नमखुलेंकमा याकचौँरी महोत्सव, रगत खानेको लर्को

नमखुलेंकमा याकचौँरी महोत्सव, रगत खानेको लर्को

जोमसोम : समून्द्री सतहदेखि झन्डै ४ हजार मिटरको अग्लो उचाइमा अवस्थित मुस्ताङको घरपझोङ–५ नमखुलेंकमा गत श्रावण ४ गतेदेखि याक/चौँरीको आलो रगत खाने मेला सुरु भएको छ। 

मुस्ताङमा बर्सेनि बैशाख र श्रावण महिनामा याकचौँरीको आलो रगत खाने मेला सञ्चालन हुने गर्छ। 

तर कोरनाका कारण मुस्ताङमा विगत ३ वर्षदेखि लगातार याकचौँरीको आलो रगत खाने मेला सञ्चालन हुन सकेको थिएन।

पछिल्लो समय कोरोनाको जोखिम कम हुँदै गएपछि मुस्ताङका याकचौँरी पालकहरूले ३ वर्षसम्म रोकिएको याकचौँरीको आलो रगत खाने मेलालाई यसवर्ष पूनः निरन्तरता दिएका हुन्। 

त्यसो त मुस्ताङको नमखुलेंकसहित थासाङ गाउँपालिकाको मार्चे लेंकमा पनि याकचौँरीका आलो रगत खाने मेला सुरु भएको जनाइएको छ।

मुस्ताङको जोमसोमदेखि ठिनी हुँदै करिब ५ किलोमिटर कच्ची सडकको यात्रा गर्दै करिब ४५ मिटरको पैदलयात्रा तय गरेपछि मनमोहक नमखुलेंकमा पुग्न सकिन्छ। 

निलगिरी हिमालको फेंदमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिएको सुन्दर नमखुलेकमा याकचौँरीको आलो रगत खाने मेला सुरु भएको हो। 

याकचौँरीको आलो रगत खान जिल्लाभित्र र जिल्ला बाहिरका उल्लेख्य सर्वसाधारण मानिस अहिले नमखुलेंकमा पुगेका छन्।

बर्सेनि मौसम अनुसार बस्ती स्थान्तरण गर्दै आइरहेका याकचौँरीहरूलाई गर्मी बढेपछि नमखुलेंकमा स्थानान्तरण गरिएको हो। 

नमखुलेंकमा स्थानीय भुपेन्द्र शेरचन,विरबहादुर घर्ती र मनकुना थकाली लगायतका करिब ५ वटा याकचौँरी गोठ छन्। त्यहाँ झन्डै करिब ५ सयको हाराहारीमा याकचौँरी पालन गरिएको छ। 

नमखुलेंकसम्म पुग्न गण्डकी प्रदेश सरकारले कच्ची सडकमार्ग स्तरोन्नति गरेकाले याकचौँरीको रगत खान जाने सर्वसाधारणलाई थप सहज भएको हो। 

यातायातको मार्ग बनेपछि यसपटक झन्डै ३ सय सर्वसाधारण मानिस नमखुलेंकमा पुगेका छन्।

याकचोरीको आलो रगत पिउँनाले शरीरको पेट सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ। 

हिमाली उच्चलेंकमा पालन गरिएका याकचौँरीले लेकमा पाइने यार्सा गुम्बा, पाँच औले, निरमसी, जटामसी, कुटुकी, वन लसुन र जिम्बु आदि जटिबुटी खाने भएकाले याकचौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विस्वास गरिएको हो।

मुस्ताङमा विगत १२ वर्षदेखि याकचौँरी पालन व्यवसाय गर्दै आइरहेका जोमसोमका पशुपालक भुपेन्द्र शेरचनले चौँरीको आलो रगत बिक्री गरेर पशुपालकले बैकल्पिक आम्दानी गर्ने गरेको बताए।

बर्सेनि याकचौँरीको सबै खर्च कटाएर १० लाखसम्म आम्दानी गर्ने गरेका पशुपालक शेरचनले याकचौँरीको प्रजनन् गराएर संख्या वृद्धि गर्ने, दुधबाट विभिन्न परिकार बनाउने, याक बिक्री गर्ने र याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने गरेको जानकारी दिए। 

'याकचौँरी पालनबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ। विदेश पलायन हुनु पर्दैन,' पशुपालक शेरचनले भने, 'परिश्रम र मेहनत गरे स्वदेशमै पनि राम्रो कमाई गर्न सकिन्छ।'

पशुपालक शेरचनले राज्यले पशुपालकका लागि विभिन्न अनुदान र बिमाको व्यवस्था गरेको भएपनि सो सुविधा प्राप्त गर्न सरकारी प्रक्रिया झन्झटिलो भएको उल्लेख गरे।

