मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कम बेरुजु
जोमसोम : गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका दोश्रो कम बेरुजु रहेको गाउँपालिकामा पर्न सफल भएको छ।
महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ अनुसार बुधबार सार्वजनिक गरिएको लेखा परीक्षण प्रतिवेदनमा लोमान्थाङ गाउँपालिका गण्डकी प्रदेशमा मनाङको नार्पा भूमी गाउँपालिकापछि दोश्रो नम्बरमा कम बेरुजु रहेको गाउँपालिकामा परेको हो।
नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
महालेखापरीक्षक (मलेप) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८को प्रतिवेदनमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाको कुल बजेटको ० दशमलव २६ प्रतिशत अर्थात १३ लाख ३० हजार बेरुजु कायम भई गण्डकी प्रदेशकै दोश्रो कम बेरुजु पालिकामा परेको छ।
यस्तै, गण्डकी प्रदेशको पहिलो कम बेरुजु रहेको मनाङको नार्पा भूमी गाउँपालिकाको ० दशमलव २५ प्रतिशत अर्थात कुल बजेटको ७ लाख ५६ हजार मात्र बेरुजु रहेको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ।
लोमान्थाङ गाउँपालिका जिल्लामै पहिलो कम बेरुजु रहेको गाउँपालिकामा परेको लोमान्थाङका लेखा शाखा प्रमुख उज्जल चपाईले जानकारी दिए।
उनले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुको पारदर्शीता र वित्तिय अनुशासन कायम गरिएकाले लोमान्थाङ दोश्रो कम बेरुजु रहेको पालिकामा पर्न सफल भएको बताए।
जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका जिल्लाको दोश्रो कम बेरुजु रहेको पालिकामा परेको छ। लोघेकर दामोदरकुण्डको बेरुजु ० दशमलव ४९ प्रतिशत अर्थात २४ लाख १० हजार बेरुजु रही दोश्रो नम्बरमा छ।
यसैगरी घरपझोङ गाउँपालिकाको २ दशमलव ३४ प्रतिशत अर्थात १ करोड ८२ लाख, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक बेरुजु २ दशमलव ९५ प्रतिशत अर्थात १ करोड ५४ लाख ५८ हजार छ।
थासाङ गाउँपालिकाको बरुजु ३ दशमलव १७ प्रतिशत अर्थात २ करोड ६ लाख १३ हजार बेरुजु रहेको मलेपको प्रतिवेदनमा उल्लेख छ।