मुस्ताङमा कर कार्यालय नहुँदा बाग्लुङ धाउनुपर्ने बाध्यता
जोमसोम : मुस्ताङमा कर कार्यालय नहुँदा यहाँका सेवाग्राहीलाई निकै सास्ती हुने गरेको छ। कोरोनाभन्दा अगाडि बर्सेनि एक पटक जोमसोममा कर शिविर सञ्चालन गरिने भएपनि पछिल्लो ३ वर्षयता कर शिविर सञ्चालन गर्ने टोलीलाई जिल्लामा खटाइएको छैन।
कर कार्यालय नहुँदा र कर शिविर पनि सञ्चालन नहुँदा मुस्ताङका सेवाग्राही आन्तरिक राजश्व कार्यालय बाग्लुङ धाउनुपर्ने बाध्यता आइपरेको छ। आन्तरिक राजश्व विभागले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा कर कार्यालय स्थापना गर्न सकेको छैन।
कर कार्यालय नभएको र शिविर पनि आयोजना नहुँदा मुस्ताङका व्यवसायी तथा उद्यमीले महंगो खर्च गरेर सेवा लिनुपर्ने अवस्था विद्यमान छ। यहाँका व्यवसायी तथा उद्यमीले जिल्लामै कर कार्यालय वा नियमित कर शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिएपनि विभागले मुस्ताङमा अझै कर्मचारी खटाउन नसकेको हो।
कर कार्यालय नहुँदा मुस्ताङका सेवाग्राहीलाई करदाताहरूले आफ्नो विवरण बुझाउन, राजश्व तिर्न, करको दायरामा जोडिन र कर चुक्ता गर्नमा सास्ती खेप्न बाध्य भएको हो। सेवाग्राहीले सबैखाले सरकारी भुक्तानीका लागि स्थायी लेखा नम्बर अनिवार्य हुन्छ। तर यी सबै सेवाबाट यहाँका सेवाग्राही सेवा लिन बाग्लुङ धाउनुपर्ने बाध्यता छ।
मुस्ताङमा कर कार्यालयको अन्तशुल्क प्रशासन हेर्ने जिम्मा कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङलाई जिम्मा दिइएको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए। हिमाली तथा दुर्गम जिल्लामा व्यक्तिगत स्थायी लेखा नम्बर लिन आन्तरिक राजश्व विभागले सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जिम्मा दिने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसक्दा जिल्लाका सेवाग्राही बाग्लुङ धाउनपर्ने अवस्था रहेको कोष नियन्त्रक अर्यालको भनाइ छ।
कर कार्यालय नभएको र कोष तथा लेखा नियन्त्रण कार्यालयमा जनशक्ति अभाव हुँदा कोलेनिका कार्यालयले नियमित अनुगमन गर्न नसक्दा उद्योग, प्रतिष्ठान र अन्य व्यवसायीलाई करको दायरामा ल्याउन नसक्दा जटिलता उत्पन्न भएको छ। मुस्ताङका ५ स्थानीय तहमा ७ वटा हिमाली फलफुलमा आधारित मदिरा उद्योग र ५५७ वटा अन्तशुल्क इजाजत लिने होटल तथा रेष्टुरेन्ट र अन्य व्यवसायी रहेको कार्यालयले जनाएको छ।
पछिल्लो समय सेवाग्राहीमा कर सचेतनामा विकास हुन थालेसंगै करको दायरामा जाडिने संख्या वृद्धि हुन थालेको कोष नियन्त्रक अर्यालको भनाइ छ। उनले सेवाग्राहीलाई कर दायरामा ल्याउन नियमित अनुगमन आवश्यक भएको औल्याए। आन्तरिक राजश्व कार्यालय बाग्लुङ अन्तर्गत कोष तथा लेखा नियन्त्रण कार्यालयले राजश्व अन्तशुल्क वापत आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ७० लाख राजश्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ३२ लाख अन्तशुल्क राजश्व कर संकलन गरेको कोष तथा नियन्त्रण कार्यालय मुस्ताङले अघिल्लो वर्षभन्दा गतवर्ष १ करोड ४८ लाख अन्तशुल्क राजश्व उठाउन सफल भएको उनले बताए।
जसअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा फलफूलमा आधारित मदिरा उद्योगबाट २ करोड ५२ लाख र होटल तथा रेष्टुरेन्टमा व्यवसायीबाट अन्तशुल्क इजाजत दर्ता तथा नविकरण वापत १८ लाख राजश्व उठेको हो।
कार्यालयका अनुसार आन्तरिक राजश्व विभागले हिमाली जिल्लामा फलफुलमा आधारित मदिरा उद्योगलाई अन्तशुल्क करमा ८० प्रतिशत छुट दिएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा मुस्ताङमा १ लाख लिटर फलफुलमा आधारित मदिरा उत्पादन भएको अनुमान गरिएको छ। हिमाली फलफुलमा आधारित मदिरा उद्योग अन्तर्गत मुस्ताङको टुकुचेमा १ वटा, मार्फा ५ वटा र स्याङमा १ वटा उद्योग गरी ७ वटा उद्योग दर्तामा छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालयले संघ तथा प्रदेश कार्यालय तर्फ २२ करोड ५५ लाख राजश्व संकलन गरेको छ।
जसअन्तर्गत संघीय कार्यालयतर्फ २० करोड ८५ लाख र प्रदेश कार्यालयतर्फ ८५ लाख ८५ हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ।