पद्यसम्भवको लोघेकर गुम्बा

पद्यसम्भवको लोघेकर गुम्बा

जोमसोम : उपल्लो मुस्ताङ ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। तिब्बती कलासंस्कृति र ऐतिहासिक तथा पुरातात्विक सम्पदाले पर्यटकीय गन्तव्य बनेको हो। यहाँको एक महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तब्य हो लोघेकर गुम्बा। दामोदरकुण्ड–१ को मराङमा समुद्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा छ। यसलाई स्थानीय भाषामा घार गुम्बा पनि भनेर चिनिन्छ। जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत चराङ खोलाबाट १ घण्टाको पैदलयात्रापछि लोघेकर गुम्बा पुग्न सकिन्छ। 

यहाँसम्म पुग्न स्थानीय र प्रदेश सरकारको साझेदारीमा सडक स्तरोन्नति गरिएको छ। मराङ खोला तरेर केहीबेर पैदल उक्लिएपछि गुम्बा पुग्न सकिन्छ। भिरालो जमिनको सतह त्यस आसपासका फुस्रा डाँडाकाँडाका बीचमा लोघेकर गुम्बा अवस्थित छ। ४ सय रोपनी क्षेत्रफलमा गुम्बा छ। चारैतिर ६ सय बढी माने र छोर्तेनहरू अवस्थित छन्। बीचमा ऐतिहासिक लोघेकर गुम्बा छ। पुजारी लामाले यसको रेखदेख र पूजाआजा गर्छन्। सदियौंदेखि मुस्ताङी राजाको रेखदेखमा सञ्चालन हुँदै आइरहेको १५ वर्षअघि मराङ गाउँलाई हस्तान्तरण गरिएको थियो। अहिले पनि गुम्बा रेखदेखका लागि लामा बस्छन्।

तिब्बतको साम्ये गुम्बा बनेपछि बनेको लोघेकर गुम्बा विश्वकै पहिलो र पुरानो दाबी गरिएको छ। यो गुम्बाको गुरु पद्यसम्भवको इतिहाससँग जोडिएको चाखलाग्दो कथा छ। आऔं शताब्दीमा तिब्बतका धर्म राजा ठिसोङ देउचान थिए। उनले आफ्नो पालामा भारतबाट तिब्बतमा बुद्ध धर्म फैलाउन र प्रचार गर्न चाहन्थे। 

त्यसैले राजा देउचानले भारतमा रहेका अत्तेरिया शान्तिलाई तिब्बत बोलाए। त्यसअघि तिब्बतमा पेम्भो धर्म थियो। भारतबाट तिब्बत पुगेका अत्तेरिया शान्तिले बुद्ध धर्मको प्रचार र तिब्बतीलाई शिक्षा दिन थाले। सोही क्रममा उनले बौद्ध परम्पराअनुसार पूजापाठ गरी साम्य गुम्बा निर्माण थाले। तर, पेम्भो धर्मका अनुयायीले साम्ये गुम्बा निर्माण र पूजापाठमा अवरोध गर्न थाले। तिब्बतमा दिनभरि साम्ये गुम्बा निर्माण हुन्थ्यो तर राति आएर स्थानीयले भत्काइदिन्थे। यसरी कुनै धार्मिक अनुष्ठान कार्यमा बाधा र अवरोध सिर्जना गर्ने व्यक्तिलाई राक्षसको संज्ञा दिइन्थ्यो। 

त्यसबेला राक्षसको पटक÷पटकको अवरोध र बितण्डाले साम्ये गुम्बा निर्माण हुन सकेन। अत्तेरिया शान्तिले धर्म गुरु ठिसोङ देउचानलाई भने, ‘यो गुम्बा निर्माणको काम तपाईं र मबाट सम्भव देखिएन। भारतमा अलौकिक शक्ति भएका तान्त्रिक गुरु पद्यसम्भव हुनुहुन्छ। उहाँ १ हजार बुद्धका औतारी हुनुहुन्छ। उहाँलाई बोलाएर मात्र यो काम पूरा गर्न सकिन्छ।’

साम्ये गुम्बा निर्माणमा अवरोध भइरहेको कुरा पद्यसम्भवले थाहा पाइसकेका थिए। तिब्बतबाट धर्म गुरु देउचानले पद्यसम्भवलाई लिन ५ जना व्यक्तिलाई भारत पठाए। त्यसबेलासम्म पद्यसम्भव तिब्बत जान नेपाल छिरिसकेका थिए। तिब्बती धर्म राजा देउचानले पठाएका ५ जना व्यक्तिसँग पद्यसम्भवको भेट भोटको हिमाली बोर्डर क्षेत्रमा भयो। पद्यसम्भव त्यसपछि तिब्बत पुगेर बौद्ध धर्म फैलाउन र गुम्बा निर्माणको काममा 
सहजीकरण गर्न थाले। 

