बाँके-बर्दियामा भारी वर्षा, नेपालगन्जका धेरै ठाउँ डुबानमा

बाँके-बर्दियामा भारी वर्षा, नेपालगन्जका धेरै ठाउँ डुबानमा

नेपालगन्ज : बाँके र बर्दियामा बुधबार लामो समयपछि भारी वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीका अनुसार बाँकेमा एक घण्टाको अवधिमै १०० मिलिमिटर भन्दा बढी वर्षा भएको छ। 

नेपालगन्जमा बिहान ८ बजेसम्म ८६ मिलिमिटर र खजुरामा १०४ मिलिमिटर वर्षा भएको थियो। भारी वर्षा भएपछि नेपालगन्ज उप-महानगरपालिका-२ घरवारी टोल, न्यूरोड, वडा नं. १२ बेलासपुरलगायत नगरका धेरै स्थान डुबानमा परेका थिए। घरबारी टोलका धेरै पसलमा पानी पसेको थियो। 

प्रमुख पराजुलीले भने, 'एक घण्टाकै अवधिमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुनु भारी वर्षा हो।' जल तथा मौसम विज्ञान विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटर वर्षा भएमा भारी वर्षा भएको मानिन्छ। 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हिरा भट्टराईका अनुसार बाँकेको खजुरा नेपालगन्ज क्षेत्रमा बुधबार दिउँसो २:३० बजेसम्म १२ घण्टाको अवधिभित्र १६०.६ मिलिमिटर वर्षा भएको थियो। 

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको वेभसाइट हाइड्रोलोजी डट जीओभी डट एनपीले दिउँसोसम्म बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा १०५.४, बर्दियाको बारबर्दिया नगरपालिकामा पर्ने रानीजरुवा नर्सरीमा १०३.८ र बारबर्दियाकै रम्मापुर क्षेत्रमा ८५ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ। 

विभागले नेपालका २२८ स्थानमा वर्षाको रेकर्ड राख्ने गरेकोमा बुधबार सबैभन्दा बढी वर्षा बाँके र त्यसपछि बर्दियामा भएको देखाएको छ। 

जल तथा मौसम विज्ञान विभागले बाँके र बर्दियामा भारी वर्षा भएपछि बिहान ८:५० बजे मोबाइलमा एसएमएस पठाएर बाढी प्रभावित क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको थियो। 

बुधबार बिहान ८ बजेसम्म तीन घण्टाको अवधिमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको ढकेरी, खजुरा गाउँपालिका, बर्दियाको रम्मापुर, रानीजरुवा नर्सरी, गुलरिया आसपासमा धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने जनाउ एसएमएसमा थियो। 

विभागले बाढी प्रभावित क्षेत्रका स्थानीयलाई 'सो क्षेत्र भए बहने साना नदीमा आकस्मिक बाढी आउन सक्छ। डुबान भइरहने होचा स्थानमा रहनुहुनेले दिउँसोसम्म उच्च सर्तकता अपनाऔं' लेखेको थियो। 

आकासे पानीका भरमा रोपाइँ गर्ने किसान वर्षाले खुसी भएका छन्। बिउ राखेर रोपाइँ गर्न नपाएका किसानले रोप्न थालेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.