पटके सवारीकर खारेज गर्ने पुतलीबजार नगरपालिकाको निर्णय
स्याङ्जा : पुतलीबजार नगरपालिकाले पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ।
शनिबार बसेको बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडक उपयोग गरे वापत लिइने शुल्क नलिने भएको हो।
स्थानीय पालिकाले जथाभावी कर लगायो भन्ने गुनासो सुनिरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो।
सवारी कर खारेज गर्ने निर्णय भएसँगै पुतलीबजार नगरवासी खुशी भएका छन्।
योसँगै एकै सडकमा ओहोरदोहोर गर्दापिच्छे कर बुझाउनुपर्ने प्रचलनको अन्त्य भएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। चुनावी घोषणापत्र अनुरुप पटके सवारी कर खारेज गरेको उनको भनाइ छ।
उनले भने, 'चुनावी अभियानमा घरदैलो गर्ने क्रममा स्थानीयबासीले पटके कर तिर्नु परेको गुनासा अत्याधिक सुनाएकाले उनीहरुका समस्यालाई मनन् गर्दै खारेज गरेका हौ।'
योसँगै बाडखोला-दुलेगौडा ग्रामिण सडक, प्रगतीनगर-बहाकोट ग्रामिण सडक, स्याङ्जा-पुतलीखेत-लाम्पाटा-टिकाजा-सतौं-आरुचौर ग्रामिण सडक, प्रगतीनगर-घुम्ति चिसापानी ग्रामिण सकड, सुम्रेखोला- नुहारभन्ज्याङ-अर्जुनचौपारी ग्रामिण सडक, जाँडखोला-पेल्काचौर ग्रामिण सडक, स्याङ्जा बजार-हुनिकोट ग्रामिण सडक, पुतलीखेत-ठूलीवेशी उनियाचौर-नागडाँडा सडकलगायत अन्य सडकमा समेत सवारी शुल्कवापतको रकम उठाउन र ढाँट तेर्स्याउन नपाउने गरी निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिए।
यसअघि सडक मर्मतसम्भार भन्दै बिभिन्न ८ प्रकारका मुख्य सडकहुदै भित्री सडक छिर्ने मार्गमा सवारी साधन अनुसारका कर लगाइन्थे।
यसैबाट पालिकाले लाखौं रुपैयाँ राजश्व संकलन गर्थ्यो।