‘युक्रेनी भूमिलाई रूसले गाभ्ने योजना बनायो’
किभ (एजेन्सी) : रूसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षापरिषद्का प्रवक्ता जोन किर्बीले रूसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका लागि आधार तयार पारिसकेको बताए।
युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रूसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत संग्रह गर्न सक्ने उनले बताए। सन् २०१४ मा जनमत संग्रहपछि रूसले युक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो। उक्त कार्यलाई व्यापक रूपमा अवैधानिक रूपमा हेरिएको थियो।
‘हामी यसबारे अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौं,’ किर्बीले पत्रकारहरू समक्ष भने, ‘रूसको यस कार्यबारे कोही पनि जानकार नभएको होइन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१४ मा प्रयोग भएको रणनीतिक ’प्लेबुक’को धुलो टकटक्याउँदै छन्।’
उनले रूसले युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रूस समर्थक अधिकारीहरू तयार पारेको आरोप लगाए। रूसले युक्रेनको भूभागलाई आफ्नो बनाउन जनमत संग्रह गराउने उद्देश्यका साथ त्यसो गरेको किर्बीको भनाइ छ।