राष्ट्रपति, पूर्वप्रधानमन्त्री र कयौं नेताहरु पढेको क्याम्पस खण्डहरमा परिणत हुँदै

राष्ट्रपति, पूर्वप्रधानमन्त्री र कयौं नेताहरु पढेको क्याम्पस खण्डहरमा परिणत हुँदै

विराटनगर : रुखै रुखबीचमा ठूल्ठूला भवन, घाँसे मैदानमा परिणत भएको फराकिलो कम्पाउण्ड, जालो लागेका कोठा, लेउ पलाएका झ्याल/ढोका अनि बाहिरी पत्र उप्किएका पर्खालहरु। झट्ट हेर्दा कुनै परम्परागत दरबारजस्तो।

भत्किनै आँटेका संरचना, आकार बिग्रिसकेका दलान, कसैको आडभरोसा मागेजस्तो निर्जीव संरचना र ती संरचना अगाडि छलफल गरिरहेका युवाहरुको एक हुल। अनि त्यही हुलबाट आएको आश्चर्य र अपेक्षा मिश्रित एउटा प्रश्न- अब यसको अस्तित्व के हुन्छ?

यो कुनै चलचित्र वा नाट्य रुपान्तरणका निम्त्ति तयार पारिएको दृश्य होइन्। न यो कुनै संग्रहालय नै हो। यो दृश्य हो, प्रदेश १ को राजधानी विराटनगरस्थित ‘महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको।’

जहाँ वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, केन्द्रीय नेताहरु विजयकुमार गच्छदार, शेखर कोइराला, महेश आचार्य, विराटनगरका पूर्वमेयर रमेशचन्द्र पौडेल, भीम पराजुली र उप-मेयर भुराज राईलगायतले उच्च शिक्षा लिएका थिए। यही क्याम्पसले राज्यका निम्त्ति दक्ष प्रशासक, कुशल व्यवस्थापक, डाक्टर, इन्जिनियर र उद्योगपतिलगायत जनशक्ति उत्पादन गरेको थियो।

तर, त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आङ्गिक क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ पछिल्लो समय खण्डहरको रुपमा परिणत हुँदै गएको छ। विकासको बाधक बनेको विद्यार्थी राजनीति र जीर्ण भौतिक संरचना लगायतले पछिल्लो समय क्याम्पसलाई कुरुप बनाउँदै लगेको छ। ६७ वर्षअघि विसं २०१२ सालमा मोरङ इन्टरमिडिएट कलेजको रुपमा स्थापना भएको महेन्द्र मोरङका संरचनाहरु पुराना भएसँगै हाल जीर्ण र पठनपाठनका निम्त्ति जोखिमयुक्त बनेका छन्। 

२०७२ सालको महाभूकम्पले समेत यसलाई नराम्ररी क्षति पुर्‍याएको छ। तर, भौतिक संरचना निमार्णका लागि राष्ट्रपतिबाट वर्षेनि दिइने भनिएको ५ करोड बजेटसमेत क्याम्पसले सदुपयोग गर्न नसक्दा परिणाम आज एउटा इतिहास आँखै अगाडि ढल्ने अवस्थामा पुगेको छ।

जीर्णोद्वार गर्नुपर्ने अवस्थामा पुगेको महेन्द्र मोरङको मूल भवन, ज्ञान भवन र दक्षिणपट्टिको भवनमा स्नातक तथा स्नातकोत्तरका विभिन्न विषयको पठनपाठन हुन्छ। व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र विज्ञानका विभिन्न विषयको अध्ययन अध्यापन हुने क्याम्पसमा १० हजार बढी विद्यार्थीहरु रहेको तथ्याङ्क छ। तर, ०७२ सालको महाभूकम्प पश्चात् पनि नयाँ संरचना नथपिँदा हालः एउटै कक्षामा अटाई नअटाई कक्षा सञ्चालन गर्नुपरेको क्याम्पस प्रशासन बताउँछ।

विसं २०१८ सालपछि थप नयाँ संरचना निमार्ण हुन नसक्दा कक्षाकोठाको अभावमा अहिले विद्यार्थीहरुको पठनपाठन नै प्रभावित बनेको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको भनाइ छ।

‘२०१८ सालपछि क्याम्पसमा नयाँ संरचना निमार्णको कार्य भएको छैन। सबैभन्दा बढी अप्ठयारोमा व्यवस्थापन संकायतर्फ बीबीएसका विद्यार्थीहरु छन,’ उनी भन्छन्, ‘बीबीएस प्रथम वर्षमा मात्रै १२ सय बढी विद्यार्थीहरुले नयाँ भर्ना लिएका छन्। सय-सय जना राख्दा पनि कम्तीमा १२ वटा कोठा चाहियो। तर, त्यो छैन। विगतमा थोरै विद्यार्थी हुँदा पनि त्यही संरचना थियो। आज विद्यार्थी संख्या थपिँदा पनि त्यही संरचना छ। विद्यार्थी खप्टीखप्टी बस्नुपर्ने अवस्था छ।’ 

२०७५ पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले महेन्द्र मोरङको पूर्वाधार निमार्णका लागि पाँच वर्षसम्म वर्षेनि ५ करोड रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा गरेकी थिइन्। दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी पाएकी भण्डारीलाई अभिनन्दन गर्न क्याम्पसले परिसरभित्रै बलियो सुरक्षा प्रबन्धका साथ एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियो। सोही कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सो घोषणा गरेकी हुन्।

राष्ट्रपतिको घोषणापश्चात् पर्याप्त कक्षाकोठाको अभावमा विद्यार्थीहरुको पठनपाठन प्रभावित भइरहेको विषयलाई दृष्टिगत गर्दै क्याम्पसले २०७७ सालमा नयाँ शैक्षिक तथा प्रशासनिक भवन निमार्णका लागि प्रक्रिया अघि बढायो। क्याम्पस परिसरभित्र भवन निमार्ण लगायतका विषयमा आवश्यक छलफल र सहमति जुटाउन २०७७ माघ ६, ७ र ११ गते पहिलोपटक क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको अध्यक्षतामा ३ छुट्टाछुट्टै बैठक बस्यो।

माघ ६ गते क्याम्पसको स्थायी कमिटी, ७ गते क्याम्पस स्तरीय विद्यार्थी संगठन र ११ गते वैचारिक संगठनहरुको बैठक बस्यो। तीनवटै बैठकले क्याम्पसको आन्तरिक स्रोत र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान रकमबाट कुल ३ करोड ५० लाखको बजेटमा पुस्तकालयको दक्षिण-पूर्वको जग्गामा ३ तले संरचनासहितको २४ कोठे शैक्षिक तथा प्रशासनिक भवन निमार्ण गर्ने निर्णय गर्‍यो।

बैठकले प्रस्तावित नक्साअनुसार निमार्ण कार्य अघि बढाउन भवन निमार्ण परिसरभित्र पर्ने विभिन्न जातका रुखहरु कटान गर्ने, अर्को ठाउँमा दोब्बर संख्यामा वृक्षरोपण गर्ने र कटान गरिएका रुखहरु डेक्स, बेन्च र दराज बनाउने लगायतका कार्यमा प्रयोग गर्ने निर्णयसमेत गर्‍यो। तर, हालः सोही निर्णयबमोजिम निमार्ण कार्य अघि बढाउन खोज्दा सिमित प्राध्यापकहरुले अवरोध सिर्जना गर्न खोजेको विद्यार्थी संगठनहरुको भनाइ छ।

‘सीमित प्राध्यापकहरुको अवरोधका कारण भवन निमार्णको प्रक्रिया अघि बढ्न सकेको छैन। डोजर खन्न आउँछ। तर, उहाँहरुले रोक लाइदिनुहुन्छ,’ नेवि संघका सभापति जसवन्त पौडेल भन्छन्, ‘अहिले एउटै बेञ्चमा ५ देखि ६ जना खाँदिएर बस्नुपर्ने अवस्था छ। बस्न पाइँदैन भनेर कतिपय विद्यार्थीहरु त क्याम्पस नै आउँदैनन्। त्यसको जिम्मेवारी कसले लिने?’

भवन निमार्णमा सिर्जना भएको अवरोधका कारण विद्यार्थीहरुको पठनपाठनमा नकारात्मक असर पुगिरहेको महेन्द्र मोरङका सहायक क्याम्पस प्रमुख शिवनारायण चौधरी बताउँछन्। अब नयाँ भर्ना हुने विद्यार्थीहरुलाई अहिलेको संरचनाले धान्न नसक्ने उनको भनाइ छ। ‘फुल फेजमा पठनपाठनका निम्त्ति बीबीएसमा २४ वटा कक्षाकोठा चाहिन्छ। तर, अहिले १० वटा कोठामात्र छन्। विज्ञान भवनको ८ वटा कक्षाकोठा प्रयोगमा ल्याएर पढाइरहेका छौं,’ उनी भन्छन्, ‘तर, अब नयाँ भर्ना हुने विद्यार्थीहरुलाई कहाँ पढाउने भन्ने विषय चिन्ताजनक छ।’