गुरु पद्यसम्भव तिब्बत पुग्दा पनि धर्म बिरोधीको उपद्रो रोकिएन। गुम्बा निर्माणमा भाँजो हाल्नेलाई पद्यसम्भवले धपाउन थाले। यसरी पद्यसम्भवले धपाएपछि राक्षस नेपालतर्फ पसे। धपाउँदै पद्यसम्भव थासाङको कोवाङ आइपुगे। कोवाङबाट मुस्ताङको घमी पुगे। उनले त्यहाँबाट राक्षसलाई धनुषवाण प्रहार गरे। यसरी प्रहार गर्दा घमी खोला उत्तर पारीपट्टी राक्षसको आन्द्राभुँडी झरेको किंवदन्ती छ। त्यसको संकेत अहिले पनि देख्न सकिन्छ। आन्द्राभुँडी झरेका राक्षसलाई प्रहार गर्दा रगत ढाक्न र गाउँको पहाडमा लतपतिएको रातो पहाड देख्न सकिन्छ।

यसरी पद्यसम्भवको प्रहारबाट घाइते भएको राक्षस मराङ पुग्यो। मराङ खोलाको पहाडमा पुगेका राक्षसको पद्यसम्भवले मुटु झिकिदिएर अन्तिम समाधी गरिदिए। त्यहाँ राक्षस उत्तानो पारेर बध गरिएको थियो। लोघेकर गुम्बा रहेको बीच भागको जमिनमुनि राक्षसको मुटु राखेर पद्यसम्भवले लोघेकर गुम्बा निर्माण थाले।

पद्यसम्भवले बनाएको ९ तले लोघेकर गुम्बा निर्माणमा तिब्बतका धर्म राजा ठिसोङ देउचानले सहयोग गरे। पद्यसम्भवले २ राक्षसलाई त्यही कैद गरी तिब्बत गएर साम्ये गुम्बा बनाउन सहयोग गरे। तिब्बतमा साम्ये गुम्बा बनेपछि मात्रै लोघेकर गुम्बा बनेको भन्ने कतिपयको बुझाइ छ। तर, मुख्य अवरोध पुर्‍याउने राक्षसलाई परास्त गरेपछि मात्रै साम्ये गुम्बा बनाउन थालेको तथ्य बलियो छ। पछि अघि भाँजो हाल्ने अन्य व्यक्तिले साथ दिएका थिए। 

२२६ वर्ष पहिले नेपाल–तिब्बत युद्धअघि तिब्बत नेपालको भूभाग थियो। त्यसबेलाको लडाइँपछि नेपालको धेरै भूभाग तिब्बतमा गाभियो, जुन नेपाल थियो। नेपालमा भएका सबै पुराना गुम्बा तिब्बतका धर्म राजाले निर्माण गरिदिएको लामा लेक्से बताउँछन्। लोघेकर गुम्बामा गुरु पद्यसम्भवको मूर्ति विराजमान गरिएको छ। तिब्बतमा साम्ये गुम्बा निर्माण गर्ने क्रममा भएको सम्पूर्ण घटना ढुंगामा कुदिएका सयौं हस्तलिखित चित्र छन्। कुनै पनि कंक्रिट प्रयोग नगरी निर्माण गरिएको लोघेकर गुम्बा ३ तलाको छ। यहाँ विदेशी पर्यटक विभिन्न खोज अनुसन्धान र तथा अवलोकनका लागि पुग्ने गर्छन्।

गुम्बा पुनर्निर्माण

२०७२ सालको भूकम्पले गुम्बामा क्षति गरेको थियो। गुम्बाको माथिल्लो भाग र गुम्बा घर चर्किएको थियो। अमेरिकी राजदूतको सांस्कृतिक कोषको अनुदान २ लाख ८५ हजार अमेरिकी डलर सहयोगमा लोघेकर गुम्बा जिर्णोद्धार थालिएको छ। यसको जिम्मा नर्वुसुङ फाउन्डेसनले लिएको छ। सन् २०२३ मा जिर्णोद्धार सक्ने योजना छ। साविकको पहिचान नमासिने गरी पुनर्निर्माण भइरहेको छ।

यस्तै, पाटीपौवा निर्माण, छपनी ढुंगा बिच्छ्याउने र गेटदेखि गुम्बासम्मको दूरीमा भर्‍याङ निर्माणलगायतको काममा संस्कृति मन्त्रालयले ४ करोड १३ लाख बजेट विनियोजन गरेको थियो। बहुवर्षीय योजनाअनुसार गोम्पाको अन्य पूर्वाधार निर्माण भइरहेको लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.