पर्वतमा दुई जनामा डेंगुको संक्रमण पुष्टि
कुश्मा : पर्वतमा दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।
उपचारको लागि पर्वत अस्पतालमा आएका दुई जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेंगुको संक्रमण रहेको बुधबार पुष्टि भएको हो।
दुवै जना कुश्मा नगरपालिकाका हुन्।
घरमा बसिरहेको अवस्थामा लगातार ५/७ दिनसम्म ज्वरो आएपछि उपचारको लागि आएका उनीहरूमा संक्रमणको शङ्कामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेंगु रहेको पुष्टि भएको हो।
दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए।
स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा संक्रमण पुष्टि भएको बताए।
संक्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको बताउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिए।
बागलुङ जिल्लाको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था नरहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाइ छ।
'बागलुङको मौसमी अवस्था, शहरीकरण र जनसङ्ख्या पर्वतको भन्दा जोखिमयुक्त रहेको छ। तर पर्वतमा नहुने भन्ने होइन, दुई जनामा देखिनुको अर्थ सुरक्षित रहने भन्ने हो', उनले भने। सङ्क्रमित व्यक्तिको सम्पर्क जाँदा यो सर्दैन तर सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा सर्छ।
सङ्लो र सफा पानीमा यसको कीटाणुहरू फैलिन्छ। यसको सतर्कताको लागि पानी जमेको ठाउँका खाल्डाखुल्डी पुर्ने, टायरमा वा अन्य भाँडामा जमेको पानी फाल्ने गर्नुपर्छ।
डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भएकाले सुत्ने बेलामा झुल टाँगेर सुत्ने, लामखुट्टेले टोक्न नसक्ने गरी शरीर ढाक्ने खालका कपडाहरू लगाउने लगायतका पूर्व सावधानी अपनाउनुपर्ने पौडेलको भनाइ छ।
यसको महामारी आएको बेलामा हप्ताको एक पटक जम्मा गरेर राखेको पानी घोप्ट्याउने अभियान नै चलाउनुपर्ने र अहिले सुरुवाती अवस्थामा गमला वा गाग्रीमा राखिएको पानी छोपेको हुनुपर्ने, घर वरपरका पानी जम्मा हुने खाडलहरू पुर्ने लगायतका सतर्कता अपनाउन उनको सुझाव छ।