मुस्ताङको कुञ्जोमा गाई काटेको आरोपमा एक जना पक्राउ
जोमसोम : मुस्ताङमा गाई काटेको आरोपमा एक जना पक्राउ परेका छन्।
बाग्लुङ बुर्तिवाङ घर भई बिगत १० वर्षदेखि मुस्ताङको थासाङ गाउँपालिका-५ कुञ्जोमा ज्यालामजदुरी गरी बस्ने ३६ वर्षीय मिम बहादुर विकलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो।
थासाङको कुञ्जो गाउँ नजिकै चरनक्षेत्रको पाखोमा रहेको गोठको गाई काटिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो।
गाई काट्दै गरेको अवस्थामा विकलाई शनिबार बेलुकी रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए। प्रहरीले गाई काट्न प्रयोग भएको हतियार पनि बरामत गरेको छ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपालको कानुनले गाईगोरु मार्ने कसुर गरेमा तीन वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ। तर गाई गोरुले आक्रमण गरी प्रतिरक्षा गर्दा मर्न गएमा उल्लेखित कानुन आर्कर्षित नहुने उल्लेख छ।