्चालनमा रहेको हो। गण्डकी प्रदेशमा ६ जिल्लाका २८ पालिकामा परियोजना सञ्चालनमा छ।
स्याङ्जाको कुल जनसंख्यामध्ये २५ देखि ३० प्रतिशत वैदेशिक रोजगारमा जाने गर्छन भने परियोजना लागु भएका ४ पालिकाबाट झण्डै ३ अर्ब रेमिट्यान्स भित्रिएको सामी परियोजना कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए।