अस्पतालको लापरबाहीले सुत्केरीलाई समस्या
गुल्मी : छत्रदेव गाउँपालिका–८ अर्घाखाँचीकी ३१ वर्षीया अप्सरा पाण्डेयको जिल्ला अस्पताल गुल्मीमा असार २८ गते ‘नर्मल डेलिभरी’ भयो। तर, सुत्केरी गराइसकेपछि कतिवटा सुत्केरी प्याडको प्रयोग भयो भन्ने विषयमा महिला र उनको परिवारलाई जानकारी नदिँदा समस्या सुरु भएको छ।
अस्पतालकी नर्सले योनिमा कति प्याड राखिन् भन्ने जानकारी नगराइदिँदा अप्सरालाई थप समस्या परेको उनका परिवारले बताए। ‘नर्सले प्याड राखिएको छ, पिसाब फेर्ने बेला निकाल्नुहोला मात्र भन्नुभयो’, अप्सराले भनिन्, ‘तर, कतिवटा प्याड राखेको भन्ने जानकारी गराउनु भएन। पिसाब फेर्ने बेलामा दुइटा प्याड निस्किए। तर, तीनवटा राखिएको रहेछ, अर्को प्याड छ भन्ने मलाई पनि थाहा भएन,’ पीडित अप्सराले भनिन्।
घाउ सफा गर्दा साइँली सासू नाता पर्ने पुतला पाण्डेयले कपडाको धर्सोजस्तो देखेपछि तान्दै जाँदा योनिबाट प्याड निस्किएको उनले बताइन्। योनिमा भएको प्याडकै कारण दुखाइ बढ््दै गएपछि कुहिनाले टेकेर बच्चालाई दूध खुवाउने गरेको उनले सुनाइन्। तर, गुल्मी अस्पतालले सुत्केरी गराएर घर फर्किने क्रममा पीडितलाई दुइटा प्याड योनिमा राखेको जानकारी गराएको दाबी गरेको छ।
मंगलबार प्रेस विज्ञप्ति निकालेर अस्पताल प्रशासनले सुत्केरी महिलाको चिरेको ठाउँबाट रगत नबगोस्् भनेर सिलाइ प्याड राखिएको प्रष्ट पारेको छ। ‘सम्बन्धित नर्सिङ स्टाफले दुइटा प्याड राखेको छ, पिसाब गर्ने बेलामा निकाल्नुहोला भनेर परामर्श दिनुभएको छ। यो कुरा सम्बन्धित सुत्केरीले पनि स्वीकार्नु भएको छ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ। तर, सुत्केरी महिला पाण्डेले अन्नपूर्णसँगको कुराकानीमा तीनवटा प्याड नै राखेको बताएकी छिन्।
सुत्केरी गराउँदा अस्पताल जिम्मेवार नबनेको छत्रदेव गाउँपालिका–८ का वडा अध्यक्ष भीष्म कुवँरले बताएए। ‘यस्तो संवेदनशील विषयमा अस्पताल किन जिम्मेवार नभएको ?’, उनले प्रश्न गर्दै भने, ‘महिलाको योनिमा राखिएको प्याडको संख्याका बारेमा प्रष्टसँग भन्नुपथ्र्याे।’ उनले यस्तो गल्ती नदोहो¥याउन अस्पताललाई सुझाव दिए।