पशुपालक शेरचनले याकचौँरीले हिमाली जटिबुटी खाने भएकाले याकचौँरीको आलो रगत खानाले ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसर लगायतका रोगहरू निको पार्ने बताए।

यसवर्ष याकचौँरीको आलो रगत प्रतिगिलास २ सय रुपैयाँको दरले बिक्री वितरण गरिएको छ। सामान्यतया एउटै याकचौँरीबाट १५ गिलासदेखि ३५ गिलाससम्म आलो रगत निकाल्ने गरिएको छ।

चौँरीको आलो रगत निकाल्नुअघि पशु भेटनरी चिकित्सकबाट याकचौँरीको स्वास्थ्य परीक्षण गरिन्छ भने पशु सम्बन्धी विज्ञता हासिल गरेका व्यक्तिले याकचौँरीको आलो रगत निकाल्ने काम गर्छन्। 

आलो रगत निकाल्नु अघि याकचौँरीलाई डोरीले बाँधेर नियन्त्रणमा राखि नशामा सियोले कोपेर रगत निकाल्ने गरिन्छ।

म्याग्दीको मालिका-५ देविस्थानकी प्रेमकुमारी फगानी याकचौँरीको आलो रगत खान पहिलो पटक मुस्ताङको नमखुलेंक पुगिन्। उनले याकचौँरीको आलो रगत खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने कुरा अरु साथीहरू र छरछिमेकबाट सुनेकै भरमा रगत खान मुस्ताङ आएको बताईन्। 

'मलाई पेट सम्बन्धी स्वास्थ्य समस्या छ। मेडिकल र आयुर्वेदिक औषधि खाँदै थिए। तर निको भएको छैन, याकचौँरीका रगत खान आएकी फगानीले भनीन्,' मसँग अरु साथीहरू पनि छन्, हामी ३ दिनदेखि लेकमै बसेका छौं, यहाँका सबै व्यवस्थापन राम्रो लाग्यो, यहाँको एकान्त र मनमोहक सुन्दर हरियाली वातावतरणले आधा रोग त्यसै निको भएको अनुभव गरेकी छु।' 

पहिलो पटक याकचौँरीको रगत खान मुस्ताङ आएकी फगानीले याकचौँरीको रगत खाने कार्यक्रममा मौसमले भने राम्रो साथ नदिएको बताइन्।

नमखुलेंकमा सञ्चालन भइरहेको याकचौँरीका आलो रगत खाने मेलामा कतिपय सर्वसाधारणले पाल टाँगेर बसेका छन् भने कतिपयले जोमसोमबाट आउजाउ गरी रगत खाने मेलामा उपस्थित भएको पाइएको छ। 

रगत खाने मेलामा बिहान र बेलुका गरी दिनको दुई पटक याकचौँरीको आलो रगत निकाल्ने गरिएको छ। याकचौँरी रगत खाने मेलामा कतिपयले त्यहाँको भौगोलिक सौन्दर्यता निकालेर मख्ख पर्ने गर्छन् भने कतिपय आपसमा नाँचगान गरी रमाइलो गरी समय बिताउँछन्।

मुस्ताङको घरपझोङ-५ ठिनीका स्थानीय युवा सुदीप थकाली पनि ग्यास्ट्रिक निको पार्ने सुनेपछि पहिलो पटक याकचौँरीको आलो रगत खान नमखुलेंकमा पुगे। 

कोरोनाले लाखौं रुपैयाँ घाटा व्यवहोर्दै आइरहेको याकचौँरी पालकहरूले यसपटक रगत खाने मेला सञ्चालन गरेका हुन्।

मुस्ताङमा हरेक बैशाख महिनामा थासाङको बोक्सी खोलामा याकचौँरीको रगत खाने बेला लाग्ने गर्छ भने साउनमा  थासाङको मार्चे लेक र घरपझोङ गाउँपालिकाको नमखुलेंकमा याकचारीको आलो रगत खाने मेला सञ्चालन हुने गर्छ।

हिमाली उच्चलेकमा पालन गरिएका एउटै वयस्क याकचौँरीको मूल्य १ लाखदेखि १ लाख ३० हजारसम्म पर्छ।

चिसो भूगोलमा हुर्काइएका याकचोरीको मासु स्वादिलो र पोसिलो हुने गर्छ। चौँरीको दुधबाट दही, घ्यु, चिज र छुर्पी लगायतका परिकारहरू बनाएर बिक्री गर्ने गरिन्छ।

याकचौँरीको पुच्छर धार्मिक पूजाआजामा प्रयोग हुने भएकाले याकचौँरीको पुच्छर समेत सहजै बिक्री हुने गरेको याकचौँरी पालकहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.