९४ वर्षमा तीन पदक
नयाँदिल्ली : ‘उमेर सिर्फ एक आँकडा हो’ यो भनाइलाई भारतकी ९४ वर्षीया भवानीदेवी दागरले प्रमाणित गरिदिएकी छन्। जुन उमेरमा मानिसहरू सामान्य ढंगले हिंडडुलसम्म गर्न सक्तैनन्, यो उमेरमा भवानीदेवीले सबैलाई आश्चर्यचकित पार्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन वटा पदक जित्न सफल भएकी छन्।
फिनल्यान्डको टेम्पेयरमा आयोजना भएको वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपअन्तर्गत जेष्ठ नागरिक स्पर्धामा प्रतिस्पर्धा गरेकी भवानीदेवीले एक स्वर्ण र दुई कांस्य पदक जित्न सफल भइन्। उनले महिला एक सय मिटर दौडमा स्वर्ण पदक जितिन्। उनले २४.७४ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। यसैगरी सटपुट र डिस्कस थ्रोमा भने कांस्य पदक जितेकी थिइन्।
भारतीय झण्डाको जर्सीमा गलामा पदक भिरेको उनको तस्बिर सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ। ९४ वर्षको उमेरमा पनि पदक जितेर सबैलाई आश्चर्यमा पारेको भन्दै सबैले उनको प्रसंशा गरेका छन्। भारतको युवा तथा खेलकुद मन्त्रालयले आफ्नो ट्विटर एकाउन्टमा भवानीदेवीको तस्बिर राख्दै उनको हिम्मतको तारिफ गरेको छ।
पदक जितेर स्वदेश फर्किंदा दिल्ली एयरपोर्टमा उनको भव्य स्वागत गरिएको थियो। आफ्नो स्वागतमा उपस्थित सबैलाई हात उठाएर उनले धन्यवाद दिएकी थिइन्। भवानीदेवी दिल्लीको नजफगढमा बस्छिन्। उनको जन्म सन् १९२८ मा हरियाणाको सिड्का गाउँमा भएको थियो। उनले ६३ वर्षको उमेरमा पति गुमाएकी थिइन्। अहिले उनी एक छोरा–बुहारी र नातिनातिनासँगै बस्दै आएकी छन्। उनी हरेक दिन बिहान पाँच बजे उठेर दौडिने गर्छिन्। यसैगरी साँझ पनि दौडिन्छिन्। यसरी दौडिएर नै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफूलाई तयार पारेकी थिइन्।
फिनल्यान्डमा प्रतिस्पर्धा गर्नुअघि उनले अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेकी थिइन्। यस प्रतियोगितामा विश्व कीर्तिमान बनाउन दौडिए पनि उनी सफल हुन भने सकिनन्। उनले दिल्ली तथा चेन्नई राज्यस्तरीय प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेकी छन्।