लक्ष्यअनुसार राजश्व संकलन गर्न राजविराज भन्सार असफल
राजविराज : व्यापक मात्रामा हुने चोरी पैठारीका कारण राजविराज भन्सार कार्यालयले बर्सेनि लक्ष्यभन्दा कम राजस्व संकलन गर्न थालेको छ । भन्सार कार्यालयको राजस्व संकलन ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व मात्र संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ का लागि ६ करोड ८४ लाख २० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ करोड १७ लाख ६४ हजार ९२ रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत दिपेन्द्रकुमार झाले जानकारी दिए । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो ।
आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ३३ लाख ६२ हजार लक्ष्य रहेकोमा ४ करोड ६२ लाख १९ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यो राजस्व लक्ष्यको ७२.९५ प्रतिशत हो । राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ७ करोड ९७ लाख ३४ हजार ९ सय ३३ रुपैयाँ संकलन गरेको थियो । त्यो वर्ष भन्सार कार्यालयले ८ करोड ६९ लाख ३७ हजार रुपैयाँको लक्ष्य लिएको थियो ।
बर्सेनि लक्ष्य हाँसिल गर्न नसकेको कार्यालयले आर्थिक वर्ष २०७९/०८० का लागि लक्ष्य निकै घटाएको छ । भन्सार अधिकृत झाका अनुसार यो वर्ष कार्यालयले ५ करोड ९९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये भन्सार आयात शुल्कतर्फ ३ करोड ४४ लाख ९ हजार , मूल्य अभिवृद्धि करतर्फ २ करोड ४२ लाख १२ हजार, अन्त शूल्कतर्फ १० लाख ४४ हजार , कृषि सुधार शुल्कतर्फ ७ हजार र भन्सार सम्बन्धी अन्य आयतर्फ २ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
भारतसँग खुला सिमाना भएकाले व्यापक रूपमा चोरी पैठारी हुने गरेको र कर्मचारी अभावका कारण राजस्व संकलन प्रभावित भएको भन्सार अधिकृत झाको भनाइ छ ।
पूर्वकोशी नदीदेखि पश्चिम बलान खोलासम्म सप्तरीको ७८ किलोमिटर भू-भाग भारतसँग जोडिएको छ । सप्तरीमा सशस्त्र प्रहरीको ६ ओटा सुरक्षा बेस क्याम्प छ भने सिमा क्षेत्रमा ८ वटा बोर्डर आउट पोस्ट छन् । सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी प्रकृतिका पोस्ट र नेपाल प्रहरीका युनिटहरू रहेका छन्।
ती युनिटहरू बढी जसो अवैध समानहरू आवतजावत रोक्न चेकजाँचमा नै केन्द्रित रहने गरेको छ । तथापि उनीहरूकै मिलेमतोमा तस्करी नरोकिएको स्थानीयको भनाइ छ।
व्यापारी र तस्करहरूले भन्सार छलेर ठूलो परिमाणमा लत्ताकपडा, खाद्यान्न, स्पेयर पार्टस्, कस्टमेटिक सामग्री नेपाल भित्र्याउने गरिरहेका छन् । साइकल, मोटरसाइकल, सिटी रिक्सा, पिकअप भ्यान र पैदल समेत गरेर तस्करहरूको समूहले विभिन्न रुट प्रयोग गरी तस्करीका सामान राजविराज, बोदे बर्साइन, हनुमाननगर, भारदह, पातो, कल्याणपुर, कञ्चनरूपलगायतका बजार क्षेत्रमा पुर्याउँदै आएका छन्।
नेपालबाट भने मदिरा, मटर, मरिच, सुपारी र चाइनिज स्याउ भन्सार छलेर भारत पुर्याउने गरिएको छ ।
द्वन्द्वकालमा सुरक्षा खतरा देखाएर बन्द गरिएका छोटी भन्सार कार्यालय सञ्चालनमा नआउनाले पनि तस्करी मौलाएको र राजस्व कम उठ्न थालेको जानकारले बताएका छन् । जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालयमध्ये हाल बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् ।
छोटी भन्सार कार्यालय बन्दका कारण साना व्यापारी मारमा परेको र छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउँदा धेरैले चाहेर पनि राजस्व नतिर्ने गरेको पाइएको छ । व्यापक मात्रामा चोरी पैठारी हुने गरेकाले दुबै छोटी भन्सारबाट लगातार अपेक्षा अनुसारको राजश्व संकलन हुन सकेको छैन् ।
भारतसँग खुला सिमाना भएका कारण कुल व्यापारको आधा भन्दा बढी हिस्सा अवैध हुने गरेको खडक नगरपालिकाका बृजनारायण साहले बताए । व्यापारीले भन्सार तिर्नुभन्दा चोरी पैठारीको माध्यम रोजेपछि र प्रहरीसँग मिलेमतो गरेपछि भन्सार राजस्व संकलन ओरालो लाग्दै गएको साहले बताए ।