नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा
परासी : नवलपरासी जिल्ला कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा भएको छ।
कोभिड-१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो।
कोभिड-१९ विरुद्धको खोप सुनिश्चित जिल्ला भएको घोषणा गर्दै समितिका संयोजक एंवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेले ७ वटै पालिकामा रहेका १२ वर्षभन्दा माथिका सबै नागरिकहरूले खोपको मात्र पूरा गरेपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए।
जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन्। साउन ५ गतेभित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सोमबारबाट जिल्ला नै पूर्ण खोप सुनिश्चित जिल्ला भएको हो।
घोषणाका लागि पूरा गर्नुपर्ने सबै प्रकृयाहरू पूरा गरेको भन्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयले प्रमाणित गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
जिल्लामा कोभिडविरुद्धको पहिलो श्रृङ्खलाको दोस्रो मात्रा सबै नागरिकहरूले पूरा गरेको स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पंथीले बताए। ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैबीच नियमित खोपतर्फ पनि सोमबार नै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको छ।
जन्मेदेखि १५ महिनाका बालबालिकाहरूले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन्।
नियमित खोपतर्फ पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको नवलपरासी भने नेपालमा पहिलो होइन। यसअघि अन्य जिल्लाहरू नियमित खोपमा पूर्ण खोप घोषणा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
१६ देखि २३ महिनाका बालबालिकाहरूले खोप पाए/नपाएको बारे गरिएको सर्वेक्षणमा १५ महिनासम्मका बालबालिकाहरूले पूरा खोप लगाएको पाइएपछि पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको हो।
नियमिततर्फ ति उमेर समूहका कुल ४ हजार ८ सय ७ जना सबै बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।
तस्बिर : कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गर्न बसेको कोभिड-१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिका पदाधिकारी एंव सदस्यहरू। हरि शर्मा/अन्नपूर्ण