बर्दियामा चमेरोका प्रजाति खोजिँदै
गुलरिया : जैविक विविधताको सहयात्रामा चमेरोको भूमिका महत्वपूर्ण रहेपनि नेपाली समाजमा यसलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ।
इकोसिस्टम सन्तुलन राख्दै बृक्ष प्रजातिमा परागकणका सम्बाहक मानिने चमेरोहरूको प्रकृतिमा महत्वपूर्ण भुमिका रहँदै आएको छ।
बर्दियामा चमेरोको संरक्षणका हेतुले यसका प्रजाति खोज्न थालिएको छ। विश्वमा २५ सय प्रजाति भन्दा बढी चमेरोहरू रेकर्ड भएका छन्।
नेपालमा मात्र ५७ प्रजातिका चमेरो पाईन्छन्। बर्दियामा चमेरोको अनुसन्धान सुरु नभएपनि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत चमेराको खोजी गरिँदैछ।
बर्दियामा हालसम्म ५ प्रजातिका चमेरोहरू फेला परेको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले बताए। अझै थप प्रजातिहरू भेटिन सक्ने अनुमान रहेको उनले बताए।
बर्दियामा कति प्रजातिका चमेरा छन्। कस्ता ठाउँमा पाइन्छन्। यिनीहरूले के खान्छन् लगायतका विषयमा खोज तथा अनुसन्धान गरीरहेको उनले जानकारी दिए।
बृक्ष प्रजातिका वनस्पतिहरूको प्रजनन्मा महत्वपूर्ण योगदान पुर्याउने चमेराहरूप्रति जनमानसमा रहेको नकारात्मक दृष्टिकोणलाई सकारात्मक बनाउनु जरुरी रहेको उनको भनाइ छ।
'जैविक विविधताको संरक्षण गर्दै जल, जंगल, पृथ्वी जोगाउनु अबको आवश्यकता हो। सबै मिलि वातावरण संरक्षणमा हातेमालो गर्नुपर्छ। पछिल्लो समय वन विनास, बढ्दो औद्योगिकरणका कारण पृथ्वीको तापक्रम बढेसँगै प्रकृति विनासको जोखिमले मानवलगायत जीवजन्तु जगतलाई समस्या सिर्जना गरेको छ,' उनले भने।
पृथ्वीसँगै जैविक विविधताको संरक्षणसँगै मानव वन्यजन्तुबीच सहअस्तित्व बढाउँदै प्रकृतिमैत्री जीवनयापन अबको आवश्यकता रहेको डा. कडरियाले बताए।
जैविक विविधता भित्र चमेरोले प्राकृतिक वनहरूमा परागसेचन गर्न अहम् भुमिका निर्वाह गर्ने गरेको चमेरो अध्येता अनिशा न्यौपानेले बताईन्।
उड्ने स्थनधारी जीवका रूपमा परिचित चमेराहरू बर्दियामा विभिन्न प्रजातिका भेटिएका छन्।
बर्दियाको गुलरिया नगरपालिका भन्सार मूर्तिहा रोडमा अवस्थित कव्रुस्थानस्थित वरको बृक्षमा रहेको इन्डियन फ्लाईङ फक्स प्रजातिका चमेराहरू लामो समयदेखि बस्दै आएको उनले बताइन्।
यहाँ करिब ८ सयको हाराहारीमा चमेराहरू छन्। यिनीहरू आहाराका लागि लामो दुरी पार गर्छन्। इन्डियन फ्लाईङ फक्स प्रजातिका चमेराहरू आहाराको लागि चुरेपहाडको फेदी सम्म पुग्ने गरेको उनले प्रष्ट्याइन्।
लामो यात्रा तय गर्ने चमेरोले चिउरी, अम्बालगायतका फलफूलहरू खाने गर्छन्। म्यामल ग्रूपका उड्न सक्ने चमेराहरू आफ्ना बच्चालाई दुध चुसाउँछन्।
मानिसहरू उड्न सक्दैनन् चमेराहरू हिड्न सक्दैनन्। रुखमा झुण्डिएर बस्ने यिनीहरू रातिमा सक्रिय हुने गरेको उनले बताइन्।
चमेरो संरक्षणमा सबैले चाँसो दिनुपर्छ। उनले थपिन् चमेरोलाई नकारात्मक रूपमा नलिई यसको संरक्षणमा सबै जुट्नु पर्छ।