निकुञ्ज क्षेत्रमा अतिक्रमण गरी घर बनाएको आरोपमा पक्राउ
सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अतिक्रमण गरी पक्की संरचना निर्माण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खुम्बु पासाङ ल्हामु गाउँपालिका- २ का ३१ वर्षीय दावा छिरिङ शेर्पा रहेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
सोही वडाको मेरापिक क्षेत्रमा निकुञ्जको भू-भाग अतिक्रमण गरी पक्की घर बनाउँदै गर्दा शेर्पा पक्राउ परेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।
उनका अनुसार निकुञ्ज क्षेत्रमा पक्की संरचना निर्माण गर्दै छ भन्ने स्थानीयले दिएको सूचनाको आधारमा कार्यालयबाट खटिएको गस्ति टोलीले शेर्पालाई पक्राउ गरिएको हो ।
उनलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ । विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित यस निकुञ्जलाई सन् १९७९ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो ।