लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
विराटनगर : लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ।
पहिचानका आधारमा प्रदेशको नाम लिम्बुवान किराँत प्रदेश राख्नु पर्ने भन्दै विराटनगरमा संघीय लोकतान्त्रिक राष्ट मञ्चले प्रदर्शन गर्दे मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना दिएका छन्।
प्रदेशको नाम किराँत राख्नुपर्ने अडानमा राख्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भड्किलो र विवादास्पद अभिव्यक्ति दिएपछि पछिल्लो समय प्रदेश १को राजधानीमा प्रदेशको नामकरणको विषयमा आन्दोलन चर्किँदै गएको हो।
पहिचानको आधारमा अरुण कोशी पूर्वका ९ जिल्ला लिम्बुवान हुनुपर्ने भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएको मञ्चले प्रदेश १को नाम पहिचानको आधारमा लिम्बुवान किराँत प्रदेश हुनुपर्ने भन्दै आन्दोलित भएका हुन्।
मञ्चका अध्यक्ष कुमार लिङदेनले इतिहासको आधारमा लिम्बुवान र किराँत नै पहिचानको प्रदेश १ को नाम उपयुक्त हुने दावी गरे।
विभिन्न जातीय र सामाजिक संस्थासहितको ब्यानरमा उनीहरूले चर्को घाममा मुख्यमन्त्री कार्यालयको सडकखण्डमा धर्ना दिएका थिए।
प्रदर्शनकारीको धर्नाका कारण यातायात समेत ठप्प भएको थियो।
केही दिनअघि प्रदेशको नाम किराँत राख्न सडक आन्दोलनमा जानुपर्ने सुझावसहितको भड्किलो अभिव्यक्ति दिएपछि मुख्यमन्त्रीलाई प्रदर्शनकारीहरूले लिम्बुवान किराँत प्रदेश नामाकरण नभए कोशी अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान बनाउन आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।
अध्यक्ष लिङदेनले कसैले बहुमत र शक्तिको आडमा लिम्बुवानको इतिहास मेटाउने चाहे उनको दिवा सपना मात्र हुने बताए।
मुख्यमन्त्री राईले किराँत राई यायोख्खाको टोलीलाई सम्बोधन गर्ने क्रममा भड्काउपूर्ण अभिव्यक्ति दिँदै आन्दोलनका लागि उक्साएका थिए।
प्रदेश १ को नाम किराँत राख्न माग गर्दै यायोख्खाको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पुनः स्मरण गराउन गएको थियो।
टोलीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले भड्किलो अभिव्यक्ति दिँदै सडक आन्दोलनमा जान उकास्दै प्रदेशको नाम किराँत नहुने हो भने लडाइँ, झगडा तथा तत्काल विद्रोह सुरु हुनसक्ने भनेर भड्काउपूर्ण अभिव्यक्ति दिएपछि राईको सर्वत्र आलोचना हुदै आएको छ।
प्रदेश सरकारको नेतृत्व गरिरहेका राई आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएका छन्।
स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा सवन्वय गर्न प्रदेश सरकारले नामकरण गर्ने विषयमा सहमति जुटाउने सबै पक्षसँग निरन्तर सम्वाद गरिरहेका बेला मुख्यमन्त्री भड्काउपूर्ण भाषण दिएका नामकरण गर्ने ओझेलमा परेको बताइएको छ।
स्वास्थ्य मन्त्री यादवले आफूले सबै पक्षसँग समन्वय गरेर साझा नाम ससदमा लगिने तयारी गरेको बताए। विभिन्न आन्दोलनलाई समेटेर प्रदेश सरकार साझा नामको गृहकार्यमा जुटेको उनले जानकारी दिए।