थासाङले करार सेवाका ३२ कर्मचारीको म्याद थप गरेन
जोमसोम : हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले करार सेवामा कार्यरत ३२ जना कर्मचारीको म्याद थप नगर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत भर्ना भएका ३२ जना कर्मचारीको म्याद थप नभएको थासाङ गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले अनावश्यक आर्थिक खर्च कटौती गरी विकास योजनामा बजेट परिचालन गर्ने र गाउँपालिकालाई आवश्यकता परेको खण्डमा मात्रै करार सेवामा कर्मचारी नियुक्त गर्नेछ। हाल थासाङमा ४२ जना स्थायी कर्मचारी छन्। यसका अलावा संघ/प्रदेश र स्थानीय तहको श्रोतबाट करारमा भर्ना गरिएका ३२ जना करार सेवाका कर्मचारी रुष्ट बनेका छन्।
पालिकाले ५ वटै वडा कार्यालयका कार्यालय सहयोगी, स्वास्थ्य संस्था र गाउँपालिकामा कार्यरत १३ जना कार्यालय सहयोगीको म्याद थप गरेको छैन। स्वास्थ्य शाखामा कार्यरत चौथो र पाँचौ तहका गरी ४ जना, कृषि र पशु शाखातर्फका गरी ४ जना प्राविधिक, आईटी अफिसर १ जना, एम्बुलेन्स चालक १ जना र लघु उद्यम विकास सहजकर्ता(मेडपा)मा चौथो दर्जाका सहजकर्ताको म्याद असारमा नै सकिएको थियो।
पालिकाले यही साउन महिनामा पशु शाखातर्फ २ जना स्थायी प्राविधिक कर्मचारी थप गरेको छ। करार सेवाका लागि बजेट तोकिएर नआएको वित्तीय समानीकरणको रकम गाउँपालिकाअन्तर्गत हुने भएकाले बढ्दो व्ययभार कर्म गर्न करार सेवाका कर्मचारीको म्याद थप नभएको गाउँपालिकाका सूचना अधिकारी लालप्रसाद पौडेलले जानकारी दिए।
गत असार ३२ गते बसेको कार्यपालिका बैठकले करारका कर्मचारीलाई पुनः नियुक्ती गर्ने विषयमा निर्णय नभएकाले करारका कर्मचारीको म्याद स्वतः समाप्त भएको गाउँपालिकाले जनाएको छ । करार अवधि सकिएका ३२ जना कर्मचारीले गत असार ३१ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन्।