एउटै बैंकबाट १२ करोड, सेयर कर्जाको सिमा कायम

एउटै बैंकबाट १२ करोड, सेयर कर्जाको सिमा कायम

काठमाडौं : सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन्। यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपथ्र्यो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई ‘हर्ष न विस्मात’ भनेका छन्।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जोखिम भार र सेयर कर्जा सीमा सान्दर्भिक नभएको तर्क उनीहरूको छ। तर, साना र मध्यम लगानीकर्ताले भने यो नीति उचित भएको बताएका छन्। मुलुकको अर्थतन्त्र धराशायी भएका बेला मौैद्रिक नीतिले सेयर बजारसम्बन्धी लिएको नीति उचित भएको उनीहरूको भनाइ छ। गभर्नर महाप्रसाद अधिकारीले ब्रोकरमार्फत सेयर बजार व्यवस्थित र नियमित हुँदै गएपछि मार्जिन कर्जाको सीमा हटाइने बताए। सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जामा सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा एक सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारी बताउँछन्।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति सेयर लगानीकर्ताका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको बताए। ‘एउटा बैंकबाट चार करोडको व्यवस्था हटाएर केही हुनेवाला छैन्’, ढकाल भन्छन्, ‘सेयर लगानीकर्ता यो व्यवस्था सच्चिनेमा आशावादी थिए।’ लगानीकर्ताले तीनवटा बैंकबाट १२ करोड ऋण अहिले पनि लिइरहेकाले त्यसलाई एउटा बैंकबाट लिन पाउने व्यवस्थाले खासै प्रभाव नपार्ने ढकालले बताए। ‘बैंकको सीमाभित्र रहेर ऋण दिने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘मौद्रिक नीतिप्रति असहमत छु। सर्कुलर गर्दा १२ को सीमा हट्नुपर्छ।’ जागिर खानेका लागि २५ लाख ठूलो भए पनि लगानीकर्ताका लागि ठूलो नभएको उनले बताए।

साढे ३ वर्षअघि डेप्युटी गभर्नरको कार्यदलले कर्जाको जोखिम भारलाई १ सयमा ल्याएको थियो। ढकाल भन्छन्, ‘सरकारले पुँजीबजारलाई जोखिम किन देख्यो ?  पुँजी बजार कहाँ रिक्स भयो ? ’ सेयर धितो कर्जामा जोखिम नरहेको, बरु घरजग्गामा वर्षाैंदेखिको समस्या रहेको उनले सुनाए। बैंकले ७० प्रतिशत ऋण दिने भनिए पनि पाउने ५० प्रतिशत मात्र भएको उनले बताए। ४८ खर्ब ऋण जाँदा १ खर्ब पनि पुँजीबजार नभएकाले डेढ सय प्रतिशत उचित नभएको बताए।

अधिवक्तासमेत रहेका सेयर लगानीकर्ता कञ्चनकृष्ण न्यौपानेले भने अहिलेको आर्थिक चिनारी हेर्दा १२ करोडको सीमा सन्तुलित भएको बताए। ‘यसले केही ठूला लगानीकर्तालाई असहज भए पनि समग्रमा धेरै लगानीकर्तालाई खासै प्रभाव पर्दैन,’ उनले भने। बैंक तथा वित्तीय संस्था मर्जर हुँदा कारोबार रोक्का नहुने नियम लगानीकर्ताको हितमा रहेको उनले बताए। ‘लगानीकर्ताको सम्पत्ति बन्धक बन्दैन। यो सकारात्मक छ’, न्यौपाने भन्छन्, ‘विषय परिस्थितिमा आएको मौद्रिक नीति स्वभाविक र सन्तुलित छ।’

सेयर धितो कर्जा खुकुलो बनाइदिए पनि बैंकहरूको ऋण प्रवाह गर्न सक्ने क्षमता नरहेको उनले बताए। ‘हामीले खोजेको सबै सुविधा पाउने कुरा पनि थिएन’, उनी भन्छन्, ‘राष्ट्र बैंकले सेयर मात्र हेरेर पनि भएन। अर्थतन्त्रको समग्र पक्ष हेनुपर्छ।’ तरलता सहज नहुन्जेल १२ करोडको सीमा उचित मान्नुपर्ने उनले बताए। पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर बजारका लागि मौद्रिक नीति खासै राम्रो नदेखिएको बताइन्। ‘सेयर बजारका लागि मौद्रिक नीति खुकुलो मान्न सकिँदैन’, पोखरेलले भनिन्, ‘राष्ट्र बैंकले सेयर बजारलाई आफूले चाहेको बाटोमा हिँडाउन खोजेको देखिन्छ।’

लगानीकर्ता असन्तुष्ट रहे पनि ‘कोमामा रहेको सेयर बजारलाई मौद्रिक नीतिले सिटामोल दिएजस्तै’ भएको पोखरेलले बताइन्। बजार सकारात्मक/नकारात्मक पार्ने खालको मौद्रिक नीति नभएकाले बजार यथावत नै जान सक्ने उनले औंल्याइन्। नेपाल डेभलप्मेन्ट बैंक एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले एउटै बैंकबाट १२ करोडसम्म ऋण पाउँदा लगानीकर्तालाई सहज भएको बताए। २०७८ असार मसान्तमा २८८३ दशमलव ४१ को विन्दुमा रहेको नेप्से सूचकांक २०७९ असार मसान्तमा २००९ दशमलव ४६ मा झरेको छ। यो गत वर्षको तुलनामा ८७३ दशमलव ९५ प्रतिशतले घटेको छ। असार मसान्तमा धितोपत्र बजार पँुजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड छ। गत असार मसान्तमा बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड थियो। अघिल्लो असारको तुलनामा लगानीकर्ताले ११ खर्ब १४ खर्ब ६२ करोड लगानी गुमाएका छन्।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपाल धितोपत्र बोर्डले ११ अर्ब २८ करोड बराबरको डिबेन्चर, ६ अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड, ६ अर्ब ५१ करोड बराबरको साधारण सेयर र ३ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र २८ अर्ब १५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ७ वाणिज्य बैंकले १० अर्ब ८८ करोडको र १ विकास बैंकले ४० करोडको गरी ११ अर्ब २८ करोडको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन्। बैंक तथा वित्तीय संस्थाले गत वर्ष जेठसम्म ऋणपत्रमार्फत १ खर्ब २३ अर्ब ७६ करोड वित्तीय साधन परिचालन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.