पुस्तकालय छेउको १५ हजार स्क्वायर फिटको क्षेत्रफलमा शैक्षिक तथा प्रशासनिक भवन निमार्ण गर्ने सहमति जुटेपछि क्याम्पसले ३५ दिने सूचना निकाल्दै काठमाडौंको पुल्चोकस्थित हिमगुण कन्सल्टलाई जिम्मेवारी दिएर भवन निमार्णको डिजाइनसमेत तयार पारिसकेको छ। स्वीकृत डिजाइनबमोजिम रुख कटान गर्नेलगायतका कार्यहरु सम्पन्न भइसकेको छ।

२०७८ चैत २८ गते निमार्ण सम्पन्न गर्नेगरी गत साउन १८ गते नै क्याम्पस प्रशासन र शिवाको सराउद्दीन जेभीबीच भवन निमार्णको करार सम्झौता समेत भइसकेको छ। ८० लाख धरौटी राखेर क्याम्पसले निमार्ण कार्य अघि बढाउन ठेकेदार कम्पनीलाई ३४ लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरिसकेको छ। तर, प्राध्यापकहरुको अवरोधका कारण ठेकेदार कम्पनीले निमार्ण स्थलको माटोसमेत खन्न पाएको छैन।

भवन निमार्णका लागि अर्को उपयुक्त स्थानको छनौट गर्नुपर्ने तथा क्याम्पस प्रमुखले श्वेतपत्र जारी गर्नुपर्ने प्राध्यापक संघको माग छ। पुस्तकालय छेउमा भवन निमार्ण गर्दा यसले पुस्तकालयमा पढ्न आउने विद्यार्थीहरुलाई पनि बाधा पुग्ने प्राध्यापकहरु बताउँछन्।

‘भवन निमार्णका लागि ठाउँको छनौट उपयुक्त भएन। बन्नुपर्ने संरचना ठूलो छ। तर, ठाउँ सानो छ,’ त्रिवि प्राध्यापक संघका सभापति डा. प्रमोद खेरबार भन्छन्, ‘यहाँ ५-७ करोडको भवन निमार्ण हुनसक्ने स्थिति छैन। अन्यत्र सार्नुपर्छ।’

‘क्याम्पससँग २२ बिगाहा जग्गा छ। यो योजनालाई अन्यत्र सार्नुपर्छ भन्ने हाम्रो सल्लाह दिएका हो,’ त्रिवि प्राध्यापक संघका पूर्वसभापति डा. विमल कण्ठ भन्छन्, ‘छलफल गरेर बनाउनुपर्छ भन्ने हाम्रो माग हो। अन्यथा प्राध्यापक संघको तर्फबाट यसअघि पनि अवरोध थिएन। अहिले पनि छैन।’

भवन निमार्णको विषयमा विद्यार्थी संगठनहरु पनि दुई भागमा विभाजित छन्। नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु र नेकपा एमाले निकट अनेरास्ववियु पुस्तकालय छेउकै जग्गामा भवन निमार्ण हुनुपर्ने पक्षमा छ। तर, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र जसपा निकट समाजवादी विद्यार्थी युनियन विश्वविद्यालयको मापदण्ड अनुरुप भवन निमार्ण गर्नुपर्ने पक्षमा छ। पुस्तकालय छेउमा निमार्ण गर्न खोजिएको भवनप्रति उनीहरुको विरोध छ।

अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य अभिमन्यु यादव भवन निमार्णको नाममा क्याम्पस प्रमुखद्वारा कमिशनको खेल भइरहेको बताउँछन्। उनी भन्छन्, ‘भवन निमार्णका लागि आएको रकम बैंकमा राखिएको छ। तर, त्यसको ब्याज कहाँ-कसरी प्रयोग भइरहेको छ? त्यसको हिसाबकिताब खोइ? किन क्याम्पसले श्वेतपत्र जारी गर्दैन?’

भवन निमार्णमा अवरोध सिर्जना भएपछि हालः क्याम्पसले निमार्ण कम्पनीलाई दिएको भुक्तानी फिर्ता ल्याउने पहल सुरु गरेको छ। निमार्ण कम्पनीलाई कालो सूचीमा राखरे रकम फिर्ता ल्याउने कार्य भइरहेको क्याम्पसले जनाएको छ।

क्याम्पसका अनुसार भवन निमार्णका लागि राष्ट्रपतिबाट दिइने भनिएको ५ करोडमध्ये ३ करोड रुपैयाँ मात्र क्याम्पसलाई प्राप्त भएको छ। थप २ करोड विश्वविद्यालयले निकासा गरेको छैन। प्राप्त ३ करोड रुपैयाँ पनि सिद्धार्थ बैंकको विराटनगर शाखामा सुरक्षित रहेको क्याम्पस प